© २०२३
बुटवल, ५ पुस । मानव सेवा आश्रमले आश्रमको भवन निर्माण पुरा गर्न र अक्षयकोष स्थापना गर्न रकम संकलन गर्ने उद्देश्यले बुटवलमा नेपथ्य कन्सर्ट गर्ने भएको छ । आश्रमले पुस ९ गते बुटवल रामनगरस्थित मानवज्ञान माविको खेल मैदानमा कन्सर्ट आयोजना गर्न लागेको हो । कन्सर्टमा चर्चित गायक अमृत गुरुङ र नेपालयका किरण श्रेष्ठ, अर्पण शर्मासहित कलाकार र प्राविधिक समेत गरि ७० जनाको टोलीले दर्शकलाई मनोरन्जन प्रदान गर्नेछ ।
मानव सेवा आश्रम बुटवल शाखाले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी सहयोगापेक्षी सडक मानवहरुलाई आश्रय सहित उनीहरुलाई लालनपालन गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कन्सर्ट गर्न लागिएको जानकारी गराएको हो । आश्रमकी केन्द्रीय महासचिव सुशिला केसीले तिलोत्तमाको भलबारीमा निर्माणाधीन आश्रमको भवन पूरा गर्न र कुल ५० करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले देशका १० शहरमा नेपथ्य कन्सर्ट आयोजना गरिएको बताइन् । कन्सर्टका संयोजक लोकनाथ भुसालले मानवता प्रवद्र्धनमा युवा पुस्ताको सहभागिता बढाउन युवा कन्सर्ट गर्न लागेको बताए । आश्रमकी लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले नेपथ्य कन्सर्टमा एक हजार रुपैयां दरका ६ हजार टिकट विक्रिबाट ६० लाख र अन्य संघसंस्थाबाट ब्यानर सौजन्य र सहयोग गरी एक करोड रुपैयां संकलन गरी ६० लाख वचत गर्ने लक्ष्य लिइएको बताइन् । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले सरकारले गर्ने काम मानव सेवा आश्रमले गरिरहेकाले आश्रमको कार्यक्रम र अभियानमा तिनै तहका सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । कन्सर्टको सहआयोजक रहेको बुटवल उपमहानगरपालिकाले आश्रमलाई १५ लाख रुपैयां दिएको छ ।