© २०२३
बुटवल, १५ बैशाख । चिकित्सा पेशाको गरिमा बढाउने स्वयं चिकित्सकहरू दीर्घकालिन सोचका साथ रचनात्मक अभियानलाई जोड्नुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरूले सुझाव दिएका छन । देशका बिभिन्न स्थानमा गर्दै आएका चिकित्सा अभ्यास र अनुभवलाई एकआपसमा साट्ने, अन्तरक्रिया गर्ने र नया सिकाई हुने जस्ता विषयमा चिकित्सकहरू नै लाग्नुपर्ने कार्यक्रमका बक्ताहरूले सुझाव दिए ।
लुम्बिनी इन्टरनल मेडिसिन सोसाईटीको आयोजनामा शुक्रबार भएका अन्तरक्रिया कार्यक्रमको वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सुर्दशन धितालले उद्घाटन गर्दै चिकित्सा पेशा आफैमा सामाजिक उत्तरदायित्व बहन गर्ने पेशा भएको बताए । चिकित्सक समुदायभित्रकै सदस्य भएको हुदा त्यहा आफनो भुमिकालाई फराकिलो बनाउनुपर्ने उनले सुझाव दिए ।
विशेषज्ञ चिकित्सकहरू बिचमा वार्षिक कार्ययोजना बनाएर चिकित्सा शिक्षालाई बाड्ने गरि कार्यक्रमहरूलाई अगाडी बढाएको सोसाईटीका महासचिव डा सरोज थापाले बताए । पछिल्लोसमय देशभर चिकित्सक र सेवाग्राहीका बिचमा बढेको द्धन्द्ध उत्पत्ति बारेमा खोज गर्ने र यसको न्युनिकरण गर्ने गरि अभियानहरूलाई प्रदेशमा गरिने उनले बताए । कमीकमजोरी खोज्ने र त्यसको समाधानमा लाग्नुपर्नेमा संस्थागत रूपमा जोड दिएको उनले बताए ।
कार्यक्रममा वरिष्ठ हृदय रोग विशेषज्ञ डा. यादव भट्टले मुटु रोग र यसको सुरक्षाका बारेमा जानकारी दिदै मानिसहरूको आम दैनिकीसंग मुटुको सम्बन्ध हुने बताए । नियमित ब्यायाम र खानपिनमा ध्यान दिन सके मुटु ठिक हुने तर्क दिदै उनले बेलामा सजग हुनु बुद्धिमानी हुने सुझाव दिए ।
कार्यक्रममा छाती रोग विशेषज्ञ डा. विदेश विष्टले दम रोग र अहिलेको उपचार विधि स्मार्ट थेरापीबारे प्रकाश पारे । दम रोगअन्तर्गत छाताभित्र सीओपीडी, क्रनिक ब्रोन्काइटिस, आजमा (मौसमी खोकी), टिबी र निमोनिया (संक्रामक रोग) आदि पर्छन् । यसको उपचारमा आएको नया विधिहरूबारे जानकारी दिए ।
कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कंडेलले ज्येष्ठ नागरिकमा अल्जाइमर्स रोग देखिने गरेको बताए । उमेर जति ढल्किदैं जान्छ यो रोग लाग्ने सम्भावनासमेत बढ्दै जाने र संख्याको हिसाबले कूल जनसंख्याको ४ प्रतिशतमा मस्तिष्कसम्बन्धी बिर्सने समस्या देखापर्ने उनले बताए । ८५ वर्षभन्दा माथिका मानिसहरूमा भने करिब ४० देखि ५० प्रतिशत यो रोग हुने सम्भावना रहने भन्दै उनले जति उमेर ढल्दै जान्छ अल्जाइमर्सको सम्भावना पनि बढ्दै जाने बताए ।
यसैगरि टियुका ईन्टेसिप हेड डा सुभाष आचार्यले बुटवल र काठमाडौ क्षेत्रमा उपचारको क्रममा आउने समस्याहरू र समाधानबारे छलफलबाट धेरै फाईदा मिल्ने बताउदै यसलाई निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा सोसाईटीका अध्यक्ष डा विष्णु पौडेलले चिकित्सकहरू नै समाज गठन गरि चिकित्सा शिक्षा आदानप्रदानको महत्वपूर्ण कार्यमा लागेको बताउदै चिकित्सा पेशालाई ब्यवस्थित बनाउने गरि सरकारबाट स्पष्ट नीति नियम, भौतिक पूर्वाधार र उपकरण, कार्यक्रम र बजेट, जनशक्ति व्यवस्थापन, औषधि व्यवस्थापन, बिरामीमैत्री सेवा प्रवाह, स्वास्थ्य सूचना प्रणाली, पारिश्रमिक र सेवा सुविधाबारे जोड दिनुपर्ने बताए ।
कार्यक्रममा रूपन्देही जिल्लाका विभिन्न विशेषज्ञ ८० चिकित्सकहरू छलफल कार्यक्रममा सहभागी भएका सोसाईटीका वरिष्ठ उपाध्यक्ष डा. नन्दु पाठकले बताए ।