© २०२३
बुटवल, २३ मंसिर । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो पार्टीले जनादेशको सम्मान गर्ने भएकाले यसपटक प्रतिपक्षमा बस्ने बताएका छन् । शुक्रबार बुटवलमा पत्रकारसंग बोल्दै उनल चुनावको जनादेशले एमालेलाई वहुमत नदिएकाले प्रतिपक्षमा बस्ने बताए । ‘हामीले कम्तीमा वहुमत र ठूलो पार्टी बन्छौं भन्ने अपेक्षा गरेका थियौं तर एमालेलाई कर्नरमा पार्न सत्तामा रहेका दलहरुले गठबन्धन गरेकाले केही सिट कम आएर दोस्रो दल बन्यौं’–पौडेलले भने–‘जनादेशको सम्मान गर्दै हामी सशक्त प्रतिपक्षको भूमिकामा बस्छौं, टुक्राटुक्री जोडेर वहुमत पुर्याएर उहांहरु सरकार बनाउनुहुन्छ ।’ माओवादी केन्द्र र अनय दलसंग मिलेर सरकार गठनको प्रयास भइरहेकोबारे पत्रकारको प्रश्नमा नेता पौडेलले सरकार बनाउनेबारे एमालेले कसैसंग छलफल नगरेको दोहोर्याए । ‘वामपन्थी बीच सहकार्यको प्रश्नै छैन, एमाले मात्रै वामपन्थी पार्टी हो अनि कोसंग सहकार्य ?–पौडेलले प्रश्न गरे ।
पुर्व अर्थमन्त्री समेत रहेका नेता पौडेलले एमाले प्रतिपक्षमा रहेपनि आफ्नो सरकारको पालामा अघि बढाइएका विकास आयोजननाहरु पूरा गर्न सक्रिय भूमिका खेल्ने बताए । उनले रुपन्देहीलाई पुर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र दक्ष जनशक्तिका हिसाबले मुलुककै अग्रणी र रोलमोडल जिल्ला बनाउने आफ्नो अभियानमा कमी आउन नदिने समेत बताए ।
अस्थायी मुकाम बुटवलबाट प्रदेशका मन्त्रालय लगायत संरचनाहरु पुर्वाधार नबन्दै रातारात दाङमा लैजाने काम गलत भएको पौडेलले टिप्पणी गरे । प्रदेशको राजधानीबारे निर्णय गर्ने अधिकार प्रदेश सभाको भएपनि अहिलेको सरकारले विधि प्रकृया मिचेर हतार मन्त्रालय सार्ने निर्णय गलत भएको पौडेलले टिपपणी गरे । राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयां दलहरुको उदयबारे सोधिएको प्रश्नमा नेता पौडेलले उनीहरुको कामबाट परीक्षा हुने टिप्पणी गरे ।
उनले बुटवल कालिका क्याम्पसले छोटो अवधिमै उल्लेख्य प्रगति गरेकोमा सराहना गरे ।