© २०२३
लमही, ११ माघ ।
लमही नगरपालिका वडा नम्बर–३ वनगाउँका ३८ वर्षीय लिलाबहादुर डाँगी शारीरिक रूपमा अपाङ्ग छन् । उनका दुइवटै खुट्टा चल्दैनन् । उनी जन्मजात अपांग होइनन् । उनी बिरामीपछि उपचारको अभावमा दुवै खुट्टा नचल्ने भए ।
अपाङ्ग भएपनि उनी अहिले काममा भने कुनै फरक देखिँदैनन् । बिहान ९ बजे आफ्नो व्ह्ीलचियरमा सवार गरी घरबाट ४ किलोमिटरको दुरीमा रहेको लमही बजारमा पुग्नु उनको दैनिकी हो । दिनभर लमहीमा रहेको श्रृजनशिल अपाङ्गमैत्री संस्थाद्वारा खोलिएको कोशेली घर उद्यमशिलमा व्यस्त हुन्छन् । उनले दिनभर वेत बाँसको काम गर्ने गर्दछन् ।
कहिले बाँसको मुडा, कहिले ढकिया त कहिले हातबाटै अगरबत्ती बनाउने गरेको बताउँछन् । उनी २ वर्ष अगाडिसम्म परिवारकै बोझ बनेका थिए । “घरमा आर्थिक समस्या अनि उनको बोझ आफैलाई निरासा लाग्ने कहिलेकाहीँ आत्महत्या गरांै जस्तो लाग्थ्यो”– डाँगी विगत सम्झदै भन्छन् । अहिले भने उनको परिवार उनीमाथि आश्रित जस्तै बनेको छ । उनी दैनिक वेत बाँसको काम गर्छन् । मासिकरूपमा केही पैसा पाउने गरेका छन् भने दिनचर्या पनि सजिलोसँग बित्ने गरेको बताउँछन् ।
उनी जस्तै लमही नगरपालिका वडा नम्बर–३ टिकुलीगढका ४४ वर्षीय धनीराम चौधरीको दैनिकी पनि डाँगीसँगै मिल्दो जुल्दो छ । उनीपनि शारीरिक रूपमा पूर्णरूपले अपांग छन् । दुवै खुट्टा चल्दैनन् । तर पनि काम भने सपांग बराबर गर्ने गर्दछन् । उनी पनि बिहान ९ बजे ह्वीलचियरमा बसेर लमही आउने गर्दछन् । दिनभर वेतबाँसको काममा व्यस्त हुन्छन् । बेलुका फेरि ह्वीलचियरमा घर फर्कन्छन् । केही वर्ष अगाडिसम्म परिवारका लागि निक्कै बोझ भएका चौधरी उद्यमशिलतामा लागेपछि उल्टै परिवारको आम्दानीको स्रोत बनेका छन् ।
लमही नगरपालिका वडा नम्बर–४ अर्नहवाका ४४ वर्षका नन्द राना पनि अपांग छन् । उनी पनि दिनभर चौधरी र डाँगीसँगै वेत बाँसमा भविष्य खोजिरहेका छन् । उनीहरू मात्र उदाहरण हुन् । उनीहरूसंगै लमहीका विभिन्न स्थानका गरी १० जना अपाङ्गहरूको अहिले दैनिकी फेरिदिएको छ लमहीमा रहेको कोशेली घरले । केही जन्मजात अपाङ्ग त केही पछि अपाङ्ग भएकाहरू गरी १० जना अपाङ्गहरूले कोशेली घरमा काम गर्ने गर्दछन् । उनीहरू वेतबाँस र थालकबाट ढकिया, पेरुगा, अगरबत्ती, बाँसको मुडा, फुरुङ्गा, थाकलको टोपी, हाते व्याग लगायतका सामग्री निर्माण गर्ने गरेको बताउँछन ।
उनीहरूले उत्पादन गरेका सबै सामानहरू कोशेली घरबाट बिक्री हुने गरेको उनीहरू बताउँछन् । लमही नगरपालिका भित्र रहेका अपाङ्गहरूद्वारा २०७८ सालमा खोलिएको कोशेली घर लघु उद्यमशिल पछिल्लो समयमा अपाङ्गहरूले अवसर पाए सपांगले जस्तै काम गर्न सक्छन् भन्ने उदाहरण बन्ने अवसर दिएको संस्थाका अध्यक्ष नारायण भण्डारी बताउँछन् ।
संस्था दर्ता भएलगत्तै लमही नगरपालिकाले विभिन्न समयमा सिपमुलक तालिम उपलब्ध गराएपनि कोशेली घरमा लगानी भने आफूहरूले गरेको उनले बताए । व्यवसाय संचालनको लागि लमही नगरपालिकाले लमहीमा रहेको पशु कार्यालयको भवन उपलब्ध गराएको छ । भवनमा २ वटा सटर छन् । सटरमा उनीहरूले उत्पादन गरेका सामग्री भण्डार तथा बिक्री गर्ने गरेको अध्यक्ष भण्डारी बताउँछन । उनी भन्छन्–‘हामीलाई नगरपालिकाले भवन दिए लगत्तै सहज भएको हो । हामी अपाङ्गले गर्ने काम भनेको बसेर हो । बसेर गर्ने काम मध्ये वेत बाँसको उपयुक्त लाग्यो । तर पनि कच्चापदार्थ सहज रूपमा नपाउँदा काम गर्न सहज नभएको भण्डारीले बताए । ‘बजार पाएका छौ ं तर बेला–बेला कच्चा पदार्थको अभाव हुने गर्छ,’ उनले भने ।
‘हामी कोशेली घरलाई मजवुत बनाउने गरी काम गरे का छौ ं । सिप भएकालाई अवसर दिएका छौ ं । काम गर्नेहरूले पारिश्रमिक पाउने र बाँकी बचेको पैसाबाट कोशेली घरलाई मजवुद बनाउन कोषमा राख्ने गरेका छौ ं’ उनले भने । उता लमही नगरपालिका मेयर जोगराज चौधरी आफूहरूले अपांगमैत्री संस्थाको माग बमोजिम सीपमूलक तालिमहरू विभिन्न चरणमा दिएको र आवश्यकता माग भए उद्योगमा प्रयोग गर्ने मेसिनरी सामग्री उपलब्ध गराउने बताए ।