© २०२३
वैदिक सनातन परम्परामा विभिन्न किसिमका सस्कार अनि परम्पराहरु रहेका छन् । ती सस्कार एवं परम्पराहरुले वैदिक सनातन धर्मको महानता र गरिमालाई जीवन्त तुल्याउन मद्दत पक्कै गरेका छन् । यसै सन्दर्भमा विशेषगरी वैदिक सनातनीहरुले निकै महत्त्वका साथ मनाउने पर्व एवं सस्कृति हो; श्रावण शुक्ल पूर्णिमाका दिन गरिने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन कार्य । यस पावन पर्वको दिन विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाउने गर्दछौं । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।
रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले:-
‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल ।
तेन त्वां प्रतिबध्नामि रक्ष मा चलमाचल’।।
भन्दै रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने हाम्रो वैदिक परम्परा रहिआएको पनि छ । । शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारीहरुले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे समाप्तिको दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी यज्ञोपवित मन्त्रण गरि त्यसलाई धारण गर्ने प्रचलन छ । यज्ञोपवीत (जनै) आर्य संस्कृतिको चिन्ह हो, यो विद्याको चिन्ह र यज्ञको वेशभूषा हो । मर्यादा पुरूषोत्तम श्रीराम, परम योगेश्वर श्रीकृष्ण, कैलाशपति शिव, चतुर्मुख ब्रहृमाजी, महाराजा जनक, माता पार्वती, वाचक्नवी गार्गी, सीता, माता दुर्गा, माता रूक्मिणी, माता सरस्वती, देवी कुन्ति सतिसाध्वी द्रौपदी त्यसैगरि लंकापति राक्षस रावण आदि सबै हामिले मान्ने भगवान तथा नरनारीहरू यज्ञपवित धारण गर्दथे । पक्कै पनि परापुर्वकालदेखी हाम्रो वैदिक सस्कारका रुपमा स्थापित यो कार्यभित्र धार्मिक एवं सास्कृतिक सन्दर्भमात्रै पक्कै छैन । यसभित्र त बैज्ञानिक रहस्य पनि पक्कै रहेको छ ।
यज्ञोपवितले विशेष सन्देश प्रवाह गरेको छ ; यसमा तीन दण्ड अर्थात् तीन डोरा, नौ सूक्ष्म तन्तु र पांच शिखा वा गांठा हुन्छन् जसलाई पञ्चशिखा भनिन्छ । एउटा जनैमा तीन धागा – डोरा वा सूत्र हुन्छन् । हामी कहां तीन संख्याको ठूलो महत्व छ । ब्रह्मा- विष्णु – महेश्वर , सत्व- रज-तम तीन गुण, पृथ्वी-अन्तरिक्ष र द्यूलोक गरी तीन लोक गार्हपत्य, आहवनीय र दक्षिण तीन अग्नि ईश्वर, जीवात्मा र प्रकृति आदि सत्ता पनि तीन छन् अतः जनैमा तीन डोरा हुनु सुसंगत छ ।जनै ब्रहृमचर्य, गृहस्थ र वानप्रस्थ तीन आश्रममा रहंदामात्र धारण गरिन्छ । चतुर्थ आश्रम संन्यास आश्रममा पुगेपछि यसलाई उतारेर विसर्जन गरिन्छ । यस अभिप्रायले पनि जनैमा तीन धागा अथवा सूत्र हुन्छन् ।जनैका तीन दण्ड (डोरा, सूत्र) ले मन, बचन र कर्मको एकताको शिक्षा दिन्छन् । जे मनमा छ त्यही वचनमा हुनुपर्छ र सोही अनुसार कर्ममा पनि उतार्नुपर्दछ । जब मन, वचन र कर्म एक हुन जान्छन् मनुष्य महात्मा बन्दछ, अन्यथा त्यो दुरात्मा बन्दछ ।
तीन दण्ड अर्थात् सूत्रको एक अर्को पनि रहस्य छ त्यो यो हो कि कार्यदण्ड, वाग्दण्ड र मनोदण्ड अर्थात् शरीर, वाणी र मनलाई संयममा राख्नु । कार्यसंयमद्वारा ब्रहृमचर्य पालन, गुरूजनहरूको आदर सत्कार, अहिंसा र तप आदि । वाणी संयमद्वारा सत्य, हितकारी र मधुर भाषण र स्वाध्याय गर्नु । मन संयमद्वारा मनका विकारहरू दूर गरी त्यसलाई शुद्ध र पवित्र संकल्पले मुक्त बनाउनु एवं सार्थक चिन्तन गर्नु ।
यज्ञपवितका तीन सुत्रमा एक अर्को रहस्य पनि लुकेको छ यो संसार त्रिगुणात्मक छ सत्व, रज र तम तीन पोयाले समस्त प्राणी बांधिएका छन् । जनैका तीन धागाले यसैको स्मरण गराउंदछन् कि हामीले यस संसारबाट निस्कनु छ र मुक्त हुनु छ । सन्यासि रुप धारण गर्दा संसारबाट माया,मोह र ममता त्यागिन्छ यस कारण ‘संन्यास आश्रममा’ जनै फुकालिन्छ । जनै र ‘गायत्रीमन्त्रको परस्पर घनिष्ट सम्बन्ध छ । यससंगै परमेश्वर(परमाणु)को सर्वश्रेष्ठ नाम ‘ओम्’ मा अक्षर पनि तीन छन् अ, उ र म् ।
शरीरमा ‘वात’ ‘पित्त’ र ‘कफ’ धातुहरू पनि तीन नै छन् । यिनलाई सम राख्नु पर्छ, समराख्नु स्वास्थ्य हो विषम राख्नु रोगी हुनु हो । शरीर पनि‘स्थूल’ ‘सूक्ष्म’ र ‘कारण’ तीन नै छन् । यिनको विवेक गरेर आत्मालाई जान्नु पर्दछ । दुःख वा ताप पनि तीन प्रकारकै छन् ‘आध्यात्मिक’, ‘आधिदैविक’ र ‘आधिभौतिक’ । यी तीन दुःखबाट निवृत्ति हुनु पर्दछ । यिनबाट निवृत्तिको नाम नै परमपुरूषार्थ अथवा मोक्ष हो । ‘ज्ञान’, ‘कर्म’ र ‘उपासना’ तीन साधन छन् । यी तीन साधनको रहस्य बुझेर तदनुसार आचरण गरी परमात्मा (तत्वज्ञान) प्राप्त गर्नु पर्छ ।
यज्ञपवितका तीन सूत्रले एक अर्को पनि संकेत दिई रहेका छन् त्यो यो हो कि संसारमा तीन प्रकारका ऐश्वर्य छन् ‘सत्य’, ‘यश’ र ‘श्री’ जनैधारी मनुष्यले यी तीन मध्येबाट कुनै एकलाई छान्नु पर्दछ । त्यसैगरि जनैका तीन सूत्रले परमात्मा जीवात्मा र प्रकृति यी तीन अनादि सत्ताको सम्यक ज्ञान प्राप्त गर्ने संकेत पनि दिन्छन् । जनै धारण गरेका व्यक्तिले परमात्मा के हो त्यसको स्वरूप कस्तो छ त्यसको प्राप्ति कसरी हुन सक्दछ इत्यादि कुराहरूलाई जान्ने प्रयत्न गर्नु पर्दछ । यसैगरी म को हुं, कहांबाट आएको हुं, मलाई कहां जानु छ र मेरो जीवनको लक्ष्य के हो ? इत्यादि आत्मज्ञान सम्बन्धि समस्याहरू सुल्झाउन निरन्तर प्रयत्नशील रहने संकेत पनि यसवाट मिल्दछ । प्रकृति के हो यसबाट उपयोग लिएर मानव जीवनलाई कसरी सुखी तुल्याउन सकिन्छ आदि सनातन प्रकृतिको विविध ज्ञान प्राप्त गर्नु पर्दछ । यस रहस्यलाई हृदयंगम गरी जनै धारण गर्दछ भने त्यस व्यक्तिको जनै धारण गर्नु सार्थक हो भन्ने सन्देशपनि दिई रहेको छ ।
जनैका तीन सूत्रहरूको एक अर्को साह्रै महत्वपूर्ण कुराको रहस्य समेत लुकेर रहेको छ, जसको यहां समुद्घाटन गर्नु उपयुक्त छ । प्रत्येक मनुष्यलाई जन्मदै देखि तीनवटा ऋण लागेका हुन्छन् ‘पितृऋण’, ‘देवऋण’ र ‘ऋषिऋण’ प्रत्येक यज्ञोपवीत धारी व्यक्तिले यी तीन ऋणबाट मुक्त हुने वा तीन ऋण हुने निरन्तर प्रयत्न गर्नुपर्दछ । माता-पिताले जन्म दिएर लालन-पालन गरी सन्तानलाई हुर्काउछन् । उनिहरूको सेवा सुसार गरेर यो ऋण केही अंशसम्म तिर्न सकिन्छ । यसै कारण उपनिषदका ऋषिहरूले ‘मातृदेवो भव’ र ‘पितृदेवो भव’ भनेर उपदेश गरेका छन् ।
सामान्य रूपले ‘देव’को अर्थ ईश्वर हो तर इश्वर प्राप्ति कहां र कसरि हुन्छ भन्ने सवाल अष्पष्ट पारिएको छ । करूणामय ज्ञानमा ईश्वरत्वको असीम अनुकम्पा लुकेको हुन्छ । समाजिक रुपान्तरण र जनहीतप्रति ईमानदार रहेर नित्यनियम र ध्यानपूर्वक कार्य गर्नु, चिन्तन गर्नु र उपासना गर्नु ‘ब्रहृमयज्ञ’ कहलाउंछ यसैलाई ‘देवयज्ञ’ पनि भनिन्छ ।
ब्रहृमादेखि महर्षि जैमिनि र दयानन्द सम्मका सच्चा त्यागी-तपस्वी र वीतराग ऋषि-महर्षि तथा विद्वानहरू जसले शाश्वत वैदिक संस्कृति र सभ्यतालाई हामीसम्म सफलतापुर्वक ल्याईपुर्याएका छन् यसले आधुनीक समयमा पनि हामीलाई मार्गदर्शन गरिरहेका छन्, अवको हाम्रो कर्तव्य भनेको उनीहरूले दिएको विद्या पढेर, वेदहरूको स्वाध्याय गरेर समय सापेक्ष ढंगवाट प्रचार-प्रसार गरी ज्ञानगङ्गालाई प्रवाहमान राख्नु र‘ऋषिऋण’ बाट तीन ऋण हुने कार्य गर्नु हो ।त्यसैगरि, जनैका तीन डोरा ब्रहृमग्रन्थि अथवा शिखाद्वारा परस्पर बांधिएका हुन्छन् । यसले के बोध गराउंदछ भने मनुष्यका लागि ज्ञान, कर्म र उपासना यी तीन साधन ईश्वरत्व प्राप्तिका आधारहरु हुन् । जनै धारण गरेर मनुष्य कामना गर्दछ कि म ज्ञान, कर्म र उपासनाद्वारा ईश्वरत्व प्राप्त गर्न सकुं, म जागृत, स्वप्न र सुषुप्ति अवस्थालाई पार गरेर तुरीय अवस्थामा व्रहृमसंग मेल गर्न सकुं र जीवनको उद्देश्य पूरा गरुं । ठूला, साना र आफू बराबरीहरूका संग यथायोग्य व्यवहार गर्नेछु । अर्थात् ठूलाको आदर सम्मान, बराबरीहरूकासंग प्रेम र साना माथि दया माया र ममता प्रदर्शन गर्नेछु । यस्ता अनेकौं महत्वपूर्ण कुराहरूको दिव्य आदर्श जनैले प्रस्तुत गर्दछ । यस प्रकार जनैका तीन डोरा विज्ञानमय भै भरिएको छ ।
जनैका तीन सूत्रले एक अर्को पनि संकेत दिई रहेका छन् त्यो यो हो कि संसारमा तीन प्रकारका ऐश्वर्य छन् ‘सत्य’, ‘यश’ र ‘श्री’ जनैधारी मनुष्यले यी तीन मध्येबाट कुनै एकलाई छान्नु पर्दछ । त्यसैगरि जनैका तीन सूत्रले परमात्मा जीवात्मा र प्रकृति यी तीन अनादि सत्ताको सम्यक ज्ञान प्राप्त गर्ने संकेत पनि दिन्छन् । जनै धारण गरेका व्यक्तिले परमात्मा के हो त्यसको स्वरूप कस्तो छ त्यसको प्राप्ति कसरी हुन सक्दछ इत्यादि कुराहरूलाई जान्ने प्रयत्न गर्नु पर्दछ । यसैगरी म को हुँ कहाँंबाट आएको हुँ मलाई कहाँ जानु छ र मेरो जीवनको लक्ष्य के हो ? इत्यादि आत्मज्ञान सम्बन्धि समस्याहरू सुल्झाउन निरन्तर प्रयत्नशील रहने संकेत पनि यसबाट मिल्दछ । प्रकृति के हो यसबाट उपयोग लिएर मानव जीवनलाई कसरी सुखी तुल्याउन सकिन्छ आदि सनातन प्रकृतिको विविध ज्ञान प्राप्त गर्नु पर्दछ यस रहस्यलाई हृदयंगम गरी जनै धारण गर्दछ भने त्यस व्यक्तिको जनै धारण गर्नु सार्थक हो भन्ने सन्देशपनि दिई रहेको छ ।