ट्रेंडिंग:

>> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु

मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला

६ आश्विन २०८१, आईतवार
६ आश्विन २०८१, आईतवार

मानिसका लागि सबैभन्दा डरलाग्दो सत्य भनेकै मृत्यु हो । मृत्यु कहाँ हुन्छ? कहिले हुन्छ? र कसरी हुन्छ? भन्ने कुरा कसैले जानेको हुँदैन । त्यसैले पनि मृत्यु झनै रहस्यमयी छ । मान्छे जीवनको कुरा गर्न रुचाउँछ, तर, मृत्युको कुरा गर्न डराउँछ । मृत्युबारे सोच्न डाउँछ । मृत्युबारे सुन्न डराउँछ । मृत्युबारे कुरा गर्नु मुर्खता ठान्दछ । तर, आफ्ना परिवारका सदस्य, साथी वा चिनेजानेको मान्छे मरेको पनि देख्दछ । आफू पनि एक दिन मर्नु पर्दछ भन्ने पनि थाहा छ । यति हुँदा हुँदै पनि मृत्युबारे मानिस चर्चा गर्न र सुन्न पनि चाहँदैन ।
केही मानिसलाई मृत्यु भयानक र पीडादयक हुन्छ भन्ने लाग्छ । त्यसैले उनीहरू मृत्युबारे कुरा गर्न डराउँछन् । मृत्युबारे सुन्न र कुरा गर्न रुचाउँदैनन् । अर्का थरि हुन्छन् जसले सबैलाई मर्नु पर्दछ । मर्नैपर्ने कुरालाई कति टाउको दुखाउने भन्ने उनीहरूको मान्यता पनि हुन्छ । तर यी दुबै मनस्थितिलाई उचित मान्न सकिँदैन किनकि यी दुबै खाले मानिस मृत्युको तयारीका निम्ति जुटेका हुँदैनन् । मृत्युबारे सजग हुनु र बुझ्नुले हामीलाई मृत्युको लागि तयारी अवस्थामा राख्दछ । जसले गर्दा मृत्यु सहज हुनुका सथै जीवन पनि सार्थक बन्न सक्दछ ।

मृत्युबारे सचेत मान्छे मात्रै जीवनबारे पनि सजग र सचेत हुनसक्छ । उसैले नै जीवनलाई सार्थक बनाउने प्रयास गरेको हुन्छ । कति लामो जीवन बाँचियो भन्दा पनि कति गुणस्तरीय जीवन बाँचियो, त्यो अर्थपूर्ण हुन्छ । त्यसैले जसले मृत्युलाई बुझेको छ र मृत्युबारे सचेत छ । उसैले नै जानेको हुन्छ, पछुतो नहुने गरी जीवन ज्यून । गुणस्तरको जीवन ज्यून ।

जातस्य हि ध्रुवो मृत्युध्रुवं जन्म मृतस्य च ।। (गीता २।२७।) जन्म–मृत्युको प्रक्रियाबाट कोही छोडिन सक्दैन । जन्मेपछि अवश्य मर्नुपर्दछ । मृत्युको विकल्प छैन । मात्र ढिलोचाँडो हो । मृत्यु आकस्मिक हुने भएकाले मृत्युबारे मानिस सजग हुँदैन । मृत्युबारे सजग नहुँदा जीवनबारे पनि सहजग भइदैन । त्यसैले मृत्युको सही तयारीको विकल्प नै छैन । मृत्युको सही तयारी नै सही जीवन हो । त्यसैले जीवन बाँच्ने एउटा कला भएजस्तै मृत्यु पनि एक प्रकारको कला नै हो ।

ठिकसँग बाँच्न नजान्नेहरू ठिकसँग मर्न पनि जान्दैनन् । जीवनलाई ठिक राख्न सक्नेले नै ठीकसँग मृत्युलाई स्विकार्दछन् । जीवनको अन्तिम गनतब्य मृत्यु हो । मृत्यु नहुँदो हो त जीवनको महत्व पनि हुँदैनथ्यो सायद । मृत्यु भएर नै जीवनको महत्व पनि भएको हो । मृत्युलाई बुझ्नेहरू कुकर्मबाट डराउँछन् । करुणाभावमा अरूको हित गर्न अघि सर्दछन् । अरूलाई नि आफूजस्तै देख्दछन् । अरूको खुसीमा आफ्नै खुसी देख्दछन् । तर, मृत्युलाई विर्सनेहरूमा अहमता झाँगिदै जान्छ । अरूलाई दुःखी बनाएर भए पनि आफू खुसी हुन चाहन्छन् । त्यसैले सही जीवन यापनको कला नै मृत्युको तयारी हो ।

महाभारतमा उल्लिखित ‘यक्षको प्रश्न’को सन्दर्भ निकै मननीय छ । पानीको खोजीमा गएका पाण्डवका चार भाइले यक्षको प्रश्नलाई इन्कार गरी पानी पिउँदा पालैपालो मृत्युवरण गर्छन् । तर, सालिन र धैर्यवान युधिष्ठिर पानी पिउनुअघि यक्षको प्रश्न सामना गर्न तयार हुन्छन् । यक्षले युधिष्ठिरलाई गरेका प्रश्नहरूमध्ये एउटा प्रश्न यस्तो थियो– ‘यो संसारको सबैभन्दा ठूलो आश्चर्य के हो ?’ जवाफमा युधिष्ठिर भन्छन्– ‘अरू मरेर गएको देखेर पनि आफूलाई चाहिँ अजम्वरी ठान्ने मान्छेहरूको मूर्खता यो संसारको सबैभन्दा ठूलो आश्चर्य हो ।’
जसरी विहान भएपछि रात अनिवार्य हुन्छ, जसरी सुन्दर फूल पनि फुलेपछि एकदिन अवश्य ओइलाउँछ र झर्छ, ठीक त्यसैगरी जीवन पनि एक दिन मृत्युमा बदलिन्छ । त्यसैले मृत्यु पनि एक प्राकृतिक कृया हो । बुद्धले पनि हरेक चिज अनित्य छ भनेर बताउनु भएको छ । मानिसका हरेक कोश र तन्तुहरू प्रतिक्षण परिवर्तन हुन्छन् । जुन कुरा विज्ञानले पनि प्रमाणित गरेको छ । त्यसैले मानिस हुन् या अन्य प्राणी वा चिज वस्तु, सबै अनित्य छन् । अजम्बरी छ्रैनन् ।

मलामी जाँदा चितालाई देखेर मानिसको अन्तिम गन्तव्य यही हो भन्दै जीवन र मृत्युप्रति अनेक दर्शनका कुरा हुने गदैछन् । तर, मलामीबाट फर्केको केही समय नबित्दै भौतिक जीवनप्रति आशक्त भएर मृत्युलाई भुल्छ । २६ सय वर्ष पहिले राजकुमार सिद्धार्थले मरेको मान्छे देख्दा दुःखको कारण र निवारणका उपाय खोजी गर्न घर, परिवार, दरबार सबै त्याग गरे । पछि उनले ध्यान साधना मार्फत् बुद्धत्व प्राप्त गरे । आज बुद्धको रूपमा सारा संसारले उनी र उनको शिक्षालाई सम्झिरहेको छ ।

बुद्धले मृत्युलाई अन्तिम समाप्ति नभएर पुनर्जन्मको चरणका रूपमा हेर्नुभएको छ । जन्म, मृत्यु, र पुनर्जन्मको यो चक्रलाई बौद्ध शिक्षामा भवचक्र भनिएको छ । निर्वाण (मुक्ति) प्राप्त व्यक्तिले यस्तो भवचक्रको बन्धनबाट मुक्त हुन सक्दछन् । शील, समाधी र प्रज्ञामार्फत् निर्वाण प्राप्त गर्न सकिन्छ । बौद्ध दृष्टिकोणमा मृत्युको सामना गर्ने क्रममा मनलाई शान्त राख्ने, विपश्यना ध्यानमार्फत् प्रज्ञा लाभ गर्ने कुरामा जोड दिइन्छ । हिमाली बौद्ध परम्परामा त मृत्युको घडीमा फोवा अभ्यास गर्ने चलन छ । यस अभ्यासमा मरणासन्न व्यक्तिलाई विभिन्न धार्मिक ग्रन्थहरूको पाठ गरी सुनाउने र देवी देवताहरूको स्त्रोत आदि पाठ गर्ने परम्परा छ । जसरी हिन्दू परम्परामा मर्ने बेलामा नारायणको नाम जप्नाले स्वर्गमा पुग्न सकिन्छ भन्ने विश्वांस गरिएको छ, ठीक त्यस्तै किसिमले हिमाली बौद्ध परम्परामा फोवा अभ्यास गराइन्छ ।

मृत्युपछि राम्रो पुनर्जन्म वा मोक्ष प्राप्त गर्न, जीवनभर नै शील, समाधि, र प्रज्ञाको अभ्यास गर्नुपर्ने बौद्ध धर्मले सिकाउँछ । यसले मानिसलाई मृत्युको समयमा आत्मसंयम र धैर्य राख्न मद्दत पुर्याउँछ । सार्थक मृत्यु भनेको बौद्ध धर्ममा सद्गुण, ज्ञान र ध्यानको अभ्यास गर्दै शान्त मनस्थितिमा मृत्युको सामना गर्नु हो । यस्तो अभ्यासले पुनर्जन्मलाई कुशल बनाउन मद्दत गर्छ ।

बुद्ध शिक्षाबाट मृत्युको तयारी सिक्न सकिन्छ । चित्तलाई शुद्ध बनाई क्लेश, मोह, राग, द्वेशबाट मुक्त बनाउन बुद्ध शिक्षाले मद्धत गर्दछ । बुद्धले जीवनको अनित्यतालाई स्वीकार गर्न जोड दिनुभयो । सचेत भई (माइनफुल्ली) जीवन यापन गर्न सिकाउनु भयो । बुद्धको शिक्षा अनुसार, जन्म, बुढ्यौली, रोग र मृत्यु जीवनका अकाट्य सत्य हुन्, जसबाट मानिस भाग्न सक्दैन । तर, यसलाई बुझ्न भने सक्दछ । जीवनको अनित्यता बुझेर सबैको कल्याणका निम्ति समर्पित हुनु महायान बौद्ध धर्मको मूल मर्म हो । त्यसैले बौद्ध धर्मले जीवन ज्यूने कला सिकाउँदछ । अर्काेतिर जीवन ज्यूने कला भनेको पछुतोविनाको आनन्दको मृत्यु हो । जसलाई जीवन र जगतप्रति मोह रहन्छ, उसैलाई मृत्युसँग डर लाग्छ । जब, यो जगत अनित्य छ भन्ने बोद्ध हुन जान्छ, तब मानिसमा मृत्युप्रतिको भय हराउँछ । मृत्युलाई भयरहीत बनाउन सिकाउने शिक्षा नै बौद्ध धर्मको सुन्दरता हो ।

सर्पले टोकेर मरेको छोरो ब्यूँताउन किसा गौतमीले अनेकौँ प्रयास गरिन् । आफ्नो एक मात्र सन्तान मरेकोमा कति दिनसम्म उनको बिलौना थामिनसकेन । कसैले उनलाई बुद्धको दर्शन गर्न सुझायो । शोकाकुल हृदयसहित शव लिएर उनी बुद्धलाई भेट्न गइन् । बुद्धले गौतमीलाई जीवन क्षणभङ्गुर छ भनेर ज्ञान दिन थालेनन् ! बुद्धले उनलाई एक मुठी अनाज ल्याउन भने । उनले त्यस्तो घरबाट मात्र अन्न ल्याउनू जुन घरमा कोही मरेका छैनन् भनी सर्त पनि राखे । किसा गौतमी दिनभर गाउँ घुमिन् । कोही पनि नमरेको घर फेला पार्न सकिनन् । अन्त्यमा उनी निराश भएर फर्किइन् ।

संसारको नियति स्वयंले देखिसकेकी गौतमीलाई बुद्धले सुझाए–“मृत्युको दुःखले संसार पीडित छ । जन्म–मृत्युको चक्र निरन्तर चलिरहन्छ । तिमी पुत्र शोक बिर्सेर धर्मको शरणगमन गर ।” किसा गौतमीले शोक त्यागेर धर्मको शरण लिइन् र दुःखबाट मुक्त भइन् । यो बौद्ध जातक कथाले पनि जीवन र मृत्यु दुबैप्रति समभाव राख्न सिकाएको छ ।

बुद्धले मैत्री, करुणा, मुदिता र उपेक्षाको भाव जागृत गराई उच्चस्थानमा विहार गर्न सकिने बताउनु भएको छ । आनापाना, विपश्यना आदि ध्यानबाट चित्तमा ब्रम्हविहारको विकास गर्न सकिन्छ । जसरी हामी ऐनाअघि उभिएर आफ्नो शरीर हेर्छौँ र कस्तो देखिएको छु भनी मुल्यांकन गर्दछौँ, ठीक त्यस्तै गरी हामीले ध्यानबाट आफ्नो चित्तलाई हेर्न सक्छौँ । यसलाई शुद्ध पार्न प्रयास गर्न सक्छौँ । मनभित्र रहेका कलुसहरू हटाउन र चित्तलाई सफा बनाउन प्रेरित गर्ने भएकाले बौद्धदर्शनमा ध्यानलाई त्यसमा पनि विपश्यना ध्यानलाई विशेष महत्व दिने गरिन्छ । चित्त शुद्ध बनाउन, चित्तमा विनय र शीलको विकास गर्न बौद्ध शिक्षा अपरिहार्य छ ।

मृत्युलाई सहज बनाउनु नै मृत्युको तयारी हो । यसका लागि हामीले जीवन र जगतको अनित्यता स्वीकार गर्नु पर्दछ । सबै कुरा अस्थायी हुन् भन्ने सत्यलाई गहिराइमा बुझ्न सकेमा मृत्युको भय घट्छ । त्यसैगरी मृत्युलाई सहज बनाउने अर्काे उपाय भनेको ध्यान र प्रज्ञाको अभ्यास हो । नियमित ध्यानले मृत्युको समयमा मनलाई शान्त राख्न मद्दत गर्छ । यो समयमा चित्त जति शान्त रहन्छ, त्यति नै मृत्यु सहज बन्दछ । बौद्ध शिक्षाले सिकाउने अर्काे महत्वपूर्ण विषय भनेको कर्मको सिद्धान्त हो । बौद्ध धर्ममा सकारात्मक कर्म गर्नाले त्यसको परिणाम पनि सकारात्मक हुने र जीवनभर यस्तो कर्म गर्नसके पुनर्जन्ममा पनि राम्रो हुने विश्वांस गरिन्छ । यसले पनि मानिसलाई चित्तको शुद्धिकरण गर्दै शान्त र भयरहीत मृत्यु सिकाउँछ । मृत्युलाई सहज र सार्थक बनाउन मद्दत गर्दछ ।

[email protected]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?