© २०२३
किन मानिसहरू सुधारका लागि तत्परताभन्दा बढी अवरोध वा चुनौतिका कुरा गर्छन् ? अथवा किन आफै चुनौति बनेर खडा हुन्छन् ? मानिसहरूमा कुनैपनि परिवर्तनको लागि गरिने रणनीतिक कार्यमा सहभागिताको अध्ययनबाट गज्जबको प्रबृत्ति देखिएको छ । अध्ययन अनुसार १५–२० प्रतिशत मानिसहरू नयाँ कार्यको तुरुन्तै खुलेर प्रशंसा गर्दछन् र यसको कार्यान्वयनमा भूमिका खेल्दछन् । आधाभन्दा बढी मानिसहरू केही समय पर्खन्छन् र अरूको सहभागिता र प्रगति देखेपछि विश्वास गर्छन् । अनि साथ दिन्छन् वा अनुसरण गर्दछन् । बाँकी १५–२० प्रतिशत मानिसहरू सँधै पछाडि खियाउने वा विरोध गर्ने वा बाधा ब्यवधान खडा गर्ने वा बहाना बनाएर कार्यबाट पञ्छिने ब्यहोराका हुन्छन् । उनीहरूलाई बलपूर्वक वा विभिन्न दवाव वा प्रलोभन वा उत्प्रेरणाका माध्यम अपनाएर मात्र कार्यमा संलग्न गराउन सकिन्छ । यसकारण हरेक परिवर्तन र सुधार प्रयासमा अवरोधात्मक चुनौतिहरू स्वाभाविक रुपमा देखापर्छन् । ती चुनौतिको जरो कारण खोजी गरी जरैदेखि समाधान गर्न सकियो भने मात्र सुधारका उपायहरू प्रयोगमा आउँछन् । फलस्वरुप सुधार सम्भव हुन्छ ।
अनुभवहरूको पुनरावृत्ति वा यथास्थितिबाट नयाँ उपलब्धि हासिल हुँदैन । अर्थात् वास्तविक समस्या समाधानका लागि वा गुणस्तर प्रभावकारिता बढाउनका लागि कार्यमा सुधार गर्नु आवश्यक हुन्छ । सुधार जहिले पनि सकारात्मक नतिजा दिने खालको हुन्छ । यसका लागि योजना, संलग्न पक्षहरूको कार्यदक्षता परिवर्तन, लगानी लगायतका पक्षमा ध्यान दिनु आवश्यक हुन्छ । सकारात्मक परिवर्तनबाट कुनैपनि ब्यक्ति वा संस्थाको विगतको अवस्था र वर्तमानको अवस्थाको तुलनात्मक अन्तर देखापर्छ । उदाहरणका लागि पहिलो आन्तरिक मूल्यांकनमा बि स्तर प्राप्त गरेको कुनै विद्यार्थीले दोस्रो मूल्यांकनमा बि प्लस स्तर पायो भने उसको उपलब्धिमा प्रगति वा सुधार भएको मानिन्छ । मानिसहरूमा परिवर्तनका लागि दुई किसिमका प्रबृत्तिहरू देखिन्छन् । आफ्नो कार्यप्रगतिका अवरोधहरू हटाउने र समस्या समाधान गर्ने, समस्या समाधानका सिर्जनशील उपायहरू पत्ता लगाई स्थिति सुधार गर्ने स्व–निर्देशित वा स्वयमसेवी भावनाबाट उत्प्रेरित एक प्रकारले स्वचालित ब्यवहार देखाउने प्रबृत्ति केही मात्रामा देख्न पाइन्छ । यस प्रकारको सकारात्मक पहल निरन्तर चलिरहने र कार्यसम्पादन उपलब्धि सुधार हुने गर्दछ । तर केही मानिसहरू ब्यक्तिगत वा संस्थागत कार्यमा समेत कुनै ठूलै द्वन्द्व वा जोखिम वा तनाव वा घाटा वा दवाव सिर्जना भएमा मात्र समस्या समाधानको प्रयास गर्ने र स्पष्टीकरण दिन पुग्नेगरी मात्र कार्य गर्ने प्रबृत्ति देखाउँछन् । यसरी बाध्यतावश चालिने कदमहरूबाट आंशिक उपलब्धि प्राप्त हुने र असफल हुने बढी सम्भावना हुन्छ ।
मानिसहरूले प्रायः परिवर्तनकारी कार्यलाई सहजै स्वीकार गर्दैनन् । परिवर्तनको विरोध गर्ने वा अवरोध गर्ने गर्दछन् । किन ? मानिसहरूका यस प्रकारका ब्यवहारका केही कारणहरूमा सहमति जनाउन सकिन्छ । मानिसहरूले कुनैपनि कार्य आरामपूर्वक गर्न सकिन्छ भने अथवा सजिलै फल प्राप्त भैरहेको अवस्थामा सन्तोष लिने गर्दछन् । सजिलो बाटोमा सबै हिंड्न मन पराउँछन् । नयाँ बाटो हिंड्नु भनेको जोखिम मोल्नु हो भन्ने ठान्दछन् । किनभने सदाजस्तै ब्यवहार गर्न पाउने चाहना राख्दछन् । आफू परिचित वा बानी परेको वा अनुभव भएको क्षेत्रमा मात्र कार्य गर्ने वा आफूले सफलता प्राप्त गरेको क्षेत्रमा कार्य गर्ने वा दोहो¥याइतेहे¥याइ गर्ने चलन हुन्छ । असफलता दिलाएको ब्यवहारसमेत नफेरेर उही शैली अपनाएर उही असफलता हात लागेका धेरै उदाहरण छन् । आफूलाई धेरै वर्षको अनुभवी भन्नेहरूले वास्तवमा एउटै अनुभवलाई पटकपटक प्रयोग गरेर आफ्नो जागिर पकाएको भेटिन्छन् । किन मानिसहरू नयाँ ब्यवहार, नयाँ सिप, नयाँ कार्यप्रति अरूचि राख्दछन् ? कतिपय मानिसहरूको चिन्तन परम्परावादी वा यथार्थवादी हुन्छ जसले परिवर्तनलाई स्वाभाविक गतिमा हुने प्रक्रियाका रुपमा बुझेको हुन्छ । यस प्रकारको मानसिकता बोकेको मानिसले कुनै तात्विक वा ठोस सुधारको अपेक्षा गर्दैन । फलस्वरुप उसका ब्यवहार पनि शिथील प्रकृतिका हुन्छन् । अर्थात् वैयक्तिक विचारले स्वभाव र ब्यवहार जाँगर हराएको बनाइदिन्छ । तसर्थ पहिलो शर्त त परिवर्तन सम्भव छ, गर्नुपर्छ, म सक्छु भन्ने भावना हुनु आवश्यक छ । यसैगरी कतिपय ब्यक्ति वा संस्थाले परिवर्तन कार्यलाई आफ्नो वर्चश्व, शक्ति वा शासनको चुनौतिका रुपमा लिने र ब्यक्तिगत फाइदाका खातिर सामूहिक भलो हुने कार्यलाई हुन नदिने प्रपञ्चमा लागेको पाइन्छ । आफ्नो शक्ति क्षय हुने वा अरूको क्षमता बढ्न गयो भने आफू सरह होला कि भन्ने भयग्रस्त मानसिकताका कारण प्रगतिको बाधक बन्ने संस्कृति छ । यो नकारात्मक ब्यवहार परिवार, समाज र राष्ट्रिय रुपमा प्रायः ब्यक्ति वा संस्थामा देखिन्छ । यसरी मानिस स्वयम् परिवर्तनको बाधक बनेको हुन्छ भने कतिपय बाह्य तत्वहरूका कारण पनि परिवर्तनतिर लाग्नबाट डराएको हुन्छ ।
मानिस कहिलेकाहीं अपरिचित परिस्थितिबाट डराइरहेको हुन्छ । सामाजिक, राजनीतिक र जीवनशैलीमा स्थिरता खोजिरहेको हुन्छ । आफूले समय, पैसा आदि लगानी गरेको क्षेत्रबाट अर्को क्षेत्र वा पद्धतिमा जानुपर्दा कामको रुटिन फेरिने र नयाँ कार्य गर्दा नयाँ सिप आवश्यक पर्ने भएकोले पनि मानिसहरू परिवर्तन चाहँदैनन् । उदाहरणका लागि अहिले नेपालमा पाठ्यक्रम विकास केन्द्रले एक घण्टाको एक पिरियडको तरिकाले पाठ्यक्रम निर्माण भै लागू गरेको छ । तर विद्यालयहरूमा ४५ मिनेटकै पिरियड चलिरहेको छ । कतिपय विद्यालयमा अतिरिक्त कक्षा सञ्चालनमा बाधा देखिन्छ । किनभने अतिरिक्त कक्षा सञ्चालनका लागि शिक्षकले थप समय दिनुपर्ने हुन्छ । कतिपय शिक्षकले अतिरिक्त कक्षा चलाउँदा दुईचार पैसा कमाइ हुन्छ, ठीक छ भन्छन् भने केही शिक्षकले नतिजा सुधारका लागि केही महिना थप समय दिन तयार पनि हुन्छन् । जब अतिरिक्त कामको लागि कसैले थप लाभ प्राप्त गरेको हुन्छ भने सुविधा दिन नसक्ने अवस्थामा कार्यको अवस्था र प्रतिफल कमजोर हुने गर्दछ । अथवा कतिपय परिवर्तन जटील र ब्यापक गृहकार्य वा तयारी वा समझदारी बनाएर मात्र कार्यान्वयनमा जानुपर्ने खालका हुन्छन् । मानिसले कुनैपनि कार्य गर्दा आफ्नो सुरक्षा र फाइदालाई ख्याल गरेको हुन्छ । त्यसैले लाभको सुनिश्चितता नभएसम्म काम थाल्दैनन् । तर लाभ प्राप्तिका लागि नयाँ सिपको आवश्यकता पर्दछ । अनि सिप सिक्नका लागि त्यति सजिलो छैन । तसर्थ नयाँ सिप सिकेर अगाडि बढ्नुभन्दा कामबाट पञ्छिनेहरू धेरै हुन्छन् । आफूलाई कुनै कार्य गर्न आउँदैन भने त्यो क्षेत्रमै नलाग्ने चलन छ । नयाँ कार्यबाट बढी मुनाफा हुन्छ भने आवश्यक सिप सिकेर भए पनि त्यो कार्य गर्नुपर्ने हो । तर यहाँ कर्पोरेट हाउसहरूसमेत क्षमता विकास र संस्थागत विकासमा कम चासो देखाउँछन् । परिवर्तनको अर्को विशेषता भनेको भैरहेको पद्धति वा ब्यवहारलाई चुनौति दिई नयाँ पद्धतिले विस्थापित गर्ने कार्य हो । यो प्रकारको परिवर्तन स्वाभाविक रुपमा सजिलै विश्वास गर्न सकिने खालको हुँदैन । नयाँ परिवेशमा प्रवेश गर्दा आफ्ना कमिकमजोरीको पर्दाफास हुने डरले पनि जे छ ठीकै छ भन्ने मनस्थितिमा धेरै मानिसहरू हुन्छन् । अलमलिएको वा आत्मबल नभएको मानिसलाई साथीभाइले फसाउँछन् । दौंतरी प्रभावमा पर्नेहरूले प्रगति गर्दैनन् । किनभने निश्चल मनले सहयोगी दौंतरी अति कम मात्रामा पाउन सकिन्छ ।
परिवर्तन र सुधार विरुद्धका विभिन्न अवरोधहरूलाई कम गर्ने उपायहरू अवलम्बन गरी कार्य सफलता प्राप्त गर्न सकिन्छ । परिवर्तनबाट प्रभावित हुने पक्षलाई यसको योजना निर्माण र कार्यान्वयनमा संलग्न गराउनु आवश्यक हुन्छ । योजना प्रक्रियामा समावेश गर्दा असमझदारी हट्ने, उपायहरूमा छलफल भै अपनत्व ग्रहण गर्ने र कार्यमा अनुशासित तरिकाले सहभागी हुने बाध्यता हुन्छ । सहयोगीहरूका विचारलाई समेत ग्रहण गर्दा उनीहरूमा पनि जिम्मेवारी महसुस हुने र कार्यमा सही तरिकाले समर्पित हुने वातावरण बन्दछ । निर्णय प्रक्रिया केही ढिलो हुनसक्छ र रणनीतिहरूका लागि बार्गेनिङ्ग र समझदारी गर्नुपर्दछ । यसले गर्दा कार्यकुशलता र प्रतिफल सकारात्मक हुन्छ । नेतृत्वले स्टाफ वा सहकर्मीलाई प्रभावकारी सञ्चारको माध्यमबाट अपेक्षित ब्यवहार र सिपसाथै उपलब्धिको साझेदारीको समेत हिसाब बुझाउन सकियो भने काममा लगाउन सहज हुन्छ । हरेक नयाँ कार्यका लागि आवश्यक अपेक्षित ब्यवहार र सिपको विकास गर्नु आवश्यक हुन्छ । हरेक ब्यक्तिले आवश्यक औजार र सिप विकास गरेर मात्र परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्दछ । आकांक्षा वा चाहनालाई मूर्त रुप दिनका लागि चिन्तनका साथै कार्य र ब्यवहारबाट पुष्टि गर्नुपर्दछ । भनिन्छ हात गोडा चल्दैनन् मझेरीमा फल्दैनन् । त्यसैले परिश्रमबाट नै कुनै फल प्राप्ति हुने साश्वत सत्यलाई बुझेर कार्य गर्नु मै सबैको भलाइ हुन्छ ।