© २०२३
बुटवल,११ कात्तिक । राष्ट्रिय जनमोर्चाले रुपन्देही २ मा सत्तारुढ गठबन्धनले समर्थन गरेको राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई समर्थन नगरी नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर वासीलाई समर्थन गर्ने भएको छ ।
राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गत बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ चार दलको बैठकपछि जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको विज्ञप्तिमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि हस्ताक्षर गरेका थिए ।
तर केसीले शुक्रबार विज्ञप्ति जारी गरी त्यस दिन भूलवश हस्ताक्षर हुन पुगेको भन्दै उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन र सहयोग गर्ने निर्णय भएको स्पष्ट पारेका छन् । यो क्षेत्रमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।