© २०२३
बुटवल ५ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेतामा दिएको उम्मेदवारी फिर्ता लिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर देउवाविरुद्ध संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गरेपछि महामन्त्री थापाले शान्त मनले सोच्न र आफ्नो उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय लिन सभापति देउवालाई आग्रह गरेका हुन् । उनले देउवाका प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि कांग्रेसको भविष्यप्रति चिन्ता गरेर परिवर्तनको सन्देश मनन गर्न आग्रह गरेका छन् ।
गगनको प्रस्तावकमा डा. शेखर कोइराला छन् भने समर्थनमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल छन् ।
उनीभन्दा अगाडि सभापति देउवाले आफ्नो उम्मेदवारी दर्ता गरेका थिए । देउवाको प्रस्तावक रामचन्द्र पौडेल रहेका छन् । यसले कांग्रेसभित्र पाको पुस्ता र युवा पुस्ताबीच स्पष्ट कित्ताकाट भएको छ । देउवा छैठौंपटक प्रधानमन्त्री बन्ने दाउमा छन् । कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते बुधबार हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।