© २०२३
बर्दघाट, १६ माघ । पश्चिम नवलपरासीकै सर्वाधिक पुरस्कार राशीको फूटवल प्रतियोगिता सूर्यनगर गोल्डकप २०७९ माघ २५ गतेदेखि शुरु हुने भएको छ ।
नव युवा क्लव, बर्दघाट–१६ को आयोजनामा सातौँ सँस्करणको प्रतियोगिता माघ २५ गतेदेखि आगामी फागुन ७ गतेसम्म सँचालन हुने सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । बर्दघाट नगरपालिका वडा नम्बर १६ को सूर्यनगर रँगशालामा हुने प्रतियोगितामा ए डिभिजन प्रतियोगितामा सहभागिता जनाएका टिम सहित बुटवल, चितवन, सर्लाही, भक्तपुर, पोखराका गरी कुल १२ टिमहरुको सहभागिता रहने खेल सँयोजक धन सिँह चितौरेले जानकारी दिए ।
विजेता टिमलाई ५ लाख नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र र उप विजेता टोलीलाई ३ लाख नगद पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट डिफेन्स र सर्वोत्कृष्ट खेलाडीलाई समेत ब्यक्तिगत रुपमा पुरस्कृत गरिने क्लवका अध्यक्ष अमर बहादुर थापा ले जानकारी दिए ।
अनुमानित ४८ लाख रुपैया खर्च आँकलन गरिएको प्रतियोगितालाई सँरक्षकत्व प्रदान गरेको बर्दघाट नगरपालिकाले ७ लाख रुपैया सहयोग गरेको छ । प्रतियोगिता सँचालनका लागि अपुग रकम प्रायोजक, टिकट विक्रि र सहयोगदाताहरुबाट ब्यवस्थापन गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले सूर्यनगर गोल्डकप नाम राखी निरन्तर फूटवल खेलको विकास र खेलाडीहरु उत्पादन गर्न क्लवले सहयोग गरेको बताउँदै नगरका क्षमतावान खेलाडी उत्पादन गरी राष्ट्रिय टिममा पु¥याउने माध्यम बन्नु पर्नेमा विशेष ध्यान दिनु पर्ने बताएका थिए ।
क्लवका पूर्व अध्यक्ष एवं वडा नम्बर १६ का वडाध्यक्ष भिमकाजी गुरुङ्गले क्लव आर्थिक रुपमा कमजोर भएपनि सवैको साथ र सहयोगले विगतका वर्षहरुमा सफलतापूर्वक प्रतियोगिता सम्पन्न गरेको र यसवर्ष पनि सफल सँचालन हुने विश्वास ब्यक्त गरेका थिए ।