© २०२३
बुटवल, २४ मंसिर ।
“विदेशमा रहँदा कोरोनाको महामारी सुरु भयो । माहामारीमा उनको काम रोकियो । करिव पाँच महिना विदेशमा रोजगारी बिना बस्नु पर्यो । रोगको डर त्रासका बीचमा रोजगारी गुमाएर नेपाल आईपुगेको थिएँ”, भुवन भट्टराईले दुबइमा रहँदाको बखत कोरोना कहर सम्झिदै सुनाए । पाल्पाको रम्घा गाउँपालिकामा जन्मिएका भट्टराई करिब छ बर्षअघि रोजगारीका लागि विदेश गएका थिए । तर नेपाल फर्किएपछि अहिले उनी भैसीपालनमा रमाइरहेका छन् ।
उनी भन्छिन्, “यहाँ आएर पनि के गर्ने नगर्ने दोधारमा थिएँ । त्यसै बेलामा मेरो भिनाजु पंकज अर्यालले व्यावसायिक रुपमा भैसीपालन सुरु गर्नु भएको थियो । मलाई पनि सँगै मिलेर गरौं भनी विदेश नजान सल्लाह दिएर सम्झाउनुभयो । सुरुमा त होला र भन्ने लाग्यो । कोरोनाका कारणले विदेश जाने अवसर पनि पाइएन । त्यसपछि मैले पनि यहाँ उहाँसँग मिलेर केही गरौ भन्ने मनसाय बनाएर काम सुरु गरे ।”
“अहिले हामी कृषि फर्म नामाकरण गरेर फर्म दर्ता गरेर भैसी पालिरहेका छौ । हाम्रो फर्ममा अहिले ११ वटा माउ भैसी छन् । १० वटा पाडापाडी र एउटा गाई छ । यी सबै भैसी घरका परिवार मिलेर पालिरहेका छौं”–उनी भन्छन् । करिव तीन विगाह जमिन लिजमा बार्षिक एक लाख १० हजार रुपियाँ तिरेर भैसी पालिरहेका उनले महिनामा करिव ८० हजार रुपियाँको दाना खर्च गर्नुपर्छ । अरु बाँकी घाँस पराल त छँदै छ । खेतमा उन्नत जातको घाँस पनि रोपेका छन् ।
यो फर्ममा उनीसँगै बुवा, आमा, भिनाजु, भाई र अर्को एकजना आफन्तले काम गरेका छन् । “कामको जिम्मेवारी बाँडेर काम गर्छौं । त्यसमा बढी बुवा आमाले दैनिकै रेखदेख गर्नु भएको छ । अहिले नै हामीले अरुलाई रोजगारी दिन सकेका छैनौं । हामी आफैले काम गरे पनि सेवा सुविधा लिन सकेका छैनौं । सुरुवात भएकाले कसरी यसलाई दिगो बनाउने भन्नेमा भिनाजु सहित हामी सबैले योजना बनाई रहेका छौ”–उनको भनाई छ ।
रुपन्देही तिलोत्तमा नगरपालिका १० बेवरीमा उनको फर्म छ । यहाँबाट दैनिक ५५ लिटर दुध उत्पादन गरिरहेका भट्टराईले उत्पादन भएको दुध पनि यहीं नजिकै बजारमा बिक्री गर्दै आइरहेका छन् । “दुध पनि हामी आफैले ग्राहकको घर घरमा पु¥याउने व्यवस्था गरेका छौ । विहान मेरो भाईले दुध पु¥याउँछ भने साँझ भिनाजुले बिक्रीका लागि लैजानुहुन्छ । यो फर्म सञ्चालन गरेको बल्ल डेढ वर्ष महिना पुगेको छ”–भट्टराई भन्छन्, “विदेशमा बन्जर जमिनलाई उर्वर बनाएका छन्, हाम्रो त जमिन नै उर्वर छ, यहाँ काम गरी सुन फलाउन सकिन्छ । त्यसका लागि काममा जोस जाँगर र सीप आवश्यक पर्छ ।” विदेशको अनुभवले अव स्वदेशमै पसिना बगाउने र स्वदेशकै रुपियाँमा रमाउने शिक्षा मिलेको भट्टराईले सुनाए ।
यसरी पुरानै शैलीमा पशुपालन गरिरहेका भट्टरार्ईले नेपाल सरकार शिक्षा मन्त्रालयको अगुवाई, यु्एनडिपीको समन्वय र यूरोपियन यूनियनको सहयोगमा सञ्चालित १६० घण्टे पशुपालनसँग सम्बन्धित तालिम लिएपछि पशु स्याहार सम्बन्धी ज्ञान र सीप पाएको बताउँछन् । उनी भन्छन्, “हामीले पहिले पहिले पुरानै शैली हाम्रा बाउबाजेले जसरी काम गरे त्यसैको सिको गरेर पशु पालेको अनुभव तालिमपछि भयो । “मलाई जसरी पनि यहीं केही गर्ने हुटहुटी थियो त्यसमा मलाई भिनाजुको साथ रह्यो । त्यसपछि तालिमले त साच्चै नै काम गर्न उत्प्रेरित गरेको छ । अब विदेश होईन यहि नै विदेश भन्दा धेरै आम्दानी गर्न सक्छु भन्ने आँट पालाएको छ”–उनी भन्छन् । तालिमले व्यवसायलाई अघि बढाउन थप मद्दत पुगेको उनको भनाई छ । पहिले फर्ममा घाँसका कारणले फुड पोईजन भएर तीन वटा भैसी मरेका थिए । त्यसको कारण तालिमपछि थाहा पाए । घाँस खुवाउदा जहिले पनि झुस भएको घाँसलाई ओईलाएर मात्र खुवाउनु पर्ने उनले बुझे । यो तालिम त पहिलो चरणको मात्रै हो । फेरि पनि दोस्रो चरणमा बसेर यसबारे पूर्णरुपमा ज्ञान लिएर व्यवसायलाई अझै फराकिलो बनाउने सोच छ । यो सोंच पुरा गर्न सके यहीं अरुलाई रोजगारी दिने लक्ष्य भट्टराईले लिएका छन् ।
एउटा सानो तालिमले यति ठूलो प्रभाव व्यवसायमा परेको सुनाउँदै उनले तीनै तहका सरकारले पशुपालनमा दिने गरेको अनुदान वास्तविक किसान सम्म नपुगेको गुनासो सुनाए । आफ्ना नजिकका व्यक्तिलाई नक्कली कागजपत्रको आधारमा अनुदान दिने परम्परालाई हटाउनु पर्ने उनको जोड छ । फिल्डमा गएर हेरेर वास्तविक पशु पालन गरेको किसानलाई सरकारको सहयोग हुने हो भने विदेश जाने धेरै युवाहरु आफनै देशमा रमाएर बस्न सक्छने भट्टराईको सुझाव छ ।