© २०२३
बुटवल भैरहवा सडक खण्डको एउटा बस स्टेशन । चिन्नेगरी नाउले भन्नुपर्दा नयाँ मील । यस क्षेत्रमा यात्रा गर्ने, घुम्न आउने, बसोबास गर्नेले यो ठाउँको नाउ नसुनेका र नदेखेका कमै होलान ।
ठाउँ पुरानो भैसक्यो । नाम रहन गएको बस्तु नै थोत्रिइसक्यो ।
तर नाउँ भने सधै नयाँ, नयाँ मील छ ।
नयाँ मीलले तिलोत्तमा नगरपालिका वडा नं.४ मा पर्ने एक चोकलाई परिचित गराएको भएपनि ठाउँको बिगतबारे कमैलाई थाहा छ । नयाँ मिल नामले परिचित गराउने मील र मील रहेको घर थोत्रिएर संग्राहलयमा राख्न मिल्ने भएका छन् । मीलका मालिक बल्ल तल्ल लठ्ठीको भरमा हिड्छन् । तर ठाउँको नाम नयाँ मीलबाटै परिचित छ । ८२ बर्षका मीलका मालिक हिमलाल पोख्रेल भन्छन्, ठाउँ ठेगानाको नाउ सधै नयाँ छ, म बुढो भए मील पनि थोत्रियो । पोख्रेलका अनुसार उनले मील लिएको ५२ बर्ष पूरा भइसकेको छ । त्यस अघि चार जनामा किनबेच भएको मीलको मुख्य स्थापनाकर्ता भने सोमनाथ थारु भएको पोख्रेल बताउँछन् । त्यतिलेला खपडाको घर सहित सुविधासम्पन्न ठानिने मील अहिले भनि सडक उच्चा हुदा भासिएजस्तै देखिन्छ । वरपर पक्की र डिजाइनदार घर बन्दा नयाँ मीलको नामले परिचित मील गरिबको ओतलाग्ने कटेरो जस्तै देखिन्छ ।
कुटानी, पिसानी, तेलहानीको सेवा दिदै आएको मील अहिले पिसानीमा मात्रै सीमित भएको छ । डिजेलबाट चल्ने गरेको मील अहिले विद्युतबाट चल्छ । दैनिक रुपमा कुटानी, पिसानीमा पालो नपाइने मील अहिले फाटफुट रुपमा दाल, दाना र पिठो पिस्नका लागि चल्ने गर्दछ । तीन छोरी र एक छोरा पनि विदेश छन् । मील र पोख्रेललाई रेखदेख विष्णु पौडेलले गरिरहेका छन् ।
कुटानीको आधुनिक मेशीन नआउँदा उनले मान्छेले कुट्ने ढेकी आकारमा स्थानीय मिस्त्री प्रयोग गरी चारवटा ओखल मार्फत धान कुट्ने व्यवस्था गरेका थिए । ति ओखल र कुटिने स्थान अहिलेपनि मील रहेको कटेरोमै छ ।
५२ बर्षअघि मील सहित तीन कठ्ठा जमिन र घर एक लाख चार हजारमा किनेको पोख्रेल बताउँछन् । त्यतिखेर त्यो पैसा अति नै बढी थियो पोख्रेल भन्छन्, मैले मील किनेको सुनेपछि कति व्यक्ति यो मान्छेसँग कति धेरै पैसा रहेछ भनेर समेत मलाई हेर्न आए । अहिले भने उक्त जमिन दुबैतर्फको बाटोले लिदा करिब डेढ कठ्ठा रहेको उनि बताउँछन् । बुटवल भैरहवा सडक खण्डको नयाँमील चोकमै रहेको उक्त जमिनको मूल्य अहिले डेढ देखि दुइ करोड रहेको अनुमान स्थानीयको छ । बर्मामा पुख्र्योली रुपमा मैदा उद्योग चलाउँदै आएका पोख्रेल बर्मा सरकारले विदेशी नागरिकको नीजि सम्पत्ती राष्ट्यिकरण गरेपछि ९० दिन जेल कटाएर नेपाल आएका थिए ।
इतिहास बोकेको यो मील अब इतिहासमा मात्र सीमित हुदैछ । पोख्रेल भन्छन् कटेरो पनि टेको लगाएर राखेको छु यो बर्षा धान्ला जस्तो छैन अब हटाउने सोचमा छु । उनले कटेरो भत्काएर मील हटाएपनि चोकमा मीलको नक्शा (फोटो) बनाएर राख्ने बताए । यो ठाउँको नाम नै यो मीलबाट रह्यो पाख्रेलले भने, मील नै नरहने भएपछि नक्शा बनाएर राख्ने सोच बनाएको छु ।
पोख्रेल भन्छन् कटेरो पनि टेको लगाएर राखेको छु यो बर्षा धान्ला जस्तो छैन । यो ठाउँको नाम नै यो मीलबाट रह्यो पाख्रेलले भने, मील नै नरहने भएपछि चोकमा नक्शा बनाएर राख्ने सोच बनाएको छु ।
मीलका मालिक हिमलाल पोख्रेल