© २०२३
बुटवल, १८ मंसिर । नेकपा एमाले रुपन्देहीले बुटवलबाट प्रदेश सरकारका मन्त्रालयहरु हतारमा दाङ सार्ने प्रदेश सरकारको निर्णय र सक्रियता तत्काल रोक्न माग गरेको छ । एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले एक विज्ञप्ति जारी गर्दै मन्त्रालयहरु सार्ने काम आगामी नयाँ सरकार र संसदको अधिकारको विषय भएकाले त्यसमा हस्तक्षेप नगर्न माग गरेका छन् ।
स्थायी राजधानी तोकिएको स्थानमा कुनै किसिमको भौतिक पुर्वाधार नभएकाले जवरजस्ती लैजान खोज्नु गलत कदम भएको एमालेको विज्ञप्तिमा उल्लेख छ । ‘अस्थायी मुकाम बुटवलमा सुविधा सम्पन्न कार्यालयहरुका अतिरिक्त संसद् भवन र कर्मचारीको आवास समेत व्यवस्थित रहेको सर्वविदितै छ । राजधानी तोकिएको स्थानमा कुनै किसिमको भौतिक पुर्वाधार समेत नभएको स्थानमा जवरजस्ती लैजान खोज्नु गलत कदम भएको हुँदा हतार नगर्न हामी जोडदार माग गर्दछौं ।
साथै भर्खर सम्पन्न २०७९ को आम चुनावबाट जननिर्वाचित संदन र सरकारले मात्र यो काम अगाडी बढाउने कुरा स्वभाविक हुने हुँदा यो काम चलाउ सरकारले सस्तो लोकप्रियता आर्जन गर्नका लागि यो कदम अगाडि बढाउन खोजिएकोले यसलाई तुरुन्त रोकी आगामी नयाँ सरकार र संसदको अधिकार क्षेत्रमा समेत हस्तक्षेप नगर्न जोडदार माग गर्दछौं । प्रदेश सरकारले तोकेको भौतिक पुर्वाधार निर्माणको कार्यलाई सम्पन्न गरे पश्चात मात्र यसतर्फ ध्यान केन्द्रित गर्न अपिल गर्दछौं ।’– विज्ञप्तिमा भनिएको छ ।
यसअघि नेपाली कांग्रेस रुपन्देहीले पनि विज्ञप्ति जारी गर्दै स्थायी संरचना नबन्दै राजधानी सार्ने हतार नगर्न माग गरेको थियो ।