© २०२३
बुटवल,१४ माघ । पूर्वी जेरुसेलममा यहूदीहरूको प्रार्थनास्थलमा भएको गोलाबारीमा सात जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा तीन जना घाइते भएका छन्।
घटना स्थानीय समय अनुसार शुक्रबार बेलुका ८.१५ बजे सहरको नेभ याकोभ क्षेत्रमा भएको हो। आक्रमणकारीलाई आतङ्कवादी भन्दै प्रहरीले उनको पनि मृत्यु भएको बताएको छ । स्थानीय सञ्चारमाध्यमले आक्रमणकारी पूर्वी जेरुसेलमका प्यालेस्टाइनी भएको बताएका छन् ।
इजरायली पुलिस कमिश्नर कोबी शाबताईले यसलाई हालका वर्षहरूमा सबैभन्दा खराब आक्रमणहरू मध्ये एक भएको बताए । इजरायलका यहूदीहरू यहूदी शब्बाथको अवसरमा पूर्वी जेरुसेलमको यहूदी बस्तीमा रहेको एउटा सभा घरमा प्रार्थना गर्न भेला भएको बताइएको छ।
यहुदीहरूले जर्मनीमा नाजी शासनकालमा हलोकास्टमा मारिएका करिब ६० लाख यहूदी र अन्य पीडितहरूको सम्झनामा होलोकास्ट मेमोरियल डे मनाउँछन्। मानिसहरू सभा घरमा मारिएकाहरूलाई सम्झन आएका थिए। त्यहाँ जम्मा भएका मानिसहरु बाहिरिने क्रममा आक्रमणकारीले गोली प्रहार गरेका थिए । आक्रमणपछि अधिकारीहरूले आक्रमणकारीलाई गोली हानेको प्रहरीले जनाएको छ।
– एजेन्सीको सहयोगमा