© २०२३
भैरहवा, २१ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा चौपायालाई ट्रकमा बांधेर घिसारेपछि नगरपालिकाको आलोचना भएको छ । छाडा चौपाया व्यवस्थापन अभियान सुरु गरेको सिद्धार्थनगरले लु १ ग ३६२ नम्बरको ट्रकको पछाडी बांधेर सांढेलाई घिसार्दै गरेको तस्वीर सामाजिक संजाल फेसबुकमा सार्वजनिक भएसँगै आलोचना तथा विरोध भएको हो ।
तस्वीरमा नगरपालिकाको ट्रकको पछाडीको भागमा चौपाया डोरीले बांधेर घिसार्दै गरेको देखिन्छ । केही समय पहिला पनि बुद्धचोकमा गाईलाई ट्रक पछाडि बांधेर लगेको दृश्य सामाजिक संजालमा सार्वजनिक भएको थियो ।
छाडा चौपाया व्यवस्थापन गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लगिएको भन्दै भैरहवाका स्थानीय युवाहरुले बुधबार सांझ नगरपालिका कार्यालय अगाडी नाराबाजी समेत गरेका थिए ।
नेकपा ९एमाले० सिद्धार्थनगरका सचिव तथा भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले जिउँदो गाईलाई रगताम्य गराउँदै बाँधेर ट्रकले तानेर लैजान नपाइने बताए । उनले यसबारे नगरप्रमुखले जवाफ दिनुपर्ने बताए ।
अधिवक्ता प्रख्यात बन्जाडेले भने, ‘गाई गोरू व्यवस्थापन गर्ने नाममा यो कुन पारा हो सिद्धार्थनगर नगरपालिकाको ? ’
छाडा चौपाया व्यवस्थापनको नाममा चौपायालाई ट्रकको पछाडि बाँधेर घिसार्न नपाइने भन्दै उक्त कार्यमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन समेत स्थानीयले माग गरेका छन् ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख ९मेयर० इश्तियाक अहमद खानले दोषी कर्मचारीलाई कारवाही गर्ने दावी गरे ।