© २०२३
अर्घाखाँची, ११ माघ । देशबाहिर रोजगारमा रहेका शितगंगा १३ सिमलपानीका विष्णुप्रसाद न्यौपाने भारतबाट फर्केर गाउँमा नमुना कृषि तथा पशुपंक्षीपालन फर्म सञ्चालन गरेका छन् । उनको फर्ममा करिब १५० बाख्रा छन् । वार्षिक १०/१२ लाख रूपैँयाँ आम्दानी गर्ने गरेको छु, ४ जनालाई रोजगार पनि दिएको छु, उत्पादन राम्रो छ, नगरपालिकाले पनि साथ दिएको छ, न्यौपानेले भने ।
शितगंगा नगरपालिका वडा नं. ६ जुकेनाका लक्ष्मण ओली पेशाले शिक्षकभएपनि अध्यापनसँगै व्यवसायिक कृषक बनेका छन् । बजारमा सहजै मासुको खपत हुन थालेपछि कृषकहरू उत्साहित छन् । शिक्षाशास्त्र संकायबाट स्नाकोत्तर उत्तिर्ण ओली भन्छन् ‘१२४ बाख्रापालन गरेको छु, १ वर्षमा २१ लाखको बोका, पाठी विक्री गछौँ, सम्पुर्ण खर्च कटाएर ७ लाख आम्दानी हुन्छ ।’ उनको फर्ममा ४ जना कर्मचारी पनि छन् ।
नगरपालिकाले किसानलाई उत्पादनका आधारमा यस वर्ष पनि करिब एक करोड रूपैयाँ अनुदान वितरण गर्ने भएको छ । किसानले उत्पादन आधारमा अनुदान रकम पाउन सकून् र कागजकै भरमा अनुदान लिने परिपाटी बन्द होस् भनेर अनुदान वितरण गर्न लागेको नगरपालिकाका प्रमुख छविलाल पौडेलले बताउँछन् । आफूले उत्पादन गरेको दूध, मासु, तरकारी तथा फलफूलमा अनुदान पाउने भएपछि किसान खुशी भएका छन् ।
किसानले उत्पादन गरेको दूधमा प्रतिलिटर दुई रूपैयाँ, मासुमा प्रतिकिलो ५० रूपैयाँ अनुदान दिने नगरपालिकाका मेयर पौडेलले बताए । यस्तै तरकारी, केरा, बेसारमा प्रतिरोपनी पाँच हजार तथा कागती, एभोकाडो, कफी, किबी लगायतका बिरुवामा प्रतिबिरुवा एक सय रूपैयाँ अनुदान दिने गरको छ ।
उत्पादनमा आधारित अनुदानका लागि एक करोड ३० लाख रूपैयाँ बराबरको सिफारिस नगरपालिकामा आएको छ। नगरपालिकाले कृषि सहकारीको र वडाको सिफारिसमा उत्पादनमा आधारित अनुदान रकम वितरण गर्ने गर्दछ । अघिल्ला वर्षहरूमा सहकारीमार्फत रकम दिने गरिएकोमा सहकारीले फर्जी सिफारिस गरेको भन्दै विरोध भएपछि अहिले नगरपालिकाले किसानको खातामा रकम जम्मा गरिदिने भएको छ ।
अनुदानका लागि नगरपालिकाले अहिले वडा र सहकारीको सिफारिसका आधारमा अनुगमन पनि सुरु गरेको छ । अनुगमनका क्रममा सहकारीले सिफारिस गरेका किसानको उत्पादन विवरणअनुसार नभएको पाइएको अनुगमनमा सहभागी नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालले बताए ।
जताजतै जंगलको क्षेत्रफल भएका कारण पनि शितगंगा बाख्रापालनका उपयुक्त छ । शितगंगा पशुपालनसँगै कुखुरापालन र तरकारी खेतीका लागी पनि उपयुक्त छ । भुगोलका आधारमा सबैभन्दा क्षेत्रफल रहेको शितगंगा तराईका जिल्लासँग सिमाना जोडिएका कारण पनि उत्पादन भएको सामग्री विक्री वितरण गर्नमा सहजता छ । उपयुक्त चरन क्षेत्र, बाख्रापालनका लागी उपयुक्त वातावरण र विक्रीका लागि बजारको सहजताका कारण पनि कृषकहरू बाख्रापालनमा आकर्षित छन् ।