© २०२३
बुटवल,१० पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको एमाले, माओवादी केन्द्र सहितका दलहरुको वैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति गरेको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, राप्रपा, जसपा,नागरिक उन्मुक्ति लगायतका दलहरुको समर्थन जुटेको हो ।
‘प्रचण्डको नेतृत्वमा सरकार बनाउने १६६ सांसदको समर्थन जुटेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७ दिनको समय आज ५ बजे सकिंदैछ । यसअघि माओवादीले कांग्रेससंग पहिलो खेपमा प्रधानमन्त्री मागेर गठबन्धन गर्न खोजेको थियो । तर कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दिन नमानेपछि माओवादी एमालेसंग मिल्न गएका हुन् ।
प्रधानमन्त्रीपछिको मुख्य दुई पद राष्ट्रपति र सभामुख भने एमालेले पाउने गरी सहमति जुटेको एक नेताले बताए ।
एमाले र एमाओवादीसहित कम्तीमा ५ वटा दलहरु आगामी सरकारमा सहभागी हुने भएका छन् ।
संसदको चौथो ठूलो दलका रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान सकारात्मक छ । यसैगरी जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी पनि इच्छुक छन् ।