© २०२३
बुटवल, २५ पुस । नेपालको राष्ट्रिय खेल हो, भलिबल । २०७४ जेठ ८ गते मन्त्रिपरिषद् बैठकले नेपालको राष्ट्रिय खेल भलिबल घोषणा गरेको हो । राष्ट्रिय खेल घोषणा भएको ७ वर्ष पुग्दासमेत भलिबल काठमाण्डौ केन्द्रि त नै भएको छ । नेपालमा इन्डोर खेल खेलाउन काठमाण्डौमा त्रिपुरेश्वर कवर्ड हलबाहेक अन्य कुनै बिकल्प छैन । भलिबल खेल ईन्डार खेल मानिन्छ । सुविधासम्पन्न पूर्वाधारमा खेल खेलिन्छ । पूर्वाधारको अभाव रूपन्देहीमा जारी भलिबल प्रतियोगितामा भयो ।
बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ मौसम प्रतिकुलता कै कारण स्थगित हुनुले भलिबलको अवस्थालाई झल्काउछ । मंगलबार त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लब बिच दोस्रो सेमीफाईनल खेल शुरु भएको १० मिनेटमा नै स्थगित गरियो । सितलहर र चिसो बढ्दा खेल अघि बढाउन कठिनाई भयो । ईन्डोर खेलमा प्रयोग हुने प्लाष्टिङ कोटिङ म्याट चिसोले भिजेर खेलाडी लड्न थालेपछि खेल रोकियो । प्राविधिक टिम र आयोजकबाट अर्को दिन खेलाउने गरि खेल स्थगित भएको जानकारी गराईयो । यसरी खेल सारिदा आयोजकलाई ब्ययभार बढ्ने गर्दछ ।
प्रदेश खेलकुद परिषद लुम्बिनीका पूर्व सदस्यसचिव जयप्रकाश भट्टराईले खेलमा संघियता नआएको गुनासो गर्छन । सबैजसो खेल संस्था काठमाण्डौ केन्द्रित हुँदा खेल पछि परेको उनले दुखेसो गरे । ‘एउटा प्रदेश एउटा भलिबल कवर्ड हल जरुरी छ ।’– उनले भने । प्रदेश सरकारबाट पौडी पोखरी र कर्वड हल निमार्णको लागि बजेट छुटाएको भएपनि काम रोकिएको उनले बताए । नेपालगंजमा बहुउद्देश्यीय हल निर्माण भएको भएपनि त्यो भलिबल खेलको लागि उपयुक्त नदेखिएको उनले बताए । आफनो कार्यकालमा रामपुरमा राष्ट्रिय महिला भलिबल खेल आयोजना गरेको स्मरण गर्दै उनले संरचनागत विकासमा सरकारको कमजोरी देखिएको दुखेसो गरे ।
नेपाल भलिबल संघका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश खेलकुद परिषदका पूर्व सदस्यसचिव भिम ओली भने राष्ट्रिय खेलको रूपमा घोषणा भएको आठ वर्ष पुग्दा समेत ठोस विकासका योजनाहरू बन्न नसकेको दुखेसो गरे । ‘हामीले राखेप, खेलकुद मन्त्रालय लगायत सरोकारवालाहरू निकायहरूमा लिखित र मौखिक रूपमा जानकारी गराएका छौं,’–उनले भने । जग्गा उपलब्ध र पूर्वाधार विकासमा कुनै पनि सरकारको ध्यान जान नसकेको उनले बताए । सधैभरि २०४२ सालमा बनेको एउटा कवर्ड हलकै भरमा अन्तर्राष्ट्रिय प्रतियोगिता चलेको उनले बताए । आउँदो बर्ष सरकारको प्याकेजमा भलिबल खेलको पूर्वाधार निमार्णको योजिना पर्नेमा आशाबादी रहेको उनले बताए । लुम्बिनी प्रदेशमा उजिरसिह रंगशालाको योजना अलपत्र हुनु दुर्भाग्य भएको उनले बताए । ‘पूर्वाधारको लेखाजोखा गर्ने हो भने भलिबललाई राष्ट्रिय खेल घोषणा हुनु र नहुनुले खासै फरक पारेको छैन ।’– उनले भने ।
अहिले नेपालमा काठमाण्डौस्थित त्रिपुरेश्वर कवर्ड हलबाहेक भलिबल खेलाउने अन्य कुनै बिकल्प छैन । जहाँ बास्केटबल, बक्सिङ लगायतका खेलकै कारण समय पाउन मुश्किल पर्छ । भलिबल खेल ईन्डोर खेल भएको हुँदा त्यस प्रकारको पूर्वाधार आवश्यक पर्ने भलिबल खेलका प्रशिक्षक अर्जुन घिमिरे बताउँछन । ईन्डोर खेलका धेरै हलहरू देशभर निर्माण गरिएको भएपनि त्यो भलिबल खेलको लागि उपयुक्त नरहेको उनले बताए । ‘न्यूनतम साढे १२ मिटर उचाई भएको ईन्डोर भवन चाहिन्छ,’–उनले भने । यसैगरि २० मिटर चौडाई र २८ मिटर लम्बाईको क्षेत्रफलमा खेलमैदान तैयार हुन्छ । यसबाहेकको प्याराफिट र डिजाईङ, पार्किङ समेत थप्न सकिने उनको तर्क छ ।