© २०२३
जितपुर, ११ पौष ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले आन्द्राको क्यान्सरबाट पीडित बिरामीहरूको जीवन सहज बनाउन ठोस कदम चालेको छ। बिहीबार आयोजित एक विशेष कार्यक्रममार्फत प्राकृतिक रूपमा दिशा गर्न नसक्ने बिरामीहरूलाई करिब एक वर्षसम्म पुग्ने कोलोस्टोमी ब्याग निशुल्क वितरण गरिएको हो।
नगरपालिकाले यो पहलमार्फत क्यान्सर पीडितहरूको दैनिक जीवनमा ठूलो राहत पु¥याएको छ। कोलोस्टोमी ब्याग प्राप्त गर्ने बिरामी कृष्ण प्युठानीले यो सहयोगलाई “महत्वपूर्ण जीवनदान” भन्दै नगर प्रमुख चक्रपाणी अर्याल र उनको टिमप्रति आभार व्यक्त गरे। प्युठानीसहित तीन जना बिरामीलाई कोलोस्टोमी ब्याग प्रदान गरिएको थियो।
स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्दै बाणगंगा नगरपालिकाले ८ लाख रुपैयाँभन्दा बढी बजेट छुट्याएको छ। यो रकम क्यान्सर बिरामीहरूको सहयोगका साथै स्पाइनल इन्जुरी भएका बिरामीहरूको सर्जिकल सामग्रीका लागि समेत उपयोग गरिनेछ।
नगर प्रमुख चक्रपाणी अर्यालले जटिल रोगबाट प्रभावित नागरिकहरूको उपचारमा सहजीकरण गर्न नगरपालिकाले विभिन्न रणनीतिक योजना अघि सारेको जानकारी दिए। उनले भने, “स्वास्थ्य र उपचारमा अवरोध भोगिरहेका नगरवासीलाई निरन्तर राहत पु¥याउन हाम्रो प्रयास जारी रहनेछ।“
यो कदमले स्वास्थ्य क्षेत्रमा बाणगंगा नगरपालिकाको प्रतिबद्धता र नागरिकप्रतिको जिम्मेवारी झल्काएको छ। विशेष गरी कमजोर आर्थिक स्थितिमा रहेका बिरामीहरूले यस कार्यक्रमबाट प्रत्यक्ष लाभ उठाउन सफल भएका छन्।