© २०२३
बुटवल,९ माघ । बुटवलको वडा नं ११ देविनगर चोकदेखि रंगशाला जाने सडक निर्माणमा ढिलाई हुंदा स्थानीयले सास्ती खेपेका छन् । करिब साढे ३ किलोमिटर लामो सडक भत्काएर अलपत्र पार्दा धुलो र पानी पर्दा हिलोका कारण सो खण्डमा बस्ने झण्डै २० हजार वडावासीले दुई वर्षदेखि सास्ती खेपेका छन् । साढे ३ किलोमिटरमध्ये साढे १ किलोमिटरमा नाली निर्माण भएको छ ।
सडकमा खाल्डा पर्दा दिनहुं दुर्घटनाको जोखिम बढेको, सडकमा पानी जमेर सवारी साधन चलाउन समस्या हुने र फोहोर पानी जम्मा भएर वस्ती नै दुर्घन्धित भएको स्थानीय तेजु रानाले बताए । शुरुमा २०७४ सालमा काम शुरु भएपनि केही स्थानीयले अदालतमा मुद्दा हालेपछि काम रोकिएको थियो । पछि २०७८ साउन २९ मा पुनः ठेक्का भएपनि कामै नभएको स्थानीयको भनाई छ ।
उक्त सडक ६ करोड ४९ लाख २४ हजार रुपैयांमा २०७९ साउन मसान्तमा पूरा गर्ने गरी रायमाझी निम कन्स्ट्रक्सन जेभी तिलोत्तमाले ठेक्का पाएको थियो । तर ठेकेदारले पेट्रोलियम पदार्थमा भारी मुल्यबृद्धि भएको भन्दै काम रोकेको थियो । काम रोकिएर जनताले सास्ती पाएपछि स्थानीयहरु कहिले वडामा, कहिले नगरपालिकामा धाएर समस्या राख्दै आएको तर काम नभएको स्थानीय रामप्रसाद भट्टराईले बताए । ‘सडक अलपत्र पर्दा दिनहुं मोटरसाइकल स्कुटर पल्टिन्छन्, वर्षा हुंदा र रातको समयमा हिड्नै सकिन्न’–उनले भने–‘धुलो र हिलोले सडक छेउछाउका दर्जनौं पसल बन्द भइसके ।’
सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर लम्सालले संघीय सरकारले उक्त सडक निर्माण आयोजनालाई प्रदेश सरकारलाई हस्तान्तरण गरेकाले आफूहरुले काम अघि बढाउन नसकेको बताउंछन् । संघीय सरकारको चालु आर्थिक वर्षको वजेट वक्तव्यमा उक्त आयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । अब संघीय सरकारले शिर्षक प्रदेशमा गएपनि वजेटको दायित्व सडक विभागलाई दिए मात्र काम अघि बढ्ने अन्यथा ठेक्का तोड्नुपर्ने अवस्था रहेको लम्सालले बताए ।
बुटवल उपमहानगरपालिकामा डेलिगेसन जांदा उपमहानगरले उक्त आयोजना उपमहानगर मातहत आएमा आफूहरुले बनाउने आश्वासन दिएको स्थानीय विष्णु पाण्डेले बताए । निर्माण कम्पनीसंग यसबारे बुझ्न पटक पटक फोन सम्पर्कको प्रयास गरेपनि फोन रिसिभ भएन ।