© २०२३
बुटवल, ६ मंसिर । नेपालबाट साउदी अरबको मक्का मदिनामा जाने हज यात्रीको कोटा (संख्या) बढाइदिन नेपाल हज समितिले सरकारसंग माग गरेको छ । नेपाल हज समितिले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी हज यात्रामा जान चाहने इस्लाम धर्मावलम्बीहरुको तुलनामा जान पाउने कोटा ज्यादै थोरै भएकाले संख्या बढाउन माग गरेको हो । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाले नेपाल सरकारले साउदी अरब सरकारसंग उच्चस्तरीय वार्ता गरेर हज यात्रामा जाने धर्मावलम्बीको माग अविलम्ब सम्बोधन गर्नुपर्ने बताए । अध्यक्ष मियाका अनुसार हरेक वर्ष २ हजार जना भन्दा धेरैले हज यात्रा गर्न हज समितिमा नाम दर्ता गराउंछन् । तर बढीमा साढे ५ सय जना मात्र जान पाउंछन् । नेपाल सरकारले साउदी सरकारसंग उच्चस्तरीय वार्ता गरेर इस्लाम धर्मावलम्बीको माग सम्बोधनमा गम्भीर बन्नुपर्ने अध्यक्ष मियाले बताए । यो वर्ष ५६३ जना मात्र हज यात्रामा जान पाएका र यसको तेब्बर संख्या जान नपाउंदा हज समितिमाथि गुनासो आउने गरेको अध्यक्ष मियाले बताए । साउदी सरकारले नेपालबाट जाने हज यात्रीका लागि आवश्यक सबै सुविधा सहजरुपमा उपलब्ध गराएर नेपाल हज समितिलाई व्यवस्थापनमा सहज बनाएको अध्यक्ष मियाले बताए । साउदी सरकारल वार्षिक १० प्रतिशत आम्दानी हज यात्रीबाट गर्ने गरेको उनले बताए । हरेक वर्ष बकर इदका बेला विश्वभरका लाखौं इस्लाम धर्मावलम्बी डेढ महिनाका लागि साउदी अरबको मक्का मदिना जाने गर्दछन् । मुस्लिम समुदायमा हज यात्रीको निकै ठूलो सम्मान र विश्वास हुने गर्दछ ।