© २०२३
बुटवल,९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको भेटघाटमा संसद संचालनलगायतका विभिन्न समसामायिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बिहीबार सभामुख पदमा निर्वाचित भइसकेपछि घिमिरेले परामर्श गरिरहेका छन् । यसअघि सर्वदलीय बैठक पनि गरिसकेका छन् ।
घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरेका थिए ।
नेकपा एमालेबाट निर्वाचित घिमिरे एमाले विभाजनको कारण बनेको विवादित महाकाली सन्धिको पक्षमा निर्णायक मतदान गर्ने नेता हुन् ।
तत्कालीन पार्टी अध्यक्ष मनमहोन अधिकारी विरामी रहेकाले उनको मत वैकल्पिक केन्द्रीय सदस्यका रुपमा घिमिरेले हालेका थिए । अधिकारीले आफू महाकाली सन्धिको विपक्षमा भएकाले विपक्षमा मत हाल्न आग्रह गरेका तर घिमिरेले पक्षमा मतदान गरेका थिए । यो विषयले घिमिरेको इमान्दारितामाथि राजनीतिक वृत्तमा प्रश्न र चर्चा हुने गरेको छ ।