© २०२३
बुटवल,१७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्ने भएको छ।
मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर लामिछानेले आफ्नो पार्टीको भागमा परेको गृहमा पुनः नियुक्त गर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डले ठोस जवाफ नदिएर सल्लाह गर्छौं भनेपछि उनले मंगलबार बेलुकीसम्मको डेडलाइन समयसीमा दिएको रविको सचिवालयले जनाएको छ।
गृह मन्त्रालय नदिए आजै बेलुकी पत्रकार सम्मेलन गरेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने चेतावनी दिएको छ ।
नागरिकता विवादमा गत शुक्रबार सर्वोच्च अदालतले आदेश दिएपछि उनी मन्त्री, सांसद र सभापति पदबाट बाहिरिएका थिए।
लगत्तै आइतबार नागरिकता लिएका लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फर्किसकेका छन्। यद्यपि उनी गैरसांसद मन्त्रीको रुपमा क्याबिनेट पुनः प्रवेश गर्न दौडधुप गरिरहेका छन्।