© २०२३
गुल्मी, १७ माघ । गुल्मीमा यतिबेला बाख्रापालन व्यवसाय गर्ने किसानहरू धेरै छन् । बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्न थालेपछि किसानहरू आजभोलि बाख्रा पालन व्यवसायलाई आफ्नो दैनिकीसँग जोड्दै जान थालेका छन् । अन्य व्यवसायको तुलनामा बाख्राबाट छोटो समयमै प्रशस्त आम्दानी लिन पाईने र भनेको बेलामा सजिलैसँग बिक्री गर्न सकिने भएका कारण किसानहरूको रुची बाख्रा पालनमा बढेको हो ।
जिल्लाका किसानहरू खसी, बोका बिक्रीबाट वार्षिक एक अर्ब बराबर आम्दानी गर्दै आएका छन । यहाँको खसी, बोका बाहिरी जिल्लामा समेत निर्यात हुँदै आएको छ । जिल्लाका प्रत्यक पालिकाहरूबाट वार्षिक रूपमा ४६ हजार खसी, बोका जिल्ला बाहिर निर्यात हुँदै आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका पशु विकास अधिकृत हुमाकान्त पाण्डेयले जानकारी दिएका छन । उनका अनुसार जिल्ला बाहिर निर्यात भएका खसी, बोकाबाट वार्षिक ९८ करोडको रूपैंया जिल्ला भित्रने गरेको बताइएको छ ।
जिल्लाको रुरुक्षेत्र, सत्यवती, मदाने र धुर्कोट गाउँपालिकामा सबै भन्दा बढी बाख्रापालन गरिँदै आएको छ । यस क्षेत्रमा उत्पादन भएका पाँच हजार जति बोकाहरू विउका लागि बाहिर निर्यात हुँदै आएको छ । जिल्लामा वार्षिक रूपमा एक लाख २० हजार खसी, बोकाहरू बिक्रि हुँदै आएको कार्यालयले जनाएको छ । उक्त खसी, बोकावाट जिल्लामा वार्षिक एघार सय ६३ मेट्रिक टन मासु उत्पादन हुने गर्दछ ।
गुल्मीमा जमुनापारी क्रस र बोयर क्रस जातका बाख्राहरू उत्पादन गरिदै आएको छ । गत आर्थिक वर्षमा कार्यालयमा दर्ता भएका चार सय १६ बाख्रा फर्महरूबाट दुइ लाख पाँच हजार सात सय ७७ बाख्रा उत्पादन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले बाख्रा पालनका लागि किसान र तिनका समूहहरूलाई खोर निर्माण, विउ, औषधि उपचार, खोप, मेशनरी सामग्रि खरिद लगायतका क्षेत्रमा अनुदान उपलब्ध गराउँदै आएकोे पशु सेवा विज्ञ केन्द्र प्रमुख पाण्डेयले बताए ।
जिल्लामा किसानहरूले बाख्रा पालनवाट राम्रो आम्दानी गर्दै आएपनि पछिल्लो समयमा भने व्यवसायीक किसानहरूको संख्या भने घट्दै जान थालेको छ । युवा जनशक्ति बाहिर पलायन हुँदै जाने, अनुदान पाउने आशमा मात्र व्यवसाय सञ्चालन गर्ने, घाँसको अभाव हुने र काम गर्ने जनशक्ति प्रयाप्त नभेटिने समस्याका कारण किसानहरूले सोंचे जस्तो प्रतिफल पाउन नसकेको बताईएको छ ।