© २०२३
बुटवल,११ माघ । रुपन्देहीको देवदह शितलनगरका नेत्रबहादुर घर्तीमगर तेक्वान्दो खेलाडी हुन् । उनी तेक्वान्दोको फोर डन ब्ल्याकबेल्ट हुन् ।
प्युठानको ऐरावती गाउंपालिकामा जन्मेका उनको परिवार सहज जीवन यापनको लागि रुपन्देही आयो । तर खेलबाट स्वदेशमा राम्रो आयआर्जन हुने अवस्था नभएपछि उनी वैदेशिक रोजगारीको सिलसिलामा युएईको आबुधाबी पुगे । त्यहां उनले ५ वर्ष सेक्युरिटी गार्डको जागिर गरे । तर उनी अरु जस्तो सेक्युरिटी गार्ड मात्रै थिएनन्, उनीभित्र राम्रो खेल प्रतिभा पनि थियो ।
त्यही प्रतिभाका कारण सन् २०१६ मा नेत्रबहादुर आबुधाबीको बारुदी स्पोर्ट्स क्लबमा तेक्वान्दो कोचको रुपमा काम गर्ने अवसर पाए ।
लेबनानीहरुको स्वामित्वको बारुदी क्लबमा आवद्ध भएपछि उनले त्यहां युएईसंगै ब्रिटिस,रसिया,कतार,साउदी,लेबनान लगायतका देशका विदेशीलाई तेक्वान्दो सिकाउन थाले । उनको राम्रो प्रशिक्षणका कारण उनलाई आबुधाबीका विभिन्न विद्यालयहरुले पनि आफ्ना विद्यार्थीलाई तेक्वान्दो सिकाउन बोलाउन थाले । उनले फिटनेसको कक्षा पनि दिन थाले । विदेशमा रहेकै बेला सन् २०१८ मा युएई तेक्वान्दो फेडरेसनको आयोजनामा भएको तालिममा नेसनल कोच ट्रेनिङ र २०१९ मा कोरियामा जुलाई ९ देखि १३ सम्म तेक्वान्दोको मास्टर्स कोर्स पनि पूरा गरे ।
‘सेक्युरिटी गार्डको जागिर गर्दा गेटमा उभिएर अरुलाई ढोका खोलेर भित्र बाहिर गराउने र स्यालुट हान्नुपथ्र्यो, तर अहिले मेरो परिचय फेरिएको छ मैले आबुधाबीमा राम्रो तेक्वान्दो कोचको सम्मान पाएको छु’–नेत्रबहादुरले भने–‘कोचको कामबाट पारिश्रमिक पनि राम्रो छ, सम्मान पनि छ ।’
बुटवल वहुमुखी क्याम्पसमा आईए उत्तिर्ण गरेर बीए पढ्दापढ्दै माओवादी द्वन्द्वको कारण बीचमै पढाई छाडेको उनले जितगढी डोजाङ बुटवलमा तेक्वान्दो सिकेको बताए । नेत्रबहादुर पोखरामा भएको नवौं साफ क्षेत्रीय छनोट प्रतियोगितामा दोस्रो भएका थिए ।
यस्तै काठमाडौंमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेस्रो, सन् २०२२ मे १४–१५ मा अमेरिकामा भएको अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसीप (आईओएफटीसी) मा दोस्रो स्थान हासिल गरेको नेत्रबहादुरले बताए । उनले सन् २००३ र २००५ मा कोरियन दुतावासको सहयोगमा काठमाडौंमा भएको नेशनल च्याम्पियनसीपमा पनि भाग लिएका थिए ।
विदामा नेपाल आउंदा पनि नेत्रबहादुर तेक्वान्दो खेलसंग सम्बन्धित गतिविधिमै समय बिताउने गरेको बताउंछन् । सन् २०२१ डिसेम्बरमा उनले बुटवलमा मेयर कप जिल्लास्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सफलतापुर्वक सम्पन्न गरे । जसमा करिब २ सय खेलाडी सहभागी भएको नेत्रबहादुरले बताए । अब प्रदेशस्तरीय प्रतियोगिता गर्ने उनको योजना छ । अझै केही वर्ष आबुधाबीमै कोच भएर काम गर्ने र नेपाल फर्केपछि क्लब स्थापना गरेर तेक्वान्दोमै समर्पित हुने लक्ष्य रहेको नेत्रबहादुर बताउंछन् ।
खेलकुदले व्यक्तिगत स्वास्थ्यसंगै अनुशासन, विकास र राष्ट्रिय एकता कायम गर्न योगदान गर्ने भएकाले नेपाल सरकारले खेलकुद र खेलाडीलाई सम्मानपुर्वक बांच्ने वातावरण बनाउनुपर्ने नेत्रबहादुरको आग्रह छ ।