© २०२३
बुटवल, ४ असोज ।
राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ बाट रेडियो मुक्ति बुटवल नगद सहित सम्मानित भएको छ । शिक्षा पत्रकार समूहले प्रदान गर्दै आएको राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ शुक्रबार काठमाण्डौमा आयोजना गरिएको शिक्षा पत्रकार समुहको रजत वर्ष २०८० ( ८१ का अवसरमा प्रदान गरिएको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा अवार्ड सहित नगद २५ हजार रुपैयाँ प्रदान गरेको रेडियोका अध्यक्ष दिपु पोखरेलले जानकारी दिइन् ।
सम्मान प्रदान गर्दै मन्त्री भट्टराईले आगामी दिनमा पनि रेडियोको माध्यमबाट शिक्षाको क्षेत्रमा उल्लेख्य भुमिका निर्वाह गर्न आग्रह गरिन् । शिक्षा बिना समाज र राष्ट्र अगाडि बढ्न नसक्ने जानाउँदै उनँले सबै क्षेत्र मिलेर शैक्षिक क्षेत्रको विकास गर्न जरुरी रहेको बताइन् ।
पुरस्कार तथा सम्मान ग्रहण गर्दै रेडियोका अध्यक्ष दिपु पोखरेलले सम्मानले थप हौसला मिलेको बताइन् । निरन्तर १६ बर्षदेखि आवाज बिहिनको आवाज उठाएर समाजमा सञ्चारको माध्ययमबाट खेलेको भूमिका र योगदानको उचित मूल्यांकन गरी सम्मान गरेकोमा समूहलाई धन्यवाद ब्यक्त गरिन् । आगागी दिनमा पनि रेडियोले शिक्षा क्षेत्रका समस्या पहिचान गरी सञ्चारको माध्यमबाट निरन्तर रुपमा उठाउने प्रतिबद्धता ब्यक्त गरिन् ।
मोफसलमा रहेर महिलाहरुको नेतृत्वमा संचालित सामुदायिक रेडियोले सार्वजनिक शिक्षाको गुणस्तर अभिबृद्धि, र यसको बिस्तारमा पुर्र्याएको योगदानका आधारमा अवार्ड प्रदान गरिएको समुहका सम्मान तथा पुरस्कार छनोट समितिका संयोजक हरि थापाले बताए । महिलाहरुद्वारा सञ्चालित रेडियो मुक्ति बिगत १६ बर्षदेखि लुम्बिनी प्रदेशको बुटवलबाट ९५ थोप्लो ५ मेगाहर्जबाट प्रसारण हुदै आएको छ ।