© २०२३
बुटवल, २३ माघ ।
भारतको अछाममा २०१५ सालमा जन्मिएका गंगालाल उपाध्याय बुटवलको हाट बजारमा भेटिन्छन् । हाटमा उनी आफ्नै कमाई र पसिनामा रमाएका छन् । भारतमा जन्मिएका भए पनि उनको बाल्य अवस्था गुल्मीको चन्द्रकोटमा बित्यो । उमेरसँगै पारिवारमा थपिएको आर्थिक बोझलाई सामान्यीकरण गर्नका लागि उनी बुटवल (बटौली) झरे । बुटवल उनको कर्मथलो बन्यो ।
त्यतिबेला बुटवलको हाटबजार खेतको गह्रा जस्तो थियो । त्यो खेतमा तरकारी बेच्नेहरु बिक्रिका लागि ग्राहक कुरिरहेका हुन्थे । त्यही हुलमा ३२ वर्ष पहिले मिसिएका थिए उपाध्याय । विहानै चार बजे उठ्यो बजारमा बेच्ने तरकारीको जोहो गर्नु र दिनभरी तरकारी बेच्नु राति अवेर बुटवलको दिपनगरमा रहेको घरमा पुग्नु उनको दैनिकी थियो ।
उनी भन्छन्, “त्यसबेला पहाडी मूलका तरकारी व्यापारी कम थिए, धेरैजसो तराईमूलका व्यक्ति तरकारी बिक्रि गर्दैथिए । मैले पनि गाउँतिरबाट तरकारी खरिद गर्ने र बिक्रि गर्न शुरु गरे । मोहर किलो तरकारी बिक्रि गरेर पाँच रुपियाँ कमाउँदा आनन्द कम थिएन । तरकारी किन्नु र बेच्नुमा नै जीवन गइसक्यो ।” यो हाटबजारको कुरा गर्दै जाँदा उपाध्यायले भने, “समय कति अगाडि बढिसक्यो, पहिले अहिलेको बजार भागको धेरै भाग शौचालयका लागि प्रयोग हुने गर्दथ्यो । बचेको भागमा मात्रै बजार थियो । हप्तामा दुई दिन मात्रै लाग्ने बजारमा पनि ग्राहकको चाप कम थियो ।”
आफ्नोमा भने नियमित तरकारी किन्ने ग्राहक रहेको उपाध्याय सुनाउँछन् । उनले पाल्पाबाट आउने तरकारीलाई बेच्ने गर्दथे । अहिले जस्तो मण्डी थिएन त्यसबेला । सिधै किसानले फलाएर ल्याउने र बेच्ने काम हुथ्यो । तरकारी बेचे बापत एक सुका कर तिर्नु पर्दथ्यो । अहिले बढेर एक सय रुपियाँ भएको छ । “महँगीले आकास छोईसक्यो । समय परिवर्तन भयो”–उपाध्याय भन्छन् “दुई महिना अघिको मात्रै कुरा हो एक जना ग्राहकले तरकारीमा भ्रष्टाचार भयो भने, हामीले कसरी भ्रष्टाचार गर्नु किसानले सस्तोमा तरकारी दिए हामी सस्तैमा बेच्छौ, महँगो बनाए महँगो गर्छौ ।” हाटमा उमेरको महत्वपूर्ण जीवन बिताए उपाध्यायले । बजारसँगको मितेरी नमर्दा सम्म सहने बताए । दुई सन्तानको लालन पालन र जिबिकोपार्जनको माध्यम भएकाले पनि साईनो तोड्न नसकने तर्क छ उनको ।
पाल्पाको भैरवस्थानमा जन्मिएकी सिता क्षेत्रीले बुटवलको हाटबजारसँग ४० वर्षदेखि मितेरी गाँसेकी छन् । उमेरले ६० काटेकी सितालाई विहानै उठ्नु, मन्डीमा पुग्नु र दिनभरीका लागि बेच्ने टमाटर जोहो गर्नु नै दैनिकी हो । पछिल्लो करिव १० वर्षदेखि उनले बजारमा टमाटर मात्रै बेच्ने गर्दछिन् ।
उनी भन्छिन् “पहिले श्रीमान पनि हुँदा त अरु तरकारी पनि बेच्ने गथ्र्यौ, तर उहाँको मृत्यु पछि मैले खाली टमाटर मात्रै बेच्छु । मैले यहाँ कम नाफा राखेर धेरै सामान बेच्ने गर्दछु । हामी दम्पतीले जीवनमा यही पेशा बाहेक केही गरेनौ, श्रीमान पनि यसरी बजारमा हिंड्दा हिंडदै बित्नुभयो । यही बजार हाम्रो कर्मथलो हो ।” उनले यहींबाट छोरालाई पढाउने र हुर्काउने घर जग्गा जोडेको बताइन् । “त्यसैले पनि पाखुरा चल्दासम्म यहीं काम गर्न रमाईलो लागेको छ । अहिले त छोराले कमाउँछ । बुहारीले पनि पसल गरेकी छ, नातिनी छ मलाई नगर्न उनीहरुले भन्छन् तर पनि यस्तो साइनो गाँसिएछ कि उठ्ने बित्तिकै यही आईहाल्न मन लाग्छ”–उनी भन्छिन् । पहिले पहिले नगरपालिकाको गेट अगाडि उनीहरुको बेच्ने ठाउँ थियो । पछि श्रीमानको मृत्युपछि पाल लगाउने दुःख नहोस् भनेर समितिले उनलाई टिनको छानो मुनि बेच्ने व्यवस्था मिलाएको हो । हेर्दा सामान्य लागे पनि जिविकोपार्जनका लागि धेरै महत्वपूर्ण क्षेत्र हो यो । दिनमा एक हजार देखि १२ सय सम्म नाफा आउने गरेको सिता बताउँछिन् ।
उनलाई पढ्न नपाएकोमा पछुतो छ । कहिलेकाहीं मन्डीमा धेरै पैसा दिने त कहिले कम पैसा दिने गर्दछु तर पनि आजभोली सबैले चिनेर होला सहयोग गर्दछन् । बजारमा पनि धेरै बेचे भनी हिसाव आउँदैन वरिपरिकालाई सोधेर काम गर्छु ।
बैतडीमा जन्मिएकी विना शाक्यको कर्मभूमि बुटवलको हाट हो । २२ वर्ष अगाडिबाट उनले यहाँ तरकारी बेच्न शुरु गरेकी हुन् । चार सन्तानकी आमा बिनाले श्रीमान सरकारी जागिरे भए पनि सहयात्रीको साथ पाईनन् । श्रीमानले दिएको धोकाले उनलाई काम गर्न हौसाएको बताउँछिन् । बिगत कोट्याउँदै बिना भन्छिन्, “काम कहिल्यै सानो हुँदैन । दुईचार पैसा कमाएर छोराछोरी हुर्काउनु पर्ने बाध्यता थियो । त्यसबेला के गर्ने भन्ने बेलामा एउटा भाईले मलाई यसरी बजारमा तरकारी बेचेर केही कमाउन सकिन्छ भनेर सिकाएका हुन् ।”
यहाँबाट तरकारी खरिद गर्ने र बेच्ने गरेका र यसैबाट सामान्य जीवन बितेको उनी बताउँछिन् । “अहिले त छोराछोरीहरु पनि कमाउने भए, हाट जान पर्दैन भन्छन् तै पनि गरिराखेको कामप्रति माया र सद्भाव छ, सक्दा सम्म गर्नु पर्छ भनेर गरिरहेको छु । अहिले त हाट पनि सुन्दर छ । सबै कुराको सुविधा छ । त्यसबेला त खेतमा थुप्रा बनाएर बेच्ने हो । वर्षाको समयमा तरकारी पानीले बगाएको आज जस्तै लाग्छ”–उनी स्मरण गर्छिन् ।
विगत २५ वर्षदेखि हाटसँगै रमाउदै आएकी छन् ५० वर्षकी तुलसी काफ्ले । सामान्य खेतमा उनी बुटवलको हाटमा तरकारी बेच्न आउँदा धेरै तराईबासी व्यापारी थिए । सात आठ जना मात्रै पहाडी व्यापारी देखेकी काफ्लेलाई आज सपना जस्तै लाग्छ । त्यसबेला पहाडिया व्यवसायीलाई तराइबासी व्यवसायीले अत्यन्त हेप्ने गरेको नमिठो अनुभव उनले सुनाईन् । “त्यति हुँदा पनि हामीले आफनो कर्म गर्न छोडेनौ र आज यहाँ छौ । त्यसैले होला अहिलेको यो हाटमा धेरै पहाडिया समुदायका व्यापारी छौ”–उनी भन्छिन्, “यो हाट त भगवान हो जहाँबाट मैले मेरो सन्तान हुर्काएँ, सम्पत्ति जोडे, यति मिठो साथ छ यहाँ कि यसलाई छोड्न सक्छु जस्तो लाग्दैन ।”
“पहिले हामी सबै भन्दा महँगो तरकारीलाई २५ रुपियाँ किलो बेच्थ्यौ भने अहिले ३ सय रुपियाँ किलो बेच्नु पर्छ । समयले कोल्टो फेरको छ । महगीले आकास छोएको छ, तर पनि हामी चल्नुको बिकल्प छैन”–उनी भन्छिन्–“यस्तो अवस्थामा कोही ग्राहकले व्यापारीहरु त लुट्न बसेका हुन् भन्छन् तर पनि मन दुख्दैन । समयले हामीलाई नि महँगोमा बेच्न बाध्य बनाएको कुरा बुझ्ने धेरै हुनहुन्छ ।”