© २०२३
बुटवल,२१ पुस । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसीको सुनुवाइ आज बिहीबार हुँदैछ।
उच्च अदालत, पाटनका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासको चौथो नम्बरमा पेसी छ।
पुस १४ गते उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको लामिछानेको निवेदन ‘हेर्न नभ्याइने’मा परेको थियो।
त्यसभन्दा अगाडि परेको पेसी सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए।
बलात्कारको आरोपमा लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ।
सन्दीप पक्षका वकिलले आवश्यक सबै प्रमाणहरू अदालतसमक्ष बुझाइसकेका छन्।
राष्ट्रिय टिमका क्रिकेटर शरद भेषवाकर र आरिफ शेखले बलात्कार आरोपमा जेलमा रहेका पूर्वकप्तान सन्दीप लामिछानेलाई न्याय हुनुपर्ने बताएका छन्।
उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै सन्दीपलाई न्याय हुनुपर्ने बताएका हुन्।
नाबालिकालाई बलात्कारको आरोप लागेपछि सन्दीप पुर्पक्षका लागि थुनामा छन्। जिल्ला अदालत काठमाडौँले गत कात्तिक १८ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। सो आदेश अनुसार उनलाई केन्द्रीय कारागारमा राखिएको छ।
उनी मानसिक रूपमा कमजोर बनेको भन्दै मनोविदको परामर्शसमेत दिन सुरु गरिएको छ। यहीबीच उनका क्रिकेट समर्थकहरूले जस्टिस फर सन्दीप लामिछाने ह्यासट्याग अभियान नै सञ्चालन गरेका छन्।
जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन्।