© २०२३
सल्यान, ०५ असोज ।
चाडपर्वमा उपभोक्तालाई सहज रूपमा उपभोग्य सामग्री आपूर्तिको व्यवस्था मिलाउनका लागि सल्यानमा बृहत छलफल र आवश्यक निर्णय गरिएको छ । शुक्रबार सदरमुकाम खलंगामा बसेको जिल्लास्तरीय बजार अनुगमन समितिको बैठकले आवश्यक मात्रामा उपभोग्य सामाग्रीहरूको सहज उपलब्धताका लागि प्रभावकारी व्यवस्थापन गर्ने निर्णय गरेको हो । साथै शुक्रबार नै खलंगा बजारका विभिन्न पसलमा अनुगमन समेत गरिएको थियो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको संयोजनमा भएको बैठकमा सल्यानका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले उपभोग्य सामाग्रीको सहज उपलब्धताका लागि निगरानी र अनुगमनलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए । उनले दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धि र गुणस्तरबारे सचेत हुन आवश्यक रहेकोमा जोड दिदै अनुगमन समितिले उपभोक्ता अधिकारको रक्षा गर्दै सामानको गुणस्तर र मूल्यमा एकरूपता कायम गर्न विशेष ध्यान दिनुपर्ने बताए ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका निर्देशक पदमलाल लामिछानेले उपभोक्तालाई गुणस्तरीय सामग्री उचित मूल्यमा उपलब्ध गराउने जिम्मेवारी व्यवसायीको पनि हो र यसमा कुनै लापरवाही सह्य नहुने बताए । उनले चाडपर्वको समयमा उपभोक्ताको माग बढ्ने भएकाले, सामग्रीको अभाव नहोस् भनेर वितरण प्रणालीलाई चुस्त बनाउनु अति आवश्यक रहेकोमा जोड दिए ।
बैठकले जिल्लामा सुरक्षा निकाय, नियमनकारी निकाय तथा सल्यान उद्योग वाणिज्य संघ लगाएतका संघसंस्थाहरूले जिल्लामा भित्राइने खाद्य सामाग्रीहरूको पैठारी ओसार पोसार तथा भण्डार समेतको समग्र आपूर्ति प्रणालीमा अवरोध हुन नदिन आवश्यक समन्वय र सहजिकरण गर्ने निर्णय गरेको छ । यस्तै चाडपर्वका लागि जिल्लामा भित्राइने खाद्यान्न, तरकारी, फलफूल, माछामासु लगाएतका उपभोग्य सामाग्रीहरूको सहज आपूर्ति सुनिश्चित गर्न, मूल्यवृद्धि तथा कालोबजारी रोक्न र उपभोक्ता ठगिने अवस्थाको अन्त्य गर्न उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, साल्ट ट्रेडिङ्ग, पशुसेवा कार्यालय, स्थानीय तहहरू लगाएतका नियमनकारी निकायहरूले आ–आफ्नो बजार अनुगमन प्रणालीलाई थप क्रियाशिल, व्यवस्थित र प्रभावकारी बनाउने पनि जिल्लास्तरीय बजार अनुगमन समितिको बैठकले निर्णय गरेको छ ।
उपभोक्ता हित विपरितका क्रियाकलाप भएमा त्यस्ता कार्य गर्ने जोकोहीलाई कानूनको दायरामा ल्याउनुपर्ने भन्दै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्यामलाल खरालले बजार अनुगमनलाइ नियमित र चुस्त बनाइने भन्दै उपभोक्ता अधिकार संरक्षणका लागि मिडियासंग सहकार्य गरिने जनाए । बैठकमा सल्यान उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र भण्डारीले जिल्लामा उदेश्य एउटा तर व्यापार अर्कै गर्ने, मूल्यमा एकरूपता नभएको, बधशालामा सरसफाइको समस्या, घुमन्ते व्यापारीको समस्या रहेको भन्दै समाधानका लागि आवस्यक मापदण्ड बनाउनुपर्नेमा जोड दिए ।
बैठकले चाडपर्व लक्षित बजार अनुगमन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको छ । साथै उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको अगुवाईमा शुक्रबार नै शारदा नगरपालिकाको खलंगा बजार क्षेत्रमा सरोकारवाला निकायहरूको सहभागीतामा बजार अनुगमन कार्य गरिएको छ । टोलिले मिठाई, फलफुल, कस्मेटिक, डेरी, हिटेल, किराना लगायतका १२ वटा पसलमा अनुगमन गरेर आवश्यक सुझावहरू प्रदान गरेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका सुचना अधिकारी ध्रुव बहादुर खत्रीले जानकारी दिए ।
प्रहरी नायव निरीक्षक केशर बहादुर न्यौपाने, करदाता सेवा कार्यालयका कर अधिकृत नविन कुमार वली, प्रदेश लेखा इकाई कार्यालयका लेखा नियन्त्रक जयप्रसाद पाण्डे, पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख गोविन्द महत, स्वास्थ्य सेवा कार्यालय सल्यानका डाक्टर आर्यन मानन्धर, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष शंकर केसी, मानवअधिकारकर्मी रामचन्द्र रेग्मी लगाएतको टोलिले बजार अनुगमन संगै विभिन्न सुझाव प्रदान गरेको थियो ।