© २०२३
तिलोत्तमा,१८ मंसिर । नेपाल विद्युत प्राधिकरण नयांमिल वितरण केन्द्रको महसुल संकलन काउन्टर भवन उद्घाटन भएको छ । तिलोत्तमा ५ मणिग्राममा रहेको वितरण केन्द्रको प्रशासनिक भवनको पछाडि २७ लाख रुपैयां लागतमा नयां भवन बनेको हो ।
नयां भवनको ठूलो हलमा ३ वटा महसुल तिर्ने काउन्टर र एउटा अन्य कामका लागि काउन्टर बनेको छ ।
नयां भवन बनेसंगै अब वितरण केन्द्रका उपभोक्ताहरु महसुल तिर्न खुला आकाशमुनि लाइन लागेर बस्नुपर्ने वाध्यता अन्त्य भएको छ ।
अब उपभोक्ताहरु वातानुकुलित हलमा बसेर महसुल तिर्न पाउनेछन् । नयां भवनमा कुपन प्रणालीबाट पालो अनुसार महसुल भुक्तानी गर्न पाइने छ । यसले उपभोक्ताबीच पालो मिच्न खोज्दा हुने विवाद पनि अन्तय हुने वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले बताए ।
‘नयां भवन नहुंदा चर्को घाम र वर्षामा सडकमै लाइन बस्नुपर्ने वाध्यता थियो अब ग्राहकहरुले एसी भएको हलमा बसेर आनन्दका साथ महसुल तिर्न पाउनेछन्’–मिश्रले भने–‘हामी ग्राहकलाई सन्तुष्ट बनाउन र सेवालाई गुणस्तरीय बनाउन कटिबद्ध छौं ।’
नव निर्मित भवनको उद्घाटन नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख नवराज ओझाले गरेका छन् । सो अवसरमा बोल्दै उनले नयांमिल वितरण केन्द्रका कार्यालय प्रमुख मिश्रको कार्यकुशलताका कारण उपभोक्ताबाट आउने गुनासो ५० प्रतिशत घटेको उल्लेख गर्दै अन्य वितरण केन्द्रका कार्यालय प्रमुखहरुले मिश्रबाट सिक्नुपर्ने ओझाले बताए ।
सो अवसरमा तिलोत्तमा ५ का वडाध्यक्ष रमेश डुम्रे,राष्ट्रिय कर्मचारी युनियनका सचिव टेकबहादुर बुढा,राष्ट्रिय कर्मचारी संघका लुम्बिनी प्रदेश उपाधयक्ष रोहिन भण्डारी लगायतले आफ्ना धारणा राखेका थिए ।
नयांमिल वितरण केन्द्र अन्तर्गत तिलोत्तमाका सबै वडा तथा बुटवल,ओमसतिया र देवदहका केही वडा गरी ३९ हजार ग्राहक रहेका वितरण केन्द्रका प्रशासन प्रमुख विनोद खनालले बताए । ३९ हजार ग्राहक मध्ये ६० प्रतिशतले वितरण केन्द्रमै आउर तथा ४० प्रतिशतले अनलाइनमार्फत महसुल तिर्ने गरेको लेखा प्रमुख प्रकाश रोकाले बताए ।