© २०२३
‘श्राद्ध’ शब्दको उत्पत्ति श्रद्धाबाट भएको हो। देश काल तथा पात्रको विचार गरेर विधिपूर्वक जौ,तिल कुश आदिद्वारा मन्त्र सहित हविष्यविधिद्वारा पितृका लागि गरिने कर्म नै श्राद्ध हो। यसै सन्दर्भमा महर्षि वृहस्पतिको भनाई छ कि पितृको खुसीका लागि दूध, घ्यू र महको साथ ब्राह्मणलाई भोजन दान दिने कर्म नै श्राद्ध हो। अर्थात मंत्रोच्चारण पूर्वक जौ,तिल,कुश सहित गरिने कर्म श्राद्ध हो भने श्राद्धमा मिठो सात्विक भोजन पकाई मह, घ्यू र दूधका साथ ब्राह्मणलाई श्राद्धमा दान दिनु पर्छ वा ब्राह्मणलाई भोजन गराउनु पर्छ।
पार्वण श्राद्ध आफ्नो पितृको मृत्यु महिना र तिथिमा गरिने श्राद्ध हो। हरेक वर्षमा आफ्ना माता तथा पिताको देहान्त भएको महिना पक्ष र तिथिका दिनमा गरिने श्राद्ध लाई पार्वण श्राद्ध भनिन्छ। यदि त्यस दिन कुनै कारणले गर्न नसकिएमा औंसीका दिन गरिने श्राद्धलाई पनि पार्वण श्राद्ध भनिन्छ।यहाँ यो कुरा जान्नु आवश्यक छ कि हाम्रो १ वर्ष पितृको १ दिन हुन्छ। त्यसकारण हरेक वर्ष हामीले गर्ने पार्वण श्राद्धले गर्दा पितृलोकमा रहेका पितृले हरेक दिन भोजन प्राप्त गर्छन्।
हरेक वर्ष आश्वीन महिनाको कृष्ण पक्षलाई पितृपक्ष भनिन्छ। त्यस पक्षमा आफ्नो पितृको मृत्यु तिथिमा गरिने श्राद्ध नै सोह्र श्राद्ध हो। नवदुर्गामा भगवतीको उपासना गरिन्छ, शिवरात्रीमा भगवान शिवको, रामनवमीमा भगवान रामको उपासना गरिन्छ। त्यस्तै गरी आश्वीन महिनाको पितृ पक्षमा पितृहरुको उपासना गरिन्छ। पार्वण श्राद्धमा पितृलाई भोजन उपलब्ध गराउने गरिन्छ भने पितृ पक्षमा गरिने श्राद्ध पितृ भक्तिको लागि अर्थात पितालाई खुसी तुल्याउन हो। पितृ पक्षमा गरिएको श्राद्धले पितृजन खुसी हुन्छन र पितृले आयु आरोग्य पुत्र र ऐर्श्वर्य प्राप्तहोस् भनी आर्शिवाद दिन्छन्। पितृगण हरेक वर्ष पितृपक्षको प्रतीक्षामा हुन्छन् । के पनि भनिन्छ भने पितृगण आफ्नो सन्तानको निवास वरपर घुमिरहेका हुन्छन्। त्यस वेला श्राद्ध गरी ब्राहमण भोजन गराएमा पितृ खुशी हुन्छ र आर्शिवाद दिन्छन्। तर यदि आफ्ना सन्तानले त्यस पक्षमा श्राद्ध नगरेमा पितृ निराश हुन्छन् । कठोर श्राप दिएर पितृलोकमा फर्केर जान्छन् भनेर शास्त्रहरुमा वर्णन गरिएको छ । पितृलोकमा रहेका पितृहरुले हाम्रा सन्तानहरुको हरेक गतिविधिलाई अवलोकन गरिरहेका हुन्छन्। यतिमात्र नभई सन्तानको पात्रता, उनका कर्म र गतिविधि अनुसार आर्शिवाद र श्राप दिने गर्दछन् । त्यसैले भनिन्छ कि देवताले दिएपनि पितृ वेखुसी भए पितृले हरण गर्न सक्छन्।
विष्णु पुराण, गरुड पुराण, कूर्म पुराण आदि ग्रन्थमा श्राद्धको महत्वको विषयलाई व्यापक चर्चा पनि गरिएको छ । गरुड पुराणमा उल्लेख भएअनुसार जसले एकाग्र भएर श्रद्धा पूर्वक पितृका लागि श्राद्ध गर्छ भने पितृ कुलको र मातृ कुलका पितृहरुले आयु, पुत्र ,स्र्वर्ग, कीर्ति, वैभव र धनधान्य प्रदान गर्दछन्। यस्तैगरी कूर्मपूराणमा उल्लेख भए अनुसार श्राद्ध गरेमा समस्त पापबाट मुक्त भएर जन्म मरणको चक्रबाट मुक्त हुन्छन्।
श्राद्ध आफ्नै घरमा गर्नुपर्छ, अर्काको घरमा गर्न निषेध छ । श्राद्धमा तीन वस्तु पवित्र मानिन्छन्:- छोरीको छोरा (नाति), दिनको आठौं भाग र कालो तिल । श्राद्धमा तीन प्रशंसनीय कुरा छन् :- बाहिरी र भित्री शुद्धता, क्रोध नगर्ने र हतार नगर्ने । श्राद्धकालमा गीता, भागवत, पितृसूक्त, पितृसंहिता, रुद्रसूक्त, ऐन्द्रसूक्त आदि पाठ गर्नु बुद्धि, मन र कर्म तीनै कुराको शुद्धिका लागि फलप्रद रहने शास्त्रमा बताइएको छ । कुनै पनि श्राद्धमा गङ्गाजल, दूध, मह, तोरीको साग, छोरीको छोरो (दौहित्र), कुश र तिल अत्यन्तै महत्त्वपूर्ण मानिन्छन् । यसबाहेक श्राद्धमा प्रयोग गरिएको तुलसीको मञ्जरीबाट पितृगण प्रलयकालपर्यन्त प्रसन्न रहन्छन् भन्ने गरिन्छ र पिण्डको भित्री भागमा तुलसीको मञ्जरी लुकाउने चलन पनि छ । यसरी मञ्जरीको उपयोग गरेमा पितृगण गरुडमा सवार भई सीधै विष्णुलोक पुग्दछन् भन्ने मान्यता छ । विभिन्न पुराणहरुका अनुसार घरमा अन्य वस्तु नभएमा साग द्वरा भएपनि पितृका लागि श्राद्ध गरेमा पितृ खुसी हुन्छन् र आर्शिवाद दिन्छन्। श्राद्धबाट पितृमात्र खुसी हुने होइन ब्रहमा, इन्द्र, रुद्र, सूय, अग्नि, ऋषि सबै तृप्त हुन्छन् भनेर विष्णु पुराणमा वर्णन गरिएको छ। जो मनुष्य वर्षमा १ दिन भए पनि पितृका लागि श्राद्ध गर्छ भने पितृगण वर्षभरी सन्तुष्ट हुन्छन्। देवल स्मृति ग्रन्थमा उल्लेख भए अनुसार श्राद्ध गरेमा श्राद्धकर्ता निरोगी, दीर्घायु र ऐर्श्वर्यवान् हुन्छन् र लक्ष्मी खुसी हुन्छिन्। आजभोलि हामीले कसैको मृत्यु भएको मितिमा विभिन्न कार्यक्रमको आयोजना गरी जयन्ती मनाएझैँ विधिपूर्वक मंत्रोच्चारण सहित गरिएको दिवंगत अत्मालाई संझेर गरिने कर्म नै श्राद्ध हो। हामीलाई जन्माउने र हुकाउने माता पिताको संझनामा कम्तीमा वर्षमा एकपटक स्मरण गरी श्राद्ध कर्म गर्नु सन्तानको परम कर्तव्य पनि हो ।
कतिपय व्यक्तिहरु भन्ने गर्दछन् हामीले दिएको खाना र पिण्ड पितृले कसरी पाउँछन्, यो त अन्ध विश्वास मात्र हो। फेरि कतिपय व्यक्तिहरु तर्क गर्ने गर्दछन् कि पुनर्जन्म को सिद्धान्त अनुसार मृत्यु पछि आत्माले अको शरीर धारण गर्छ। अको शरीर धारण गर्नु पर्दा मनुष्य पशुपंक्षी वा किरा आदि प्रजातिमा पनि जन्मेको हुन सक्छ। यस अवस्थामा हामीले दिएको पिण्ड र खाना ती पितृले कसरी प्राप्त गर्छन् त भन्ने पनि प्रश्न उठने गर्छ। यस प्रश्नका सम्बन्धमा के भनिन्छ भने जसरी हामीले चिठी लेखेर खाममा ठीक दुरुस्त ठेगाना लेखेर हुलाकी बाकसमा राख्यो भने त्यो व्यक्ति जहाँ भए पनि त्यस व्यक्तिले चिठी पाउँछ। त्यसरी नै श्राद्ध गर्दा स्पष्ट शुद्धसँग पितृको राशि, नाम ,गोत्र उच्चारण गरी पिण्ड दान गरेमा सूक्ष्म रुपमा त्यो पिण्ड पितृले पाउँछन्। श्राद्ध गर्दा ऊ मनुष्य पशु पंक्षी आदि जुनसुकै योनीमा जन्म भएको भए तापनि त्यस योनीले खाने खानाका रुपमा अप्रत्यक्ष रुपमा ती पितृले प्राप्त गर्छन्। गाई ,भैंसी आदि पशु भए घाँसका रुपमा प्राप्त गर्छन् भने मंसाहारी पशु भए मासुका रुपमा प्राप्त गर्दछन्। हरेक धर्म र सम्प्रदायमा आफ्ना दिवंगत माता पिता एवं पितृहरुलाई सम्मान गर्ने र स्मरण गर्ने विधि विधान र परम्परा हुन्छ। हाम्रो देशमा पनि विभिन्न जातजाति र धर्मावलम्बीले आफ्नै कुल परम्परा अनुसार पितृको स्मरण गरी राखेका हुुन्छन्। कसैले पनि कुनै एक निश्चित विधि मात्र निर्विकल्प विधि हो भनेर दावी गर्न मिल्दैन र सक्दैन पनि । यहाँ मुख्य कुरा के हो भने दिवंगत पितृ जुन धर्म र संस्कार मा जन्म्यो हुर्कियो र दिवङ्गत भयो उसलाई त्यही पद्धतिबाट काजक्रिया आदि अन्तिम संस्कार गर्नु पर्ने हुन्छ र काजक्रिया पछि गरिने श्राद्ध आदि संस्कारहरु गर्नु पर्ने हुन्छ ।
आजभोलि श्राद्धलाई ऐच्छिक कर्मका रुपमा लिने अर्थात् महत्त्व नदिने चलन पनि यदाकदा देखिन थालेको पाइन्छ । यसरी हामीले शास्त्र र परम्परा माथि नजरअन्दाज गर्ने, विभिन्न शङ्का उपशङ्का गर्ने र केवल भौतिकवादी चिन्तन गर्दा आफुले पनि दुःख पाउने र दिवंगत पितृहरुले पनि दुःख पाउने सम्भावना हुन्छ । अतः श्रद्धा भक्तिपूर्वक आफ्नो क्षमता अनुसार श्राद्ध गर्न सके सबैको भलो हुन्छ । अहिले भौतिकवादी चिन्तनले गर्दा दिवंगत व्यक्तिको काज क्रिया नगर्ने र श्राद्ध पनि नगर्ने प्रवृत्ति बढ्दै गएको छ । यसले गर्दा आत्माले प्रेत भएर दुःख पाउँछन र आफुले दुःख पाएपछि आफ्ना परिवारजनलाई पनि श्राप दिने गर्दछन् भन्ने भनाई छ । त्यसैले हामीले अफ्नो परम्परा अनुसार पितृको सम्मान गरौँ; यसैमा सबैको कल्याण निश्चित छ ।