© २०२३
चन्द्रौटा (कपिलवस्तु), १० माघ ।
कपिलवस्तुको शिवराज नगरपालिकामा बैंक शिविरमार्फत भत्ता वितरण सुरु गरिएको छ । आम नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सहजताका लागि प्रत्येक वडामा शिविर आयोजना गरिने शिवराज नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख अजय थापाले बैंकसम्म जान नसक्ने व्यक्तिका लागि लक्षित गरेर शिविर आयोजना गरिएको बताए । दोस्रो त्रैमासिक अन्तर्गत बैंकमा लाइन लाग्ने वृद्धवृद्धाको बाध्यता हटाएर सबै वडामा पुगेर भत्ता वितरण हुने उनले बताए ।
‘पहिलो चरणमा वडा तथा पायक पर्ने ठाउँबाट भत्ता वितरण गरिरहेका छौँ, अशक्तहरूका लागि घरघरमा पु¥याउने योजना छ’ नगर प्रमुख थापाले भने ः ‘जनतासँग गरेको वाचा पूरा गर्न हामी प्रतिबद्धछौं ।’ थापाले नगरका अभिभावक भनेको वृद्धवृद्धा रहेकाले सम्मान गर्ने जनाए ।
यस्तै उपप्रमुख शिवकुमारी थारूले बैंकमार्फत वितरण गर्दा झन्झटिलो र लाइनमा बस्दा वृद्धवृद्धाको स्वास्थ्यमा समेत असर पर्ने देखिएको बताइन् । त्यसैलाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको जनाउँदै नगरवासीलाई कसरी सहजता मिल्छ भन्ने विषयमा नगरपालिका गम्भीर रहेको जिकिर गरिन् । शिविरमा छुटेका व्यक्तिहरूलाई बैंकमार्फत उपलब्ध हुने गराउने उनको भनाइ छ ।
शिवराज नगरपालिकाले दोस्रो चौमासिकमा रु. ६ करोड रकम सामाजिक सुरक्षाभत्ता निकासा गरेको छ । नगरमा १२ हजार ८२० सेवाग्राही रहेका छन् । गाउँमै भत्ता पाइन थालेपछि हर्षित भएको सेवाग्राही कल्लु थारुले बताए ।
११ वटा बैंकसँग सहकार्य गरेर शिविर आयोजना गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्रमुख दीपक खड्काले जनाए । नगरमा रहेका ११ वटा वडाका प्रत्येक वडामा दुई दिन शिविर आयोजना हुने उनको भनाइ छ ।