© २०२३
बुटवल, १० माघ । प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुर्य थापाले पार्टीका नेता खिमलाल भट्टराईलाई प्रत्यक्ष चुनाव लडेर नजितेको भन्दै तीखो कटाक्ष गरेका छन् ।
थापाले आज बिहान फेसबुकमा पैसाको माला लगाएको फोटो राखेर माया माया र चोखो माया भन्दै स्टाटस लेखेका थिए । उक्त फोटोमा पार्टीका पोलिटब्युरो सदस्य नेता भट्टराईले ‘के हो यो ?’ लख्दै प्रतिक्रिया व्यक्त गरेका थिए । तर भट्टराईको प्रतिक्रियामा थापाले विपक्षी र विरोधीलाई जस्तै तीखो कटाक्षपूर्ण जवाफ फर्काएका छन् ।
थापाले भट्टराईलाई ‘चुनाव लडेर जनताबाट डाइरेक्ट चुनिएको ÷जितेको भा थाहा पाउनुहुन्थ्यो राष्ट्रिय सभाका भुतपुर्व विपक्षी नेता ज्यु’ लेखेर तीखो प्रहार गरेका हुन् । यस्तो जवाफमा भट्टराईले पुनः प्रतिक्रिया जनाउंदै ‘जनताको माया पाउने चुनाव लड्ने र जित्नेले मात्र होइन है कमरेड । तपाईले जितेको र माला लगाएकोमा म फेरि असाध्यै खुशी छु’ लेखेका छन् ।
भट्टराई रुपन्देहीबाट निर्वाचित निवर्तमान राष्ट्रिय सभा सदस्य हुन् । चुनाव जितेपछि माला र खादाको धेरै प्रयोग गरेको भन्दै आलोचना भएपनि थापा यसलाई स्वभाविक भन्दै आएका छन् ।
उनले जनताले माया गरेर करिब ३० ट्रक हाराहारी फुलको माला आफुलाई लगाइदिएको बुटवलमा आयोजित पत्रकार भेटघाटमा बताएका थिए ।
भट्टराई र थापा एमालेभित्र विगत देखि नै एउटै विचार समूह अर्थात अध्यक्ष केपी ओली समूहमा रहेका नेता हुन् । थापा भन्दा भट्टराई सिनियर हुन् । थापाको तीखो कटाक्षले भट्टराईलाई अपमान गरेको एमालेका कतिपय नेताहरुको बुझाई छ ।
‘एउटै पार्टीका आफू भन्दा सिनियर नेताले सोधेको सामान्य प्रश्नको जवाफमा त्यसरी विपक्षी र विरोधीलाई जस्तो तीखो प्रहार नगरेको भए हुन्थ्यो’–एमाले लुम्बिनी प्रदेश कमिटीका एक नेताले भने – ‘यो के हो भनेको प्रश्नमा चुनाव जितेपछि जनताले माया गरेर पैसाको माला लगाइदिएको हो मात्रै भन्न पनि सकिन्थ्यो तर थापामा चुनाव जितेकोमा अलिकति अहंकार देखियो ।’
चुनावअघि प्रतिनिधिसभा उम्मेदवार हुने भन्दै राजीनामा दिएपनि भट्टराईले गरेको मनोनयन दर्ता निर्वाचन आयोगले बदर गरेपछि उनी चुनाव लड्न पाएनन् । रुपन्देही ५ मा एमाले नेता वासुदेव घिमिरेको मनोनयन सदर भएपछि उनले जितेका छन् ।