© २०२३
वसन्त पोखरेल
राजनीतिका कुरा लेख्न थाल्यो भने पाठकहरूको कुरा काट्ने पात्र बनिन्छ । त्यसो त आजभोलि धेरै मानिसले पत्रपत्रिकामा लेखिएका लेखहरू पढ्दैनन् । फेसबुके भएका छन् मानिसहरू । अक्षर नै नचिन्नेले पनि फेसबुकमा समय बिताएको देख्न सकिन्छ । पत्रिकामा छापिएको लेखको शिर्षकमात्र हेरेर उ हेर, फलानोलाई स्तुती गायो, फलानोको उछित्तो काड्यो भनेर टिका टिप्पणी हुन थाल्छ । विकास निर्माणका कुरा लेखौँ भने न विकास भएको छ न त निर्माण नै भएको छ । त्यत्तिकै बालुवामा के लेख्नु ? सामाजिक गतिविधि लेखौँ भने सबै नकारात्मक मात्र देखा पर्छन् । त्यसैले आजको शनिबारमा पाठकहरूले पढे पनि नपढे पनि सानोमा रुचिकासाथ आफू खेलेको नेपालको राष्ट्रिय खेलको बिषयमा किन नलेख्ने भनेर पाठकहरूको ध्यान त्यता लैजान चाहेँ ।
कतै डण्डिबियो त कतै लाहारीबियो भनिन्थ्यो । लाहुरबाट फर्केकाले गुल्ली डण्डा भन्थे । कतिपयले त यसलाई नेपालको राष्ट्रिय खेल पनि भन्थे । तर, हामीलाई यो कुरा थाहा थिएन । केटाकेटी अबस्थामा खेलजगतमा प्रबेश गर्दा सबैभन्दा पहिलो खेलको रूपमा हाम्रो हातमा यहि लाहारी बियो (डण्डिबियो) आएको हो । हाम्रो स्थानीय चलनचल्तीको भाषामा डण्डीबियो भनिँदैनथ्यो । गाई भैँसी चराउनजाँदा हामी अधिकांशको जाँगेको खल्तीमा एक थान चिटिक्कको बियो हुन्थ्यो । लाहारी हातमै हुन्थ्यो । त्यसले खेलमा लाहारीको काममात्र गर्थेन, गाई भैँसीलाई तर्साउने वा कतिपय बेला हिर्काउने लौरोको काम पनि गथ्र्यो । गोठालो गएको बेला दुई तीनजना भेट भयो कि लाहारी बियो शुरु भइहाल्थ्यो । हरेक खेलमाजस्तै खेल्दा पक्ष, प्रतिपक्ष त हुनैपथ्र्यो । जोडा खेलाडी भए बराबरी बाँडिएर खेलिन्थ्यो । बाँड्ने पनि नियम थियो । कुनै साथी अलि ठूलाखालका हुन्थे । उनीहरूमध्ये दुईजना राजा मानिन्थे । अरू साना खालका साथीहरू जोडी बनेर अँगालो हाल्दै केही पर जाने र एउटाले सानो ढुंगो टिपेर मुठीमा कस्ने, अर्कोले माटो टिपेर मुठीमा कस्ने र ल रोज माटो कि ढुंगो ? भनेर सोध्ने । कसको रोज्ने पालो छ त्यसले रोज्छ । माटो रोज्यो भने माटो हातमा लिएकोवाला जाने, ढुंगा रोज्यो भने ढुंगा हातमा लिएकोवाला जाने । माटो ढुंगोको साटो अरू पनि यस्ता नामहरू राख्न सकिन्थ्यो । जस्तो प्युठान कि सल्यान ? तरुल कि बदाम ? नाक कि कान ? आदि । यसरी दुई टिममा खेलाडीहरू बाँडिन्थ्यौँ । यदि कुनै साथीले रोजाउने जोडा पाएन र त्यसलाई खेलाउने सहमति भयो भने उसलाई नाक छेँडुवाको रूपमा खेलाइन्थ्यो । त्यो खेलाडी दुबै टिमबाट सबैभन्दा पहिले खेल्न पाउँथ्यो ।
क्रिकेट खेलमा बलिंग र ब्याटिंग भनेजस्तै लाहारी बियोमा पनि खेल्ने र छेक्ने दुई टिम हुन्छ । टिम तयार भएपछि को पहिला खेल्ने भनेर चिट्ठा थुतिन्छ । जस्तो कि घाम कि पानी भनेर रोजाइन्छ । खेलका टिमलिडर वा राजामध्ये एउटाले रोज्छ । एउटा गोलाकार सानो ढुंगोमा एकातिर थुकेर चिसो बनाएर आकाशमा फालिन्छ । थुकेतिरको भाग माथि परेमा पानी रोज्नेले पहिला खेल्न पाउँछ । अर्को टोली छेक्न जान्छ । ओभानोतिरको भाग माथि परेमा त्यो नियम अर्कोमा लागू हुन्छ । यो खेलमा लाहारी अटाउनेभरीको एउटा तेर्छो खाल्डो बनाइन्छ । त्योभन्दा माथि एक लाहारी नापेर सानो बियो राख्ने खाल्डो बनाइन्छ । बियो बीचमा राखेर एउटा लौराले छेक्नेतिरका खेलाडीतर्फ कोट्याएर फालिन्छ । यसरी फाल्दा छेक्नेतिरका साथीले हातले छोपे वा छेक्ने लौराले छोइदिन सके भने त्यो खेलाडी मर्छ । कहिलेकाहिँ निकै टाढा झाडीमा पनि बियो पुग्छ । त्यतिबेला डाली पानी फुक् भन्नुपर्छ । डालीमा अड्कियो, पानीमा प¥यो र त्यसो भनिएको छैन भने खेल्ने मानिस मर्छ । यदि छुन वा छेक्न सकेनन् भने बियो जहाँनिर खसेको थियो त्यहि ठाउँबाट खेलाडीतर्फको लाहारी राखेको ठाउँमा फाल्नुपर्छ । राखिएको लाहारीलाई बियोले छोयो वा खाल्डामा प¥यो भने पनि खेल्ने मानिस मर्छ । यदि परेन भने लाहारीले बियोको टुप्पोमा हानेर उछाल्ने र कतिपटक लाहारीले ठ्याक हान्न सकिन्छ, कति टाढा पुराउन सकिन्छ जित त्यसमा भर पर्छ ।
लाहारीले बियोमा एकपटकमात्र लाग्यो र नजिकै खसेर नाप्ने ठाउँ पनि भएन भने खेल्न पाउँदैन । बियो टाढा त गएको छ तर, एकपटकमात्र लाहारीले लागेको छ भने त्यहाँबाट लाहारीको हिसाबले नाप्नुपर्छ । दुई ठ्याक लागेको छ भने एक लाहारी नापोले दुई गोटी पाउँछ । तीन ठ्याक लगाएको छ भने बियोले नापेर गोटी थपिन्छ । नाप्दाखेरी भनिन्छः एका, दुया, तीर्कि, चतुर्मल, भाँच, सैरमल, सिट्ठू । नापको अन्तिममा आइपुग्दा जुन नामको नाप आएको हो त्यसैअनुसार फेरि हान्न पाउँछ । जस्तै एकामा नाप भ्याइयो भने एकाको फ्रेममा बियो राखेर हिर्काउनु पर्छ । एकामा एउटा हात मुठी पारेर मुठीमाथि बियो राखेर उफारेर लाहारीले हान्नुपर्छ । बियो त उफ्रन्छ नै, तर, लाहारीले लागेन भने खेल खत्तम । दुयामा माझीऔँलाको टुप्पाले चोर औंलाको टुप्पालाई खिचेर खाली ठाउँ बनाई त्यसकोबीचमा बियोलाई राखेर हानिन्छ । तिर्कीमा चोर र कान्छी औँलालाई उठाएर त्यसमाथि राखेर हानिन्छ । चतुर्मलमा एउटै हातले लाहारी र बियो समाएर बियो आकाशमा फालेर त्यसमा हिर्काउनु पर्छ । भाँचमा अर्को हातको पञ्जा बनाएर राखिन्छ र त्यसमा हानिन्छ । सैरमल निकैै सजिलो हुन्छ । एउटा हातमा बियो राखेर अर्कोहातको लाहारीले हिर्काइन्छ । सिट्ठू भने केही अफ्ठेरो हुन्छ । यसमा मुठीको तलपट्टी बियो राखेर हिर्काउनु पर्छ ।
यसरी पालैपालो खेल्दै जाँदा कुन पक्षले कति जित्छ त्यसको हिसाब राखिन्छ । बियो टाढा फालेको नापबाट हरेक सात गिन्तीमा एक गोटी थपिने वा फालिने हुन्छ । पालोअनुसार खेल्नेले गोटी थप्दै जान्छ । खेल्नेहरू सबै मरे भने उनीहरू छेक्न जानुपर्छ । खेल्न आएकाहरूले फेरि जित्न शुरु गर्छन् । आफूलाई बोकाइएको गोटी सबै वा जति सक्छन् रिन उतार्छन् । यसरी गोटीको रिन बोकाउने, उतार्ने फेरि बोकाउने खेल चलिरहन्छ । हामीहरू खेल्दा पाखो बारीमा ढुंगाको गोटी बनाइन्थ्यो । खेतमा खेल्नुपर्दा खोलामा गएर ढुंगाहरू ओसारिन्थ्यो । दुईमध्ये कुनै न कुनै टोली त कमजोर हुन्छ नै, घाटाको गोटी बोकेको अवस्था छ, तर, खेल्न मन लागेन भने अर्को जन्ममा मेरो कुकुर, गोरु भएर जन्मेस् भन्दै ढुंगामा थु..थु.. गर्दै हार्नेलाई नघाएर फालिन्थ्यो । यसरी हामीले बाल्यकालमा राष्ट्रिय खेल डण्डीबियो (लाहारी बियो) निकै खेल्ने मौका पायौँ ।
लाहारी बियो खेल्ने एकखालको हामीलाई नसा नै लागेको थियो लाहारी बियो बनाउने काठ खोज्न हामी कैयौँपटक जंगलमा बलिया, सोझा र मोटाखालका लौरा खोज्न गएका थियौँ । तिँजु, मेहेल आदिका लौरा बलियो हुन्छ भनेर खोज्दै हिँडियो । बारीमा भएका बेलौतीका बोटका सोझा हाँगाहरू कुनै बाँकी राखिएन । ताछेर, मुठारेर मालती फूलका फूल तथा दाना खोजेर रातो र सेतो रंगरोगन पनि गरियो । सिमीका पात दलेर हरियै बनाइयो । अमलाका पातहरू पकाएर कालो लेदो बनाएर पनि दलियो । त्यसरी राम्रो बनाएको लाहारी बियो बडो सुरक्षित तरिकाले लुकाएर राख्ने गरियो । यहाँसम्म कि कतिबेला त शिरानीमुनी पनि लुकाइयो । तै पनि कतिपटक लाहारी बियो हराएको अनुभव छ । लाहारी बियोमा लम्पट भयो भनेर आमाले दाउरा बालिदिएको पनि अनुभव छ । खेल्दाखेरी भाँचिदिँदा भाँच्ने केटालाई ढुंगाले हानेको पनि अनुभव छ ।
लाहारी बियो प्रायः हिँउदका महिनामा खेलिन्थ्यो । किनभने हिउँदका दिनमा धेरै दिन स्कूल छुट्टी हुन्थ्यो । जमीन ओभानो हुन्थ्यो । त्यो वास्तवमा मौसम नै खेलकूद गर्ने मौसम मानिन्थ्यो । कतिपय ठूला तरेलीका केटाहरू खोपी खेल्थे । पैसा वा टाँकमा खोपी खेल्दा हारेर टाँकजति फुकालेर जान्थे । यहाँसम्म कि नांगो ढाक्न लगाएको जाँगेको टाँक पनि जित्नेले फुकालेर लगिदिन्थ्यो । हार्नेचाहिँ हातले जाँगे स्याहार्दै घरतिर दगुर्नुपथ्र्यो । तास खेल्नेहरूलाई त सो समयमा ठूलाबडा मानिस भनिन्थ्यो । एकपटकको कुरा हो, लाहारी बियो खेल्ने क्रममा म छेक्नेतर्फ परेको थिएँ । मेरो हात सोझो छ भनेर टिमलिडरले मलाई खेलाडीतर्फ बियो फाल्न पठायो । मैले फालेँ । मार्न त सकिन । तर, खाल्डोको निकै नजिक गएको थियो । खेलाडीले लाहारीले बियोलाई हानेर माथि उफा¥यो । उफारेर टाढा मिल्काउन लाग्दा बियोले मलाई यस्तो जोडसँग लाग्यो कि म थचक्कै बस्न पुगेँ । टाउकोमा निकै जोडसँग बज्रियो । झण्डै एक सातासम्म मेरो टाउको दुख्यो । त्यसो त सैरमल हिर्काउँदा मैले पनि एकजना साथीको निधारमा बियोले हानेको छु । त्यसको निधारमा टुटुल्को नै उठेको थियो । त्यसपछि भने बिस्तारै मेरो लाहारी बियो खेल्ने बानीमा कमी आयो । कमीमात्र हैन, संग्रह गर्ने, खेलै बिर्सने भयो । अहिले लाहारी बियो भनौँ वा डण्डीबियो कुन चराको नाम हो त्यो पनि बिर्सिन थालियो । खेल चल्ने भए पो त्यसले ध्यान तान्दोरहेछ । यस्तो पनि अझ राष्ट्रिय खेल रे ? कसरी पत्याउनु ?
नेपालको राष्ट्रिय खेल त तास हुनुपर्छ । जुन तासले बच्चा देखि बुढालाई आकर्षण गरिरहेको छ । अंग्रेजीमा फोर भन्न जान्दैनन्, तर, फोरलाई चौका भन्न जानेका छन् । जे भन्न जान्दैनन् तर, त्यहि जेलाई गुलामचाहिँ भन्छन् । के लाई बास्सा भन्छन् । यस्तो पो राष्ट्रिय खेल हुनुपर्छ । स्कूल जान छाडेर बच्चाहरू झाडीमा तास खेल्न भिड्छन् । बुढाहरूले घरका गुन्द्री कम्बल तास खेलेरै फटाल्छन् । युवाहरूले त बाबु आमा मरे भनेर खबर सुनायो भने तास बाँड्दै यहि बाटो हुँदै त ल्याउलान् नि, यतैबाट मलाम जानुपर्ला भन्छन् । यस्तो मानव मस्तिष्क आकर्षित गर्ने तास खेललाई राष्ट्रिय खेल घोषणा गर्न नेपालको आधुनिक कालको विश्वकै अद्वितीय संघीय सरकारलाई मेरो भनाइले छुन्छ कि ?