© २०२३
नेपालको संविधान २०७२ को धारा ३५ ले आधारभूत स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार हो भनेर सुनिश्चित गरेको छ । त्यसैका साथै, जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३ अनुसार कुनै पनि नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनेर उल्लेख गरिएको छ । गाँस, बाँस र कपासले मानिसको स्वास्थ्यमा ठूलो भुमिका राख्छ । छाक टार्न समस्या भएको अवस्थामा जति नै निःशुल्क स्वास्थ्य जाँच भने पनि मानिसलाई हेक्का लाग्दैन । आर्थिक सर्वेक्षण २०२२/२३को अनुसार, १५.१ प्रतिशत गरिबीको रेखामुनि छन् भने अधिकांश दुर्गम क्षेत्रमा बसोबास गर्दछन् । सन् २०१८/१९ मा यो दर १७.४ प्रतिशत थियो । बहुआयामिक गरिबी सूचक गरिबी मापन अनुसार, ग्रामीण भेगका २८ प्रतिशत र सुगम ठाँउका १२.३ प्रतिशतले बहुआयामिक गरिबी भोगिरहेका छन् ।
एकातिर ग्रामीण क्षेत्रका जनतामा स्वास्थ्यका आधारभूत कुराहरू पुगिरहेको देखिदैन् । अर्कोतिर ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाका सेवाहरू पनि प्रभावकारी रूपमा संचालन भएका पाइदैनन् । पूर्वाधारको विकास, उपकरको प्रयाप्तता र जनशक्तिका हिसावले कमजोर हुनु पनि स्वास्थ्य क्षेत्रमा देखिएको समस्या हुन् । त्यसका लागि स्वास्थ्य संस्थाको अवस्था र सेवा प्रवाहको समिक्षा र मूल्याकंन हुनु जरुरी छ । त्यसको अभ्यास गुल्मीको स्वास्थ्य कार्यालयले गर्ने गरेको छ । गुल्मीको अभ्यासलाई हेर्ने हो भने त्यहाँ पालिकागत रूपमा स्वास्थ्य कार्यालयलहरूले समिक्षा गर्ने गरेका छन् । सम्पादित स्वास्थ्य कार्यक्रमहरूको समिक्षामा रुरुक्षेत्र गाउँपालिका पहिलो बनेको छ । आर्थिक बर्ष २०८०/०८१ को समिक्षामा रुरुक्षेत्र गाउँपालिकाले ७१.८२ प्रतिशत अंक प्राप्तगरि जिल्लामै पहिलो बन्न सफल बनेको हो । स्वास्थ्य कार्यालय, गुल्मीका अनुसार कार्यक्रममा सत्यवति गाउँपालिका दोस्रो र छत्रकोट गाउँपालिका तेस्रो बनेको हो । स्वास्थ्य कार्यालय गुल्मीले गरेको बार्षिक समिक्षा गोष्ठिमा १२ पालिकाहरू मध्य रुरुक्षेत्र, सत्यवती र छत्रकोट गाउँपालिका अब्बल देखिएका हुन । एक आर्थिक बर्षमा जिल्लाका १२ वटा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूले गरेका कामहरूलाई स्वास्थ्य कार्यालय गुल्मीले २९ वटा सुचकका आधारमा मुल्यांकन गरेको थियो । कार्यालयले खोप, सुरक्षा, पोषण, टिवि, परिवार नियोजन, लगायतका सुचकहरूका आधार बनाएर मुल्यांकन गर्ने गरेको हो ।
जिल्लाका दुई नगरपालिका सहित १० गाउँपालिका अन्तरगतका स्वास्थ्य शाखा प्रमुखहरूले वर्षभरमा आफ्नो गाउँपालिकाबाट भए गरेका महत्वपूर्ण गतिविधिहरूको बारेको प्रगति प्रस्तुतिकरण गरे । जिल्लामा स्वास्थ्य क्षेत्रको वास्तविक अबस्थाको पहिचान गरि नमुना कामहरूको अनुसरण गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको पहिचानका लागि उक्त वार्षिक समिक्षा कार्यक्रमको आयोजना गरिने गरेको छ । यस्ता प्रकारका समिक्षाले आफुले गरेका कामहरूको बारेमा जानकारी दिने र आगामी वर्ष गरिने कार्यक्रमलाई कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा जानकारी आदान प्रदान गर्न सहयोग पुग्ने गरेको अनुभव स्वास्थ्य संस्थाका कर्मचारीहरूको छ । यसबाट समस्या समाधानका लागि सामुहिक पहल गर्न र आगामी दिनका कार्यक्रमलाई सुदृढ र प्रभावकारी रूपमा सम्पन्न गर्न मद्दत मिल्ने देखिएको छ ।
पछिल्लो समय सर्ने भन्दा पनि नसर्ने रोग शहरबाट गाउँ तिर बढ्दो क्रममा रहेको भन्दै ग्रामीण क्षेत्रमा यसको बारेमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु आवश्य रहेको कार्यक्रममा औल्याइएको थियो । जिल्लास्थित सम्पुर्ण सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरूको कार्यक्रममा सहभागिता रहने गरेको छ । समिक्षा कार्यक्रमले जिल्लामा स्वास्थ्यकर्मीहरूले आफुले एक आर्थिक वर्षसम्म सम्पादन गरेका मुख्य मुख्य काम र त्यसबाट प्राप्त उपलब्धिहरूको बारेमा खुलेर छलफल हुने गरेको छ । यस्तो अभ्यास अन्य जिल्लाहरूले पनि सिको गर्न सक्छन् ।