© २०२३
सल्यान, १२ पुस ।
कृषिजन्य वस्तुको ढुवानी तथा किसानको सहजताको लागि भनेर सल्यानको कपुरकोट गाउँपालिकामा संचालनमा ल्याइएको कृषि एम्बुलेन्स दुरूपयोग भएको छ । किसानहरूको सेवा गर्न भन्दै लाखौं रूपैयाँको लगानीमा खरिद गरिएको एम्बुलेन्सले कृषि सामग्री र कृषि उत्पादनको साटो सिमेन्ट बोक्ने साधन बनेको छ । कृषि एम्बुलेन्सको दुरूपयोगले अहिले गम्भीर प्रश्न खडा गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सल्यानको अनुदानमा कृषि एम्बुलेन्सको रूपमा प्रयोग गर्नुपर्ने मिनि ट्रकले बिहीबार मात्र सडक निर्माण योजनाका लागि सिमेन्ट ढुवानी गरेको हो । दांगको तुलसिपुरदेखि कपुरकोट १ को उनबांग सम्म सडक योजना अन्तर्गत स्ल्याब निर्माणका लागि एक सय बोरी सिमेन्ट ढुवानी गरेपछि कृषि एम्बुलेन्सको दुरूपयोग भएको भन्दै स्थानीयहरूले आलोचना गरेका छन् ।
किसानहरूको आवश्यकताका लागि यो सेवा उपलब्ध गराएको दाबी गरेपनि एम्बुलेन्स निर्माण सामग्री ढुवानीमा प्रयोगमा आएको पाइएको हो । किसानहरूले यो घटनाप्रति असन्तुष्टि व्यक्त गर्दै कृषिजन्य उत्पादन तथा मल, बीउ एवम् अन्य कृषि सामग्री बोक्नुपर्ने एम्बुलेन्सको संचालनमा लापरबाही भएको जनाएका छन् ।
कृषि उपज बजार केन्द्र कपुरकोटले सिमेन्ट बोकेको स्वीकार गर्दै व्यवहारिकता हेरिएको बताएको छ । बजार संचालक समितिका अध्यक्ष तिलक शर्माले सिमेन्ट बोक्न नमिल्ने भएता पनि व्यवहारीकता हेरेर वडा अध्यक्षको अनुरोधमा गाडी पठाइएको बताए । नयाँ भएका कारण आफुहरूले सिक्दै गरेको भन्दै उनले अब यसलाइ नीतिगत र कार्यगत रूपमा सुधार गरेर लैजानुपर्ने देखिएको उल्लेख गरे ।
यता प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सल्यानले भने कृषि एम्बुलेन्स दुरूपयोग भएमा कारवाही प्रक्रिया अगाडि बढाइने जनाएको छ । परियोजना कार्यान्वयन इकाइ सल्यानका प्रमुख भिम पाण्डेले ५० प्रतिशत सरकारी अनुदानमा गाडी उपलब्ध गराउँदा सम्झौतामै प्रष्ट रूपमा कृषि उपजको ढुवानीमा मात्र प्रयोग गर्नुपर्ने उल्लेख गरिएको बताए । ‘गाडी चलाउन गाह्रो भयो भनेर सिमेन्ट, सरिया बोक्न त पाइएन’, उनले भने, “यसबारे तुरुन्तै तरकारी जोन हेर्ने प्राविधिक मार्फत जानकारी लिन्छौं । दुरूपयोग भएको भए सरकारी बांकी सरह असुल उपर गर्नसकिने कानुनी व्यवस्था छ । सुरुमा सचेत गराउंछौं ।’
कृषि उपज बजार संचालक समितिले कृषि एम्बुलेन्सलाई तरकारी बोक्न नै भ्याइनभ्याई हुन्छ भनेको विषय स्मरण गर्दै पाण्डेले निर्माण सामग्री ढुवानी गर्नु दुरूपयोग भएको बताए । “धान बोक्नुस, गहुँ बोक्नुस, परालै बोक्नुस फरक परेन । तर बालुवा, गिट्टी, सिमेन्ट जस्ता निर्माण सामग्री बोक्नका लागि गाडी दिएको होइन“, उनले भने ।
कृषि उपज बजारसंचालक समितिका अध्यक्षले भाडाको समेत कुनै टुंगो नलगाइकन हचुवाको भरमा कृषि एम्बुलेन्सलाई निर्माण सामग्री ढुवानीमा पठाएको पाइएको हो । तुलसीपुरबाट निर्माण सामग्री ढुवानी भएको बिषयलाइ स्वयम् स्वीकार गर्दै संचालक समितिका अध्यक्ष शर्माले चलनचल्तिको भाडा लिइने र त्यो पनि सामान ढुवानी भैसकेपछी भाडा वापतको रकम प्राप्त हुने जनाए । कृषि एम्बुलेन्सले सेवा दिने अपेक्षा गरेका स्थानिय किसानहरू उक्त एम्बुलेन्स व्यापारिक साधन बनेको भन्दै गुनासो गरेका छन । गत आर्थिक बर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सल्यान र कपुरकोट गाउँपालिकाले एक÷एक वटा कृषि एम्बुलेन्स उपलब्ध गराएका हुन् । परियोजना एकाईको ५० प्रतिशत अनुदान र कृषि उपज बजार सञ्चालक समितिको ५० प्रतिशत लागत साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालनका लागि हस्तान्तरण गरिएको थियो । यस्तै कपुरकोट गाउँपालिकाले पनि पिकप भ्यान खरिद गरेर कृषि एम्बुलेन्सको रूपमा प्रयोग गर्न हस्तान्तरण गरेको थियो ।