© २०२३
रौतहट ।
रौतहटको दक्षिणीभेग बौधीमाई नगरपालिकाका मेयर प्रदिप कुमार यादवलाई कारवाहीको माग गर्दै स्थानीयहरु गर्दै आन्दोलनमा उत्रिएका छन् ।
बिना सूचना गुण्डागर्दी शैलीमा जनताको घर भत्काउने मेयर यादवलाई कारवाहीको माग गर्दै स्थानियहरुले प्रहरी चौकी घेराउ गरेका हुन्।
बौद्धिमाई नगरपालिका सरमुजवाका गाउँलेहरूले बंकुल प्रहरी चौकी घेराउ गर्दै मेयर यादवलाई कारवाही र निर्दोष गंगा रामलाई रिहा गर्नुपर्ने माग गरेका छन्।
दुईदिन अघी बिना सूचना सरमुजवा गाउँ स्थित घर भत्काउन थालेपछि आक्रोसित गाउँलेहरूले मेयर यादवलाई त्यहाँ बाट लखेटेर भगाएका थिए।थिए ।
उक्त घटना पछि मेयर यादवले प्रहरीलाई दबाब दिएर रामलाई बिनाकारण पक्राउ गराएको स्थानीयको भनाई रहेको छ।
बिना कुनै सूचना गुण्डागर्दी शैलीमा जनताको घर भत्काउने मेयरलाई कारवाही गर्नुको सट्टा निर्दोष व्यक्ति गंगा रामलाई गिरफ्तार गर्नु अत्याचार भएको भन्दै सैयौंको संख्यामा आन्दोलित गाउँलेहरू प्रहरी बिरुद्ध सड़कमा उत्रिएको स्थानीय समाजसेवी श्रीभगवान पटेलले बताएका छन्।
बौधिमाईका मेयर प्रदीप कुमार यादवका अनुसार सरमुजावा दुर्गा मन्दिर देखी पश्चिम गाउँसम्म बाटो र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका १ दर्जन बढी घर टहरा गत मंसिर मसान्त भित्र हटाउने गत जेठ महिनामा स्थानिय प्रशासनको रोहवरमा लिखित सहमती भएको थियो।
सहमती अनुसार मंसिर मसान्त भित्र कसैले पनि घर टहरा न हटाउँदा बाध्य भएर दुईदिन अघी डोजर सहित त्यहाँ पुग्दा घरधनीहरु एक्कासि ढुंगामुढा प्रहार गरेका थिए। ढुंगामुढा बाट दुईजना कर्मचारीको टाउको फुट्नुका साथै कयौंलाई चोटपटक र डोजरको सम्पूर्ण सिसा फुटेको मेयर यादवले बताएका छन्।
सोही घटनामा संलग्न ऊपर परेको उजुरीको आधारमा प्रहरीले गंगाराम लाई पक्राउ गरेको तथा अन्य फरार रहेको उनको भनाई रहेको छ।
दुर्गा मन्दिर देखी सरमुजवा गाउँसम्म ढल तथा नाला निर्माणको लागी करीब अढाई करोडको केन्द्रीय योजना परेको छ र यस महिना भित्र सडक तथा सार्वजनिक जग्गामा बनेका घर टहरा खाली नभएमा सिंगो योजना फ्रिज हुने मेयर यादवले जानकारी दिएका छन्।