© २०२३
बुटवल,२३ मंसिर । नेपाली कांग्रेसका नेता एवं प्रदेश योजना आयोगका निवर्तमान सदस्य डा. दामोदर भुसालले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि स्थिर सरकार आवश्यक रहेकोमा जोड दिएका छन् ।
अस्थिर सरकार हुंदा भ्रष्टाचार र बेथिति मौलाउने भएकाले सबैभन्दा बढी जनमत पाएका दुई दलहरु नेपाली कांग्रेस र नेकपा एमाले मिलेर पांच वर्ष टिक्ने गरी सरकार चलाउनु सबैभन्दा उपयुक्त हुने धारणा राखे ।
उनले हालै सम्पन्न निर्वाचनले कसैलाई वहुमत नदिएकाले कांग्रेस र एमाले मिलेर बलियो र स्थिर सरकार बनाउंदा नै मुलुकले सही निकास पाउने तर्क गरे । भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा पारदर्शी सरोकार समूहले बुटवलमा गरेको कार्यक्रममा नेता भुसालले यदि एमालेलाई प्रतिपक्षमा राख्ने हो भने कांग्रेस र माओवादी लगायत दलहरु मिलेर सरकार बनाउंदा माओवादीले निशर्त समर्थन गर्नुपर्ने तर्क गरे ।
माओवादीलाई सरकारको नेतृत्व गर्ने गरी जनताले मत नदिएकाले उसले च्यांखे दाउ थापेर बार्गेनिङ गर्न नहुने भुसालले स्पष्ट पारे । ‘माओवादीले हैसियत भन्दा धेरै बढी बार्गेनिङ गरेर अस्थिरता सिर्जना गर्ने खेल बन्द गर्नुपर्छ,उसलाई सरकारको नेतृत्व गर्ने जनादेश छैन, कांग्रेसलाई वा एमाले जो सुकैलाई निशर्त समर्थन गर्नु भन्ने जनादेश छ’–डा. भुसालले भने–‘दलहरुले आलोपालो सरकारको नेतृत्व गर्ने हो भनेपनि पारदर्शी तरिकाले सहमति गर्नुपर्छ,बीचमा झगडा गरेर सरकार ढाल्ने र अस्थिरता निम्ताउने काम अब रोक्नुपर्छ ।’
नेता भुसालले दलहरुले स्थिर सरकार दिन नसके अर्थतन्त्र झनै तहसनहस हुने र देश आर्थिक संकटमा फस्ने भएकाले कांग्रेस र एमाले नेतृत्वले गम्भीर भएर सोच्न आग्रह गरे ।
नेता भुसालले कामचलाउ सरकारले पुर्वाधार नबन्दै हतारमा रातारात मन्त्रालयहरु सार्नुका पछाडि भ्रष्टाचारको उद्देश्य लुकेको दावी गरे । ‘पुर्वाधार नभएको ठाउंमा मनपरी भ्रष्टाचार गर्नकै लागि हतारमा रातारात मन्त्रालयहरु सार्ने काम भएकोछ यो तत्काल रोक्नुपर्छ’–भुसालले भने ।
खर्चिलो र परम्परागत निर्वाचन प्रणालीका कारण पनि भ्रष्टाचार मौलाएको भन्दै नेता भुसालले इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गर्ने प्रणालीमा जानुपर्ने सुझाव राखे । उम्मेदवारले गर्ने खर्च उनीहरुले कर तिरेको आधारमा हुनुपर्ने पनि नेता भुसालले सुझाव दिए । कार्यक्रममा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ,जसपा नेता मनिकर कार्की, पारदर्शी सरोकार समूहका अध्यक्ष अधिवक्ता महेन्द्र पाण्डे लगायतले भ्रष्टाचार नै मुलुकको विकासको बाधक बनेकाले यसको नियन्त्रणमा सबै इमान्दार बन्नुपर्नेमा जोड दिए ।