© २०२३
बुटवल,१५ माघ । सांसद र गृहमन्त्री पद गुमाएका रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्। सर्वोच्च अदालतको आदेशपछि गैरनागरिक ठहर भएपछि उनले दोस्रोपटक नयां नागरिकता बनाएका हुन् ।
२०५० सालमा लिएको नागरिकता त्यागेका उनी अमेरिकी नागरिक भएका थिए । तर २०७५ नेपाल फर्किएका उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकताका लागि निस्सा पेश गरेका थिएनन्।
२०५० सालमा लिएर बीचमा त्यागिसकेको नागरिकता नै पेश गरेर उनले नेपाली राहदानी निकालेका थिए। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्दा पनि उनले त्यही नागरिकता निर्वाचन आयोगमा पेश गरेका थिए।
त्यसपछि चितवन क्षेत्र नम्बर २ बाट सांसदमा उठ्दा पनि उनले पुरानै खारेज भइसकेको नागरिकता पेश गरेको खुलेको छ।
यस्तोमा उनको यो सबै प्रक्रियालाई खारेज गर्दै सर्वोच्चले उनलाई नेपाली नागरिकता लिने प्रक्रिया अघि बढाउन पाउने गरी आदेश दिएको थियो।
अमेरिकी नागरिकता त्यागेको निस्सा पेश गरेपछि उनले नेपाली नागरिकता लिएका हुन्। उनका सहयोगी प्रकाश सिग्देलले रविको नाममा नागरिकता जारी भइसकेको बताए।
उनीविरुद्ध दोहोरो राहदानी प्रयोग, खारेज भइसकेको नागरिकताबाट पदमा पुगेर कानुनी दुरुपयोगसहितमा छानबिन अघि बढ्ने सम्भावना पनि छ।