© २०२३
बुटवल,२० मंसिर । गण्डकी प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका दीपक मनाङेलाई पार्टी प्रवेश गराएपछि नेकपा एस गण्डकीमा असन्तुष्टी बाहिरिएको छ । मन्त्री बन्नकै लागि मनाङे नेकपा एसमा प्रवेश गरेपछि पार्टी नेता शिवजि गुरुङले बद्नाम छवि भएका अवसरवादीलाई पार्टी प्रवेश गराउंदा इमान्दार नेता कार्यकर्ताको मबनोबल गिरेको भन्दै पार्टीबाट बाहिरिने चेतावनी दिएका छन् ।
गण्डकीमा एक सीट पनि जित्न नसकेको पार्टीले संगठन विस्तारको गजब शैली ल्याएको भन्दै उनले आफूहरु बाहिरिने बताएका हुन् ।
गुरुङले चुनावमा असफलताको वस्तुगत समीक्षा गरी जनचाहनाअनुरुपको नीति कार्यक्रम तथा युवा नेतृत्वसहित अगाडि बढ्नुपर्नेमा मनाङेहरुलाई पार्टी प्रवेश गराउँदै जाने हो भने पार्टी शून्यतातर्फ जानेछ, पार्टी नेतृत्वको यही चाहना हो भने वहाँलाई प्रवेश गराउँदै गर्नु, हामी बहिरिदिउँला नि बरु, चेतना भया भन्दै गुरुङले
पार्टी छाड्ने धारणा सार्वजनिक गरेका छन् । गुरुङ प्रतिनिधिसभामा कास्की २ बाट नेकपा एसको उम्मेदवार सिफारिस भएका थिए । तर, अन्तिममा अर्को क्षेत्रबाट श्रीनाथ बराललाई ल्याएर उम्मेदवार बनाइएको थियो । गठबन्धनका साझा उम्मेदवार बराल तेस्रो स्थानमा रहे ।
गण्डकी प्रदेशसभामा र प्रतिनिधिसभा कतै पनि नेकपा एसले जित्न सकेको छैन । समानुपातिक मत प्रदेशभरिबाट जम्मा ९ हजार ५७३ पाएको छ ।