© २०२३
बुटवल,३ पुस । तिलोत्तमामा सञ्चालित नमस्ते एकेडेमीमा विद्यार्थीमा अन्तरनिहित सिर्जनशील प्रतिभाहरु प्रष्फुटनका लागि नमस्ते क्रियटिभ फेस्टिभलको आयोजना गरिएको छ । एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा पुस ४ गते विद्यालयमा क्रियटिभ फेस्टिभल आयोजना गरिएको हो । विद्यालयमा कार्यरत ब्रिटिस शिक्षक मार्टिन स्कार्बकको प्रत्यक्ष संयोजनमा सञ्चालन हुने एक दिने फेस्टिभलको लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बीरबहादुर रानाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा १२ सम्मका विद्यार्थीले आफ्नो रुचि र क्षमता अनुसार सूचना प्रविधि र विज्ञान प्रदर्शनी, क्वीज, गायन, नृत्य, नाटक , आर्ट, क्राफ््ट ,पेन्टिङ्ख, कम्प्युटर गेम, खेलकुद प्रतियोगिता, फुड मेलाको प्रदर्शनी गर्ने विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुंवरले जानकारी दिए । फेस्टिभलमा वातावरणमैत्री विश्व निर्माण गर्नै पर्ने बाध्यात्मक अवस्थालाई बालबालिका माझ जानकारी गराउँदै पुनः प्रयोग गरिएका थुप्रै सामग्रीलाई अवलोकनका लागि राखिने छ । फेस्टिभलमा करिब साढे ४ सय विद्यार्थीका अभिभावकहरुको पनि सहभागिता रहने अपेक्षा गरिएको छ ।
विद्यार्थीको सिर्जनात्मक क्षमता उजागर गर्न विद्यार्थीकै अग्रसरतामा यस्तो फेस्टिभल पहिलोपटक आयोजना भएको र यसले विद्यार्थीलाई थप सिर्जनशील र खुशी बनाउने विद्यालयका प्राचार्य जिग्मे शेर्पाले बताए ।
विद्यार्थीको सृजनात्मक क्षमतालाई प्रस्फुटन गराउँदै २१ औँ शताब्दिको परिवेश अनुसार विद्यालयले आफ्नो छुट्टै सिकाइको पाठ्यक्रम तयार पारेको र बेलायतको विद्यालयमा पढाइने इनोभेसन तथा व्यावसायिक विषयलाई केन्द्रमा राखी स्थानीय परिवेशसँग एकीकृत गरिएको एकेडेमीका स्कुल हेड अरुण कंडेलले बताए ।
विद्यालयमा कार्यरत ब्रिटिस शिक्षक मार्टिन स्कार्बकले हरेक विद्यार्थीमा फरक किसिमको सिर्जनात्मकता , नवीनता र नेतृत्व क्षमता रहेकाले तिनलाई उजागर गर्न क्रियटिभ फेस्टिभल आयोजना गरिएको बताए ।