© २०२३
बुटवल, २२ चैत ।
बुटवलको फोहोर तिनाउ नदी किनारमा अस्थायी रूपमा फाल्न थालेको करिब दुई दशक भयो । जनप्रतिनिधिविहीन भएका बेला कर्मचारीले फोहर व्यवस्थापन गर्न विभिन्न योजना अघि सारेका थिए ।
तर अहिलेसम्म पनि निकास निस्केको छैन । बुटवलमा अहिले दैनिक ७५ टन फोहोर उत्पादन हुँदै आएको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर पहिलो कार्यकाल पूरा भएर दोस्रो कार्यकाल पनि दुई वर्ष पुग्दै छ । नदी किनारमा फाल्ने फोहोरबाट महामारी फैलन सक्ने डर भए पनि उपमहानगरपालिकाले यसलाई गम्भीर लिन सकेको छैन ।
अहिले बुटवलको १ देखि ६ नंं. वडासम्म ‘वातावरण सुन्दर नेपाल’ संस्थाले फोहोर उठाउने गरेको छ । त्यस्तै ७ र ८ को फोहोर बुटवल सरसफाइ सहकारी, वडा नं. ९ सामुदायिक विकास तथा वातावरण समिति र वडा नं. १० पनि समिति बनाएर फोहोर उठाउने गरिएको छ ।
वडा नं. ११ मा भने टोल विकास संस्था, खानेपानी संस्थाहरूले फोहोर उठाएका छन् । वडा नं. १२ र १३ मा वातावरण सुन्दर नेपालले फोहोर उठाउने गरेको छ भने वडा नं. १४ देखि १९ सम्म उपमहानगरपालिकाकै कर्मचारीले फोहोर उठाउने गरेको छ ।
त्यस बाहेक ठेक्कामा दिएको बुटवल कृषि थोक बजार केन्द्रभित्रको फोहोर वातावरण सुन्दर नेपालले उठाउने गरेको र हाटबजारको फोहोर उपमहानगरपालिका आफैले उठाउने गरेको उपमहानगरपालिकाको सरसफाई तथा फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख ठगिश्वर पोखरेलले बताए । फोहोर संकलन गरेपछि मजुवा सिरान गाउँमै ल्याएर नदी किनारमा थुपार्दै आइएको छ ।
बुटवल उपमहानगरपालिकाले पहिलो पटक २०५२ सालदेखि संस्थागत रूपमा फोहोर व्यवस्थापन गर्न सुरू गरेको थियो । त्यो बेला उपमहानगरपालिकाले मैनाबगरमा फोहोर व्यवस्थापन गरेको थियो । तीन वर्षसम्म थुपारिएको फोहोरले पछि मैनाबगरको दक्षिण क्षेत्रमा जग्गा उकासियो । पछि ०५६ सालमा मैनाबगरमा अटो भिलेज बनाउने योजना ल्याएपछि उप महानगरपालिकाले खोलाको पूर्वतर्फ फोहोर थुपार्न थालेको थियो । अहिले दुई दशक भइसकेको छ । सुरुवाती समयमा उप महानगरपालिकाले खयरघारी, पवित्रनगर, सुन्दरनगरमा फोहोर थुपारेको थियो । पछि त्यहां सुकुम्बासी बस्ती बसेपछि हात्तीसुँढबाट उत्तरतर्फसम्म फोहोर थुपार्दै आइएको छ ।
बुटवल उपमहानगरपालिकाले सन् २०१० मा एडिवीसँग फोहोर प्रशोधन केन्द्रका २८ करोडको सम्झौता गरेको थियो । त्यसपछि फोहोर मैला प्रशोधन केन्द्रका लागि उप महानगरपालिकाले जेडआइइसी पप्पु जेभीसँग २५ करोड ६२ लाख ५३ हजार ५ सय ८४ रूपैयाँमा ठेक्का सम्झौता समेत गरेको थियो ।
साविक बुटवल १५ को जितेश्वरी सामुदायिक बनमा योजना निर्माण गर्ने भनिए पनि स्थानीयको अवरोधपछि देविनगर र देविनगरमा पनि विरोध भएपछि देवदह नगरपालिकाको सिमाना जोडिएको शिवनगर सामुदायिक वनमा योजना निर्माण गर्ने भनिएको थियो ।
शिवनगर सामुदायिक वन क्षेत्रमा ४ सय ८४ हेक्टर क्षेत्रफलमा फोहर प्रशोधन केन्द्र बनाउने गरी योजना तयार भए पनि दुईवटा नगरपालिकाबिच समन्वयको कमी र अस्तित्वको लडाइँका कारण सफल हुन सकेन । सम्झौता भएको आठ वर्षसम्म पनि जग्गा अभावमै उपमहानगरपालिका अलमल परेपछि उक्त परियोजनाबाट एडिवीले हात झिकेको थियो ।
त्यसयता फोहोरको दीगो व्यवस्थापनको लागि प्रयासहरु भएपनि ठोस निकास निस्कन सकेको छैन । बजारबाट संकलन गरिएको फोहोर बस्तीसँगै जोडिएको तिनाउ नदी किनारमै फ्याँकिन्छ ।
त्यहाँ फालिएको फोहोरको दुर्गन्धबाट स्थानीय बासिन्दा र विद्यालयका बालबालिका समेत पीडित छन् । फोहोरको दुर्गन्धले बस्नै नसक्ने अवस्था आएपछि बुटवल उपमहानगरपालिका–११ को सिरानगाउँ मजुवाका बासिन्दाले संघर्ष समिति गठन गरी केही दिन उपमहानगरपालिकाबाट फोहोर ल्याएका १० वटा ट्याक्टरलाई फोहोर फाल्न नदिई फिर्ता पठाइदिए ।
मानव वस्ती र विद्यालय नजिकै फोहोर ‘डम्पिङ’ गर्दा दुर्गन्ध र वातावरण प्रदुषित भएर स्थानीय बासिन्दा र विद्यालयका बालबालिकाको स्वास्थ्यमा गम्भीर प्रतिकूल असर परिरहेको स्थानीयको गुनासो छ ।
बुटवल उपमहानगरपालिका–११ का तीन वटा टोलका बासिन्दाले संघर्ष समिति गठन गरी फोहोरबाट प्रभावित सिरानगाउँ मजुवा, ध्रुवनगर र बुद्धनगरका बासिन्दाको माग पूरा गर्ने सुनिश्चित नगरेसम्म फोहोर फाल्न नदिने घोषणा गरेका थिए ।
उपमहानगरले स्थानीयसँग वस्तीमा पक्की सडक र नदी कटान रोक्न पर्खाल बनाउने, स्थानीयको स्वास्थ्य नियमित चेकजाँच गर्ने, रोजगारी दिने प्रतिबद्धता जनाएको तर पर्खाल लगाउने वाहेक अरु कुनै प्रतिवद्धता पूरा नगरेकाले वाध्य भएर फोहोर फाल्न नदिने निर्णय गरी टेक्टर रोकेको संघर्ष समितिका संयोजक रिसव पोखरेलले बताए ।
‘उपमहानगरपालिकाले बस्तीका लागि वर्षमा ५ लाख वजेट र पर्खाल लगाउने बाहेक अरु कुनै पनि प्रतिबद्धता पूरा गरेन, फोहोरले वस्ती दुर्गन्धित भएर बस्नै नसक्ने अवस्था भयो’–पोखरेलले भने–‘फोहोरको दुर्गन्धले घरमा बस्न नसक्ने अवस्था छ, मान्छेहरु विरामी भएका भयै छन् यो सबको कारण यही फोहोर हो ,अब कति समय फाल्ने हो, समय अवधि तोकिनुपर्छ र दिर्घकालीन निकास निकाल्नुपर्छ, अन्यथा यहाँ फोहोर फाल्न दिँदैनौं ।’ फोहोरले वस्ती नजिकै रहेको सुर्योदय आधारभुत विद्यालयका विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर परेको विद्यालयकी प्राचार्य शोभा ज्ञवालीले गुनासो गरिन् ।
‘गर्मी सिजन शुरु भयो, वस्ती र विद्यालय नजिकै नदी किनारमा थुपारिने फोहोरबाट महामारी फैलन सक्ने डर छ’–ज्ञवालीले भनिन्–‘तर उपमहानगरपालिकाले यसलाई संवेदनशीलरुपमा लिएको देखिएन ।’
उपमहानगरपालिकाको सरसफाई तथा फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख ठगिश्वर पोखरेलले स्थानीयसंग छलफल गरेर समस्या समाधान गरिएको बताए । उनले फोहोरको दीगो व्यवस्थापनलाई प्राथमिकतामा राखेर उपमहानगरपालिकाले विभिन्न विकल्पमा प्रयास गरिरहेको बताए ।
‘डेढ दशक अघिदेखि नै फोहोरको दीगो व्यवस्थापनका लागि प्रयास भएका छन्, शुरुमा जितेश्वरी सामुदायिक बनमा योजना निर्माण गर्न खोजेपनि स्थानीयको अवरोधपछि देविनगरमा र देविनगरमा पनि विरोध भएपछि शिवनगर सामुदायिक वनमा फोहोर प्रशोधन केन्द्र निर्माण गर्न खोजेका थियौं, तर सबै ठाउंमा स्थानीयले कुरा नबुझ्दा ठाउँमा विवाद उत्पन्न गरेर एडिबीले उक्त परियोजना फिर्ता गरेको थियो’–पोखरेलले विगत सम्झिंदै भने–‘त्यसयता पनि बुटवलमा फोहोर व्यवस्थापनको दीर्घकालीन योजना बनाउन लागिपरेका छौं ।’
बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाको संयुक्त लगानीमा फोहोर प्रशोधन केन्द्र बनाउने अवधारणा पनि पनि अघि बढेको थियो । पछिल्लो समय बुटवलले वडा नं. १२ र १३ को सिमाना उत्तरतर्फ फोहोर व्यवस्थापनका आधुनिक फोहोर प्रशोधन केन्द्र बनाउने तयारी गरेको पोखरेलले बताए । यही योजनालाई बुटवल उपमहानगरले दीर्घकालीन फोहोर व्यवस्थापनको योजनाका रूपमा लिएको छ । फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने योजना भए पनि विगतका उदाहरणहरु हेर्दा यो योजना पूरा हुन पनि वर्षौैं लाग्ने देखिएको छ ।
फोहोर संकलनमा मात्रै केन्द्रित हुँदा ठूला सहरमा फोहोरको विर्सजन चुनौतीपूर्ण बनेको वातावरण बचाउ आन्दोलनका संस्थापक अध्यक्ष अग्रज पत्रकार नारायणप्रसाद सापकोटा बताउँछन् । उनका अनुसार फोहोर संकलनमा बढी केन्द्रित हुने तर त्यसलाई राम्रोसँग तह लगाउनेबारे अध्ययन र नीतिगत निर्णय नहुँदा बुटवल, भैरहवा जस्ता सहरमा समस्या देखिएको हो । सहरको फोहोर नदी र जंगलमा फाल्दा त्यसले पर्यावरणमा समेत असर पारेको सापकोटाले बताए । उनका अनुसार स्थानीय सरकारले कुहिने र नकुहिने गरी फोहोर छुट्याउने बानी उपभोक्तामा बसाल्न सके मात्रै पनि आधाभन्दा बढी फोहोर घरमै तह लाग्छ ।
‘नदी र जंगलको बिचमा फोहोर फालेर यो समस्याको दीगो समाधान हुँदैन’–उनले भने, ‘जबसम्म नागरिकलाई वातावरणीय सचेतना संगै फोहोर प्रशोधन आधुनिक प्रविधि हो, यसले दुर्गन्ध हुदैन, वातावरणलाई असर गर्दैन बरु फोहोरलाई प्रशोधन गरेर आम्दानी लिन सकिन्छ भन्ने बुझाउन सकिँदैन, तबसम्म यो समस्या चुनौतीपूर्ण भइरहन्छ ।’ कुहिने फोहोरबाट प्रांगारिक मल बनाएर आम्दानी लिन सकिने सापकोटाले सुझाए ।
फोहोर प्रशोधनबाट हुने आम्दानीलाई सञ्चालन खर्च कटाएर बच्ने नाफा फोहोर दिने घनधनीलाई नै वितरण गरिदिने वा वातावरण संरक्षणमा पारदर्शी ढंगले खर्च गर्ने परिपाटी बसाल्ने हो भने फोहोर व्यवस्थापनमा स्थानीयले अपनत्व लिने र दीगो समाधान हुने सापकोटाको सुझाव छ ।
फोहोर प्रशोधन केन्द्रका लागि जग्गा छनोट र प्रभावितलाई राम्रोसंग कुरा बुझाउन स्थानीय सरकारका नेतृत्व र कर्मचारी प्रशासनले सक्नु महत्वपूर्ण हुने सापकोटाको सुझाव छ ।