© २०२३
बुटवल, ९ बैशाख । घाँसको खेती ? यो त आफै उम्रिन्छ । यसको पनि खेती गर्नुप¥र्छ ? भन्ने जो कोहीको पनि प्रश्न यस्तै रहन्छ । तर गुल्मी जिल्लाको ईस्मा गाउँपालिका वडा नम्बर–३ दर्लामचौर गहतेका २५ वर्षीय गोकर्ण नेपालीले त्यहि घाँसको व्यवसायिक खेती गरिरहेका छन् । घाँस खेतीबाट उनले आम्दानी मात्रै गरेका छैनन्, नाम समेत कमाएका छन् ।
रोजगारीको लागि विदेशी भूमिमा पसिना बगाएका नेपालीले आफ्नै गाउँको खेर गएको भूमिलाई अहिले अमूल्य भूमिकोरूपमा परिणत गरेका छन् । उनको घाँस खेतीको लागि जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र स्थानीय पालिका लगायतले सहयोग समेत गर्दै आएका छन् ।
युवा उमेरका नेपाली अहिले २५ बर्षमा लागेका छन् । उनले ४ बर्ष देखि आफ्नै पाखो बारीमा ४ बर्षदेखि ‘ग्यालेक्सी कृषि फार्म’ संचालन गरेका छन् । गाउँका अर्गेला खेत र बारी गरेर १ सय २० रोपनीमा १ सय २० प्रकारको घाँसको खेती गरेका छन् । जसमा ८१ जातका घाँस उनले बिक्री प्रयोजनको लागि उत्पादन गर्दै आएका छन् भने कतिपय शो पीसको रूपमा समेत उत्पादन गर्दै आएका हुन ।
गोकर्णले गत बर्ष मात्रै ४० लाख बढिको घाँसका बिरुवा बिक्री गरेर बिक्री गरेका थिए । गोकर्ण नेपाली सानै उमेरदेखि कृषिकर्ममा विश्वास गर्थे । एसइईपछि ०७४ मा कृषि विज्ञान अध्ययनका लागि चितवन पुगे । केही महिना अध्ययन पनि गरे । तर, आर्थिक अभावले पूरै पढ्न नसकेको बताउँछन् ।
कृषि मा आईएस्सी एजी पुरा गरेका उनले आफुले पढेको कुरालाई व्यवहारमा लागू गर्नको लागि पनि प्रयास जारी राखेको बताउँदै आएका छन् । खासगरी विज्ञान विषय पढेकाहरूले कृषि क्षेत्रमा काम गरेको विरलै पाईन्छ । त्यो मध्येका उनी एक उदाहरणीय पात्र हुन ।
कार्तिक ०७५ मा युएईकोमा उनी रोजगारीको लागि गएका थिए । ३ महिना पछि उनले युएईमा त्यसको केही समयपछि उनले महिनाको ६० हजार कमाइ हुने गरी राम्रो जागिर पाएका थिए । तर, कोभिड सुरु भएपछि काम बन्द भयो । उनले झन्डै तीन लाखजति जोगाएका थिए । त्यही पैसा बोकेर नेपाल फर्किएका थिए । गोकर्ण परदेशबाट फर्किँदा घरमा बुबा क्यान्सरले थलिएका थिए । उनले परदेशमा कमाएको सबै धन उपचारमा सके पनि बुबालाई बचाउन सकेनन । आइसियूको पैसा तिर्न नसकेर अस्पतालले शव दिएन । आमाको गणेशमाला बेचेर शव घर ल्याएर अन्त्येष्टि गरे । घरमा शव ल्याउने एम्बुलेन्सलाई दिने पैसासमेत गोकर्णसँग थिएन । ऋण बोकेको काँध फेर्ने विकल्प थिएन परिवारमा । कोभिडले परदेश पस्ने अवस्था पनि थिएन । उनले गाउँमै उद्यमको बाटो खोजेको बताउँछन् ।
मोटरसाइकल बेचेर घाँसको बिरुवा ल्याए । गाउँमा पानी थिएन । टाढाबाट बोकेको पानीले बिरुवा हुर्काउनुपर्ने बाध्यताका बीच काम गर्न थाले । गोकर्णले आफ्नो ८० रोपनी र छिमेकीको एक सय २० रोपनी लिजमा लिएर घाँसका १ सय २० प्रकारका घाँस रोपेका छन् । त्यसमध्ये ११ प्रकारका घाँस जिल्लामा आफूले मात्रै व्यावसायिक खेती गरेको उनी बताउँछन् । बिउ, बेर्ना र घाँस उत्पादन गर्छन् । घाँसको प्रतिबिरुवा ५ देखि ५० रूपैयाँसम्म पर्छ । उनले गत वर्ष करिब ४० लाखको घाँसको बिउ तथा बिरुवा बिक्री गरे । विशेष गरेर राइखन्नु, निमारो, इन्दु, नेपियरका १३ प्रजाति, इपिलइपिल, मुलाटो, भटमासे, ग्वाटेमाला, किम्बु, कान्भाटुलगायतका उन्नत जातका घाँस उत्पादन गरेर बिक्री गर्दै आएका हुन ।
सरकारी निकायको सहयोगः
गाउँमा नमुना कृषिको काम गरेपछि उनलाई जिल्ला स्थिति सरकारी कार्यालयहरूले सहयोग गर्दै आएका छन् । जिल्लामा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, घरेलु कार्यालय लगायतले गोकर्णको फार्मलाई सहयोग गरेका छन् । कतिपय कार्यालयहरूले ग्रीन हाउस निर्माण, पोलिव्याग, घाँसको प्रदान लगायतका विभिन्न यन्त्र तथा उपकरणमा समेत सहयोग गरेका छन् । उनी भन्छन्–‘जिल्लामा नै होला, सरकारी कार्यालयहरूबाट बढि भन्दा बढि सहयोग ल्याएको, जसले मलाई हौसला थपेको छ । ’
अन्य स्थानमा सरकारी निकाय, कार्यालयबाट सहयोग नआएको, अनुदान नपाएको गुनासो आफूले सुन्ने गरेको भन्दै उनले तर आफूले भने काम गरेर देखाएको कारण विभिन्न निकायबाट राम्रो सहयोग प्राप्त भएको बताए । गोकर्णले घाँस खेतीको अलवा पशुपालन, पुष्प खेती समेत गर्दै आएका छन् । उनले आफ्नो फार्ममा उत्पादन भएको कृषि उपजको बजारीकरणको लागि आफै नै सवारी साधन चलाएर विभिन्न स्थानमा लैजाने गर्दछन् ।
५२ जिल्लामा घाँसका बिरुवा
गत वर्ष गुल्मीसहित ५२ जिल्लामा घाँसका बिरुवा निर्यात गरेको बताउँछन् । आमा र भाइले गोकर्णको काममा साथ दिएका छन् । उनले व्यवसायिक बाख्रापालन पनि गरेका छन् । फर्ममा आफूसहित, भाइ र तीनजना कामदार दैनिक काम गरिरहेका गर्दै आएका छन् । घाँसको बिउ रोप्ने र बिक्री गर्ने बेला झन्डै दुई दर्जनलाई जागिर पनि दिने गरेका छन् ।