© २०२३
बुटवल, २५ पुस ।
बुटवल उपमहानगरपालिकाले तीन वर्ष अगाडि बुटवललाई सडक मानवमुक्त घोषणा ग¥यो । तर बुटवल उपमहानगरले गरेको उक्त घोषणा कागजमै सीमित भएको छ । सडक मानवमुक्त घोषणा गरिएपनि यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन ।
२०७६ साल पुस ५ गते बुटवल उपमहानगरपालिका, तत्कालीन प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालय, मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त प्रयासबाट बुटवललाई मानवताको सहर बनाउने घोषणा गर्दै सहयोगापेक्षीहरुको व्यवस्थापन थालिएको थियो ।
तर अहिले भने सडकमा आश्रित बालबालिकाको संख्या दिनप्रतिदिन बढ्दै जान थालेको छ । त्यतिमा नभए सडकमा आश्रित बालबालिकाको अवस्था दयनीय रहेको देखिएको छ । पछिल्लो केही महिनादेखि बुटवल उपमहानगरपालिका नेपालगञ्ज रोड, पाल्पा रोड, ट्राफिक चोक, दुर्गा मन्दिर लाईनमा हरेक दिन बालबालिकाहरू ठूलो संख्यामा माग्दै हिड्ने गरेको देखिएपछि उपमहानगरभित्रै बालबालिकाको अवस्था कहालीलाग्दो रहेको देखिएको हो । पछिल्लो समय सडकमा माग्ने बालबालिकाहरुको संख्या बढ्दै गएको छ । केही महिनादेखि बुटवल उपमहानगरपालिकाको ट्राफिक चोक, दुर्गामन्दिर लाईनमा हरेक दिन बालबालिका हरुको ठूलो संख्यामा माग्दै हिड्ने गरेको कहालीलाग्दो दृश्यले उपमहानगरलाई नै गिज्याईरहेको छ ।
यो पुस महिनाको जाडोमा सडकमा हिँडिरहेका बालबालिकाहरु जाडोको प्रवाह नगरी भोक मेटाउन माग्दै हिडिरहेका छन् । मैला हात, खुट्टामा मैला चप्पल, पातला लुगामा माग्दै हिडिरहेका यी बालकहरूको अवस्था निकै दयनीय देखिएको छ । सडकपेटीमा भेटिएकी बालिका वर्षा परियारले दिनभर सडकमा मागेर हिंड्ने गरेको बताउँछिन् । उनको सुत्ने कुनै बास छैन । दिनभरी मागेर खाने र उनको रात सडकमै बित्ने गर्दछ । उनले कहिले सडक छेउँको पेटीमा र तिनाउ नदीको पुलमुनि बसेर रात बिताउने गरेको बताउँछिन् ।
आमाबाबुको काखमा हाँसीखुसी रहने र किताबकापी लिई विद्यालय जाने बेलाका यी बालबालिकाहरू सडकमै दिन र रात बिताउन बाध्य छन् । अघिल्लो वर्ष सडकमा रात बिताउने बालबालिकाको संख्या केही कम देखिए पनि पछिल्लो समय सडकमा बस्ने बालबालिकाको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । सडकमा मागी खानका लागि आउने गरेको सडक बालबालिकाहरु बताउँछन् ।
मागेरै जीवन गुजार्ने सडक बालबालिकाहरुको संख्या दिनप्रतिदिन बढ्दै जाँदा बालबालिकाको भविष्यमाथि नै प्रश्न चिन्ह उब्जिएको छ । अशिक्षा ,अन्धविश्वास,आर्थिक पिडा, बहुविवाह, हिसां, अभिभावक लागुपदार्थ दुव्र्यसनीमा पर्नु, परिवारको दायित्वबोध नगर्नुले बालबालिका घर छाडेर हिड्ने र सडकमा मागी हिंड्न बाध्य छन् । सडकमा बस्ने बालबालिकाको संख्या, दिनप्रतिदिन बढ्दै जानुको मुख्य कारण पारिवारिक हिंसां नै रहेको पाइएको छ ।
नेपाली समाजमा हुने गरेका अनुशासनहीन क्रियाकलाप, राजनीतिक अस्थिरता, अराजक स्थिति, बेरोजगारी, बढ्दो सहरीकरण, बहुविवाह, असफल प्रेम विवाह, सम्बन्ध विच्छेद जस्ता घटनाहरु नै बालबालिका सडकमा आउनुका मुख्य कारण रहेको सिर्जनशिल संस्था नेपालकी महासचिव विजु पौडेलले बताइन् । सडक बालबालिकाको उद्दार र व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिकाले विभिन्न संघसंस्थासँग समन्वय गरिरहेको सामाजिक महाशाखा प्रमुख तुलसा अर्यालले बताईन् ।