© २०२३
सल्यान, १७ असोज ।
कर्णाली प्रदेशको पहाडी भूभागमा बसोबास गर्ने अधिकांश किसानहरू अझै पनि परम्परागत खेती प्रणालीमा निर्भर रहँदै आएका छन् । जलवायु परिवर्तनको प्रभावले गर्दा यी खेती प्रणालीहरूमा समस्याहरू देखिन थालेपछि नयाँ रणनीतिहरू अवलम्बन गर्ने आवश्यकता खट्कियो । यही क्रममा सल्यानका किसानहरूलाई नगदे बाली तर्फ अग्रसर गराउन र उनीहरूको आयआर्जन बृद्धिका लागि टेवा पुर्याउन सहयोग गरिएको छ । किसानहरूको आर्थिक अवस्थालाई सुदृढ गर्न तथा जलवायु अनुकूलनमा पनि योगदान पुर्याउनका लागि स्थानीय नागरिक, किसानहरूको सचेतिकरण संगै नगदे बालीतर्फ सघाउ र प्रविधि हस्तान्तरणका क्रियाकलापहरू सञ्चालन गरिएका छन् ।
जलवायु परिवर्तनले गर्दा पानीको उपलब्धता असन्तुलित हुनु, जमिनको उर्वरता घट्नु, र मौसमको अनियमितता जस्ता समस्याले गर्दा कृषिमा चुनौती थपिएका छन् । परम्परागत बालीहरू जस्तै मकै, धान, गहुँ लगायतका बालीले जलवायु परिवर्तनका असरहरूलाई सहन नसक्ने अवस्थाका कारण उत्पादनमा ह्रास आइरहेको कृषि विज्ञहरू जनाउँछन् । यसर्थ किसानहरूलाई वैकल्पिक खेती प्रणालीमा जोड्न आवश्यक ठानेर सल्यानको कुमाख गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाकामा खेती गर्ने तरिकामा सुधार गर्दै नगदे बालीको प्रवद्र्धनमा टेवा पुग्ने कार्यक्रम सञ्चालन भएका छन् ।
विशेष गरेर स्थानिय स्तरमा नगदे वालीको प्रवद्र्धन गरी किसानहरूलाई जलवायु प्रतिरोधी कृषि प्रणाली अपनाउन सहयोग प्रदान गरिएको छ । टिमुर, बेसार, अदुवा, जस्ता नगदे वालीहरू जलवायु परिवर्तनको असरलाई सहनसक्ने बाली हुन् । यी बालीहरू कम पानी र उर्वरता कम भएका जमिनमा पनि राम्रो उत्पादन दिन सक्ने भएकाले परम्परागत बालीको तुलनामा यी नगदे वालीहरू जलवायु अनुकूल मानिन्छन् । गह्रा सुधार, रिचार्ज पोखरी निर्माण, वन व्यवस्थापन लगाएतका कार्यक्रमबाट स्थानीयहरू टिमुर लगाएतका नगदे बाली तर्फ अघि बढेका छन् भने तरकारी खेति, टिमुर प्रशोधन, अन्य आयआर्जन बृद्धिका क्रियाकलापमा स्थानीयहरू संलग्न भएका छन् ।
मौसम प्रतिरोधी बालीहरूको खेतितर्फ अग्रसर
कुमाख गाउँपालिका वडा नं.२ खारखोलाकी दुर्पती बुढाथोकीका अनुसार जलवायु परिवर्तनको प्रभावलाई मध्यनजर गर्दै खेती प्रणालीमा परिवर्तन गर्न जलवायु अनुकूलनका लागि ज्ञान संगै विभिन्न कार्यक्रम स्थानीय स्तरमा सञ्चालन भएका छन् । मौसम प्रतिरोधी, सुक्खा सहने, र कम सिंचाईमा पनि उत्पादन गर्न सक्ने बालीहरूको खेती गर्नुपर्छ भन्ने जानकारी पाएपछि आफुहरू यसतर्फ अग्रसर भएको उनको भनाइ छ । गह्रा सुधार गरेर खेती गरिरहेको जनाउदै खारखोलाका अर्का स्थानीय तुल बहादुर बुढाथोकीले मौसम अनुकुलका बाली छनौटमा ध्यान दिइएको जनाए । नगदे बालीहरूको उत्पादनले राम्रो मुल्य पाउनु, कम उत्पादन लागत र प्रशोधनमा सजिलो हुनु जस्ता कारणले गर्दा किसानहरू यी बालीतर्फ आकर्षित भएका छन् । यसबाट किसानहरूको आम्दानीमा वृद्धि संगै गरिबी निवारणमा समेत योगदान पुगेको छ ।
बनगाड कुपिण्डे नगरपालिकाका किसानहरू पनि टिमुर लगाएतका नगदेबालीमा अग्रसर भएका छन् । वडा नं ६ काराकोटका लोक बहादुर बुढाथोकीले आफ्नो बारी, काल्नामा टिमुर खेती गरिरहेको बताउँछन् । वर्षेनी टिमुरका विरुवा थप्दै गएका उनले टिमुर खेतीबाट राम्रो आम्दानी हुनेगरेको बताउँछन् । बनगाड कुपिण्डे नगरपालिका वडा नं ७ का वडा अध्यक्ष जिवनसिंह ठकुरीले सल्यानमा नगदे बालीको राम्रो सम्भावना रहेको भन्दै आफ्नो वडामा पनि जमिनको उपयोग संगै कृषि क्षेत्र विस्तार भइरहेको जनाउँछन् । पछिल्लो समय किसानहरूले परम्परागत बालीको खेती घटाएर नगदे वालीको खेती गर्न थालेपछि उनीहरूको आर्थिक अवस्थामा पनि सुधार आएको छ ।
क्षमता वृद्धि संगै प्रविधि हस्तान्तरणमा सहयोग
पारिस्थितीकीय प्रणालीमा आधारित अनुकुलन कार्यक्रमका अनुसार गत आर्थिक वर्षमा मात्रै बनगाड कुपिण्डे नगरपालिकाको वडा नं ५ मा १२६ घरधुरीले टिमुरका १५ हजार २०० विरुवा रोपेका छन् भने वडा नं.६ मा ११५ घरधुरीले १० हजार ४०० टिमुर तथा ५५ घरधुरीले एक हजार १०० वटा ओखरका विरुवा रोपेका छन् । यस्तै कुमाख गाउँपालिकाको वडा नं २ मा आर्थिक वर्ष २०७९/०८० मा ६६ घरधुरी किसानले ४ हजार ६२० वटा टिमुर, ७ हजार १९४ वटा अम्रीसो र २ हजार ३१० वटा निगालोका विरुवा रोपेका छन् ।
नगदे बालीहरू, विशेषगरी टिमुर र बेसार जस्ता जडीबुटी, कम पानीमा पनि उत्पादन दिन सक्ने बाली भएकाले यी बालीहरू पानीको अभाव झेलिरहेको क्षेत्रमा उत्पादन हुन सक्ने हुँदा जलवायु अनुकूलनमा मद्दत पुग्ने पारिस्थितीकीय प्रणालीमा आधारित अनुकुलन कार्यक्रमले जनाएको छ ।यस कार्यक्रमका सल्यान जिल्ला आयोजना प्रमुख डाक्टर दिगम्बरसिंह दाहालले दीर्घकालीन रूपमा जमिनको संरक्षण, माटोको उर्वराशक्ति जोगाइराख्न नगदेबाली तर्फ स्थानीय स्तरका विपन्न तथा सिमान्तकृत क्षेत्रका किसानहरूलाइ सहयोग गरिएको भन्दै टिमुरको बजारिकरण, आयआर्जन बृद्धिका काममा परियोजनाबाट महत्वपूर्ण योगदान पुगेको बताउँछन् । पहिले खेर गएको वा अनुपयोगी जमिनलाई नगदे बालीका लागि प्रयोग गर्दा यसले जमिनको सदुपयोग हुने र यस्तो जमिनहरूमा नगदे बाली लगाउँदा वातावरणीय सन्तुलन कायम राख्न र जमिनको क्षय रोक्न मद्दत पुग्ने उनको भनाई छ ।
स्थानीय तह तथा डिभिजन वन कार्यालय मार्फत किसानहरूलाई नगदे वालीमा लगानी गर्न उत्प्रेरित गर्न अनुदान वितरण हुदै आएको छ । साथै, आधुनिक कृषि प्रविधिहरू हस्तान्तरण गरेर किसानहरूको उत्पादन क्षमतामा वृद्धिका काम गरिएको छ । नगदे वालीको प्रशोधन र बजारिकरणमा सिपमूलक तालिम दिएर किसानहरूलाई कृषि उद्योगको क्षेत्रमा अगाडि बढ्न सहयोग पुर्याइएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख जितेन्द्र महतले जनाए । उनले भने, ‘हामीले भुगोल अनुसार ओखर, टिमुरका विरुवा उपलब्ध गराइरहेका छौँ । टिमुर प्रशोधनका लागि ग्रेडिंग मेसिन, च्युरी प्रशोधन केन्द्रमा अनुदान दिएका छौँ । यसले किसानहरूलाई कृषि प्रणालीमा सुधार गर्न टेवा पुगेको छ ।’ स्थानीय समूदायहरू पानीका श्रोत संरक्षण, उपयुक्त ठाउँमा रिचार्ज पोखरी निर्माण, वनजंगलको संरक्षण तथा खाली जमिनमा रिठा, टिमुर, तेजपात जस्ता जडिबुटी लगाउनेतर्फ सक्रिय बन्नुपर्ने महतको सुझाव छ ।
नगदे बाली प्रवद्र्धनका लागि स्थानीय सरकारको भुमिका
नगदे बाली प्रवद्र्धनका लागि स्थानीय सरकारको पनि नेतृत्वदायी भुमिका हुन्छ । जलवायु परिवर्तनका प्रभाव र अनुकुलनका उपायहरूको बारेमा छलफल, कृषकलाई नगदे बालीको फाइदाबारे र उत्पादन विधिहरूमा तालिम प्रदान, बजारिकरणमा सघाउने तथा बीउ, विरुवा, मल, र कृषि उपकरणहरू सहयोग जस्ता कार्यमा स्थानीय तहले काम गर्न सक्छन् । बनगाड कुपिण्डे नगरपालिकाले विभिन्न तरिकाले नगदे बाली प्रवद्र्धनमा काम गरिएको जनाएको छ । ईबीए कार्यक्रम मार्फत तथा नगरपालिकाको आफ्नै कार्यक्रमहरूबाट समेत वडाहरूमा अनुकुलन तथा नगदे बालीको क्षेत्रमा काम भइरहेको नगरप्रमुख कर्ण बहादुर बुढाथोकी बताउँछन् । ‘ईबीए कार्यक्रमबाट पनि विभिन्न वडामा टिमुर लगाएत नगदे बालीतर्फ किसानलाई अग्रसर बनाउन विसभन्न सहयोग भइरहेको छ’, उनले भने ‘यस वाहेक वडा नं ८, ९, १० र १२ मा समेत हामीले टिमुर खेती विस्तारका लागि प्रयास गरिरहेका छौँ ।’विगतमा नगरका विभिन्न क्षेत्रमा सुन्तला खेतीतर्फ किसानहरू लागेको भएपनि विभिन्न कारणले यसमा सफलता नमिलेपछि जलवायु अनुकुलका बाली लगाउने तर्फ ध्यान गएको नगरप्रमुख बुढाथोकीको भनाइ छ । विशेष गरेर पछिल्लो समय टिमुर खेतीमा जोड दिइएको भन्दै उनले नगरमा उत्पादन भएको टिमुर जर्मनी र फ्रान्स सम्म पुग्ने गरेको उल्लेख गरे । यहाँको टिमुरलाई अर्गानीक प्रमाणितका लागि पनि पहल भइरहेको जनाउदै उनले बनगाड कुण्डिे नगरपालिकाले हावापानी र उत्पादनको हिसावले हरेक वडालाई कृषि तथा पशुपालन पकेट क्षेत्र तोकेर काम गरिरहेको जनाए ।
प्राथमिकता प्राप्त नगदे वालीहरूको पकेट क्षेत्र पहिचान गरी वन समूह, स्थानीय किसानसंगको सहयोग तथा समन्वयमा जलवायु अनुकूलनका लागि काम प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारी तवरबाट ठोस योजना आवश्यक देखिन्छ । स्थानीय बासिन्दाहरूलाई जलवायु अनुकूल खेती प्रणालीमा संलग्न गराई उनीहरूको आयआर्जन सुधार गर्न पारिस्थितीकीय प्रणालीमा आधारित अनुकुलन कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्याएको छ । तथापि, स्थानीय तह, कृषि तथा वन सम्बन्धी निकायहरूको ठोस योजना र दीर्घकालीन दृष्टिकोण आवश्यक छ । जलवायु अनुकूलनका लागि सरकारी र स्थानीय निकायहरूको निरन्तरता, सहयोग र समन्वयले नगदे बाली प्रवर्द्धनमा टेवा पुर्याउनेछ ।