© २०२३
बुटवल,१७ पुस । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दिनभर पोखरामा हुने भएका छन् ।
प्रधानमन्त्री बिहान ११ बजे पोखरा पुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराले जनाएको छ । उनका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि पोखरा पुग्ने कार्यक्रम छ । प्रमुख गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ताम्र पत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्नेछन् ।
विमानस्थल सञ्चालनमा आउने पहिलो दिन आज काठमाडौंबाट यात्रुसहित उडेको पहिलो विमान ७ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए । उद्घाटन समारोहमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।
उद्घाटनपश्चात् दिउँसो २ बजेदेखि ४ बजेसम्म विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ भने ४ बजेदेखि ५ः५० बजेसम्म फेसन शो को कार्यक्रम तय गरिएको छ । साँझ ६ बजे कार्यक्रमको समापन हुने महासचिव सिग्देलले जानकारी दिए।
विमानस्थल शुभारम्भकै अवसरमा पोखराको हल्लनचोकमा साँझ ६ बजे भैरव नाच प्रदर्शन गर्ने तयारी गरिएको छ । उद्घाटन भव्य बनाउन पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका महाशाखा, ३३ वडा कार्यालय, मातहतका सबै विद्यालय तथा शैक्षिक संस्था बन्द हुने जनाएको छ ।