© २०२३
पाल्पा, २० असार । निस्दी गाउँपालिको वाकामलाङका डमराका बिरमान घर्ती गतवर्ष खयर बिक्रीबाट हात परेको रकमबाट निकै खुसी भए । प्रकृतिले दिएर बारीको काल्नोमा आफै उम्रिएको एउटा खयरको रुख बाट २ लाख ८० हजार रूपैयाँमा बिक्री गरेका थिए ।
पछिल्लो समयमा बिरमान जस्ता गाउँघर कुरेर बसेका किसानको लागि खयर नगदेवालीका रूपमा स्थापित हुन पुगेको छ । गरिबी र विपन्नतामा च्यापिएकी लक्ष्मी पोखरेलले पनि गत वर्ष ५ वटा खयरको रुख बिक्रीबाट २ लाख रूपैयाँ पाउँदा सारै खुसी भएको बताउँछिन । खयरको रुख बिक्रीबाट आएको रकमले घरमा खरको छाना फालेर टिनको छाना राख्न पाउँदा अत्यन्तै आनन्द आएको बताउँछिन । घरमा खरको छाना हुँदा किरा किरी पनि घरमा आउने र वर्षा लागेपछि छाना चुइएर रात काटनै कठिन हुन्थ्यो अब आनन्द भयो भन्दै आफनै कथा सुनाइन ।
कालीगण्डकी उपत्यका, कालीनदी र नस्दी अरूणखोलाका पाखा पखेरामा प्राकृतिक रूपमा आफै उम्रीएका जगंलका रूपमा रूपान्तरित खयर २०६४ साल पछिका समयमा आम्दानीको मुख्य श्रोत बनेको छ । वन ऐन २०४९ जारी भएपछि तत्कालिन सरकारले राजपत्रमा सुचना नै जारी गरेर खयर प्रजातीका रुखहरू कटान गरेर ओसार पसारका लागि पुर्णरूपमा प्रतिवन्ध लगाए पछि नदीका आसपासमा खयर जंगल नै भएको थियो ।
सरकारले खयरको रुख कटानमा पुर्णरूपमा प्रतिवन्ध लगाए पछिका दिनहरूमा घाटहरूमा शव दहन, गाई भैसी बाध्नका लागि भकारो ढिकी जस्तामा प्रयोग भएको रुखलाई नेपाल सरकारले २०६४ साल देखि औद्योगीक कच्चा पद्धार्थ रूपमा परिभाषित गरी खयर कटान तथा ओसार पसारका लागि फुकुवा गरेपछि आम्दानीको संगै रोजगारीको बलियो ढोका खुलेको हो । पाखा पखेरामा उम्रिएका स्थानिय प्रजातीका खयर बाट राम्रो हुन लागेपछि यसै वर्षबाट डिभिजन वन कार्यालयले अभियानका रूपमा व्यावसायीक खेतिको कार्यक्रम थालनी गरेको डिभिजन वन कार्यलयका प्रमुख नारायण देव भट्टराई बताउछन । यसै वर्ष वन कार्यालयले २ लाख विरुवा निसुल्क रूपमा वितरण गरिनेछ ।
यसका लागि आवश्यक तयारी पुरा भएको उनले बताए । जिल्लाको काली गण्डकी जलाधार क्षेत्र बाकामलाङ, रामपुर, हुगीं, गेझा पिपलडाडा, येम्घा खानीगाउ, छेर्लुङ, अर्गली, अरूणखोला, मित्याल, ज्यामिरे, निस्दी खोला जलाधार क्षेत्र अन्तर्गत ढुगांनावेशी क्षेत्र खयरको पकेट क्षेत्र हो ।
पछिल्लो समयमा वन्य जन्तुको कारण खेतियोग्य जमिनमा बाझो हुदै गएको छ । अब बारीमा समेत खयर लगाउन प्रोत्साहन गर्ने उदेस्यले कार्यालयको ४ वटा नविनतम कार्यक्रम अन्तगत काली, अरूणखोला , निस्दी खोला जलाधार क्षेत्रमा खयरको व्यवसायीक खेति बिस्तार कार्यक्रम रहेको कार्यालयका सुचना अधिकारी संयोग बस्नेत बताउछन । एउटा वोट तयारीका लागि १० देखि १२ वर्ष लाग्दछ एक पटक काटिएको बिरुवालाई कटान गर्नको लागि ७ वर्ष लाग्दछ । एउटा वोट १० क्विन्टलसम्मको तौल हुन्छ । किसानले प्रति.के.जी ७० मा बिक्री हुने र बजारको पनि समस्या नभएकाले कृषकहरूको आकर्षण बढेको उनी बताउछन ।
रूपन्देहीको भैरहवा, बाँकेंको नेपालगञ्ज, पर्साको बिरगञ्जमा प्रशोधीत केन्द्र भएकाले सामान्य प्रशोधनका लागि यहाबाट व्यावसायी मार्फत जाने गर्दछ । यहा खयरको कारोवार गर्ने व्यावसायीकहरू १० जना भन्दा बढि छन् । यही व्यावसायमा १ सय भन्दा बढिले प्रत्यक्ष रोजगारी पाएको सहायक वन अधिकृत रामचन्द्र लामा बताउँछन ।
जिल्लाको कुल वन क्षेत्र मध्ये ४.२ क्षेत्रफलमा र ३ हजार २ सय हेक्टर क्षेत्रफलमा खयर सिसौ प्रजाती मध्य सबै भन्दा बढि खयर प्रजातीका रुखहरू भएको उनले बताए । डिभिजन वन कार्यालयसंग हातेमालो गरेर खयरलाई व्यवसायिक बनाउन लागेका छन । वगनासकाली गाउपालिकाको यम्घाका वडा अध्यक्ष लक्ष्मी अधिकारी भन्छन्, वडा तहको कार्यक्रमबाट यस वर्ष २ हजार खयरका बिरुवा रोपण गरिने लक्ष्य राखिएको छ । राम्रो आय आर्जन, वन्य जन्तुबाट क्षती नहुने बजारीकरणको लागि सजिलो भएकाले व्यवस्थित र व्यवसायीक खेतिका लागि स्थानिय सरकारले कार्यक्रम नै बनाएको उनले भने ।
खयरको व्यवस्थित र व्यवसायीकखेतिको लागि नर्सरी स्थापनाका लागि स्थानिय सरकारले समन्वय गरेको रभ्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बताए । जनताको जिवन स्तर माथि लैजान सहज भएका कारण यसको व्यवसायीक खेति तर्फ जिल्ला वन कार्यालयसंग समन्वय गरेको उनले बताए । यस वर्ष पिपलडाडा , रामपुर ढुंगाना वेशीमा नर्सरी स्थापना भएका छन । खयरको विरुवाको प्रत्येक वर्ष माग बढदै गएकोछ । यस वर्ष पनि माग अनुरूप माग पुराउन कठिन हुन सक्ने कार्यालयका रेन्जर यामलाल पोखरेल बताउछन । गत आर्थिक वर्ष बाहिर निर्यात गर्दा सरकारलाई बुझाउन पर्ने राजश्व वापत १३ लाख रूपैया जम्मा भएको थियो । गत वर्षको तुलनामा यस वर्ष राजश्वमा समेत वृद्धि हुने अनुमान गरिएकोछ ।