© २०२३
तिलोत्तमा,१८ मंसिर । परम्परागत सिंचाईलाई आधुनिक र प्रविधियुक्त बनाउन सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तै कृषि क्षेत्रमा छुट्टाइने वजेट अत्यन्त न्यून भएकाले कृषिमा वजेट बढाउन पनि उनीहरुले माग गरेका छन् । तिलोत्तमा–१० शान्तिनगर स्थित जल उपभोक्ता समिति नलकुप नं ९ को २६औं साधारणसभाका अवसरमा कृषि क्षेत्रका विज्ञ डा. दामोदर भुसालले परम्परागत सिंचाईलाई आधुनिक र प्रविधिमैत्री बनाउन सकेमात्रै किसानले लाभ लिन सक्ने बताए । परम्परागत कुलोबाट गरिने सिंचाई सबै खाले खेतीमा उपयुक्त नहुने र कतिपय खेतीलाई नोक्सान गर्ने भएकाले थोपा सिंचाई, बटर फ्लाई, स्प्रिङकल जस्ता नयां र प्रविधियुक्त आधुनिक सिंचाई सुविधा विस्तारमा सरकारले ध्यान दिनुपर्ने भुसालले सुझाए । आधुनिक सिंचाई सुविधा विस्तार गर्न सके बेमौसमी तरकारी, तोरी लगायतका खेती बढाउन सकिने उनको सुझाव छ । कृषि क्षेत्रमा नेपालको कुल जनसंख्याको ७० प्रतिशत भन्दा धेरै घरधुरी आश्रित भएकाले कृषि उत्पादन बढाउन, लागत घटाउन र किसानलाई प्रोत्साहनका लागि सरकारले कृषि क्षेत्रमा छुट्टाउंदै आएको वजेट बढाउनुपर्ने डा. भुसालले बताए । उनले भारतीय उत्पादनसंग मुल्यमा प्रतिस्पर्धा गर्न कठीन हुने भएकाले नेपालले अर्गानिक उत्पादनमा ध्यान दिनुपर्ने पनि सुझाए ।
तिलोत्तमा १० का वडाध्यक्ष गोपालप्रसाद घिमिरेले सिंचाई सुविधा नभएकै कारण किसानहरु खेती गर्न आकर्षित नभएकाले सिंचाई सुविधा विस्तारमा तिनै तहका सरकार गम्भीर बन्नुपर्ने सुझाए ।
जल उपभोक्ता समितिका अध्यक्ष होमबहादुर बज्राचार्यले २६ वर्ष पुरानो सिंचाई प्रणालीका संरचनाहरु जीर्ण र पुरानो भइसकेकाले मर्मत सम्भार संगै आधुनिक प्रविधियुक्त सिंचाई सुविधा विस्तारमा स्थानीय,प्रदेश र संघीय तिनै तहका सरकारको ध्यान जानुपर्ने बताए ।
सिंचाईको उचित प्रबन्ध हुन सके तिलोत्तमा १० लाई अर्गानिक जोन बनाउन किसानहरु तयार रहेको उनले बताए ।
समितिका सचिव शिवप्रसाद ढकालले जल उपभोक्ता समिति नलकुप नं ९ अन्तर्गत ४ सय घर र २ सय बिघा खेत रहेको जानकारी गराए ।