© २०२३
बुटवल, १० माघ । रूपन्देही जिल्लाको शान्ति समितिमा १२ बर्ष भन्दा बढि जिल्ला सचिवको रूपमा काम गरे । त्यो संगै उनले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कपिलवस्तु जिल्लाको महराजगञ्ज गाउँपालिकामा ढाई बर्ष सरकारी जागिरेका रूपमा काम गरे । यसरी सरकारी जागिरेको रूपमा करारमा काम गरेका उनले ती सबै काम चटक्कै छाडेर अहिले कृषि फार्ममा लागेका छन् ।
सैनामैना नगरपालिका वडा नम्बर ११ तालि (सालझण्डी) मा प्रेम ज्ञवाली ‘कृतिका कृषि केन्द्र’ नामको फार्म चलाइरहेका छन् । फार्ममा उनले माछा पोखरी, फलफूल खेती गरेका छन् । २०७६ सालबाट उनले २१ कठ्ठा आफ्नै जग्गामा माछा पोखरी निर्माण गरेका हुन् । कुल क्षेत्रफल ३० कठ्ठा रहेको छ । अन्यमा उनले फलफूल खेती गरेका छन् । अम्बा, कागती, केरा, कुरिलो, लगायत केही नमुनाको रूपमा उनले स्याउका विरुवा समेत रोपेका छन् ।
उनी व्यवसायीमा अहिले पूर्णकालिन कृषकको रूपमा रहेका छन् । कृषि फार्म चलाईरहँदा उनले जिउदो माछा लाई विचौलीया व्यापारी मार्फत बिक्री गर्दा किलोमा नै १२० रूपैयाँ देखि २ सय ४० रूपैयाँ सम्ममा बजार मूल्य भन्दा कममा माछा बिक्री गर्न बाध्य थिए । यसरी केरा खेती गरेका उनलाई विचौलीया व्यवसायीले पनि यसरी नै डुबाए । उनी स्मरण गर्छन–‘दशैको बेला पहिला सम्झौता गरेको भन्दा ५० रूपैयाँ कममा केरा मागे, पछि अब हुँदैन, आफै बजारीकरण गर्न पर्छ भनेर लागेको छु । ’
यसरी बिचौलीयाबाट बिच्कीएका किसान ज्ञवालीले अहिले फार्मलाई नै जिउँदो माछा बिक्री स्थलको रूपमा विकास गरेका छन् । सोही स्थानमा उनले एग्रो रेष्टुरेन्ट समेत स्थापना गरेका हुन । अहिले माछा फार्मममा आउने जो कोही ग्राहकले जिउदो माछा आँखै अगाडि जाल हानेर निकालेर जोखेर लैजान पाउछन् । ताजा माछा उनले बिक्री गर्दै आएका हुन । माछाका परिकारमा माछाको मःम, सेकुवा, सुकुटी लगायतका माछाका अन्य परिकारहरू पाइन्छ । खासगरी माछाका पारिखीहरूको साथै फार्ममा नै उत्पादन भएको केराको परिकारलाई समेत उनले निर्माण गरेर बिक्री गर्ने योजना समेत बनाएका छन् । केराको मःम, केराको पकैडा, चिप्स लगायतका परिकार बनाउनको लागि २ जनालाई रोजगारी समेत दिएको उनको भनाइ रहेको छ ।
हालसम्म कुल ८७ लाख भन्दा बढि लगानी गरिएको बताउने ज्ञवालीले गत बर्ष माछा मात्रै करिव ढाई लाखको विक्रि गरेका थिए । व्यवसायी मार्फत विक्री गर्न भन्दा आफै विक्रि गर्दा राम्रो मुल्य पाएको अनुभव समेत उनको रहेको छ । बाहिर पनि विक्री गर्ने आफै पनि विक्री गर्ने गरी प्रारम्भीक चरणमा उनले फार्मको योजना बनाएका छन् ।
माछा फार्मसंगै उनले निर्माण गरेको जिउँदो माछा बिक्री स्टलको लागि जिल्लाको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुदान समेत दिएको छ । जिउँदो माछा बिक्री स्टल निर्माण शिर्षकमा उनलाई ४ लाख कार्यक्रममा २ लाख बजेट अनुदानको रूपमा भेटेरिनरी अस्पतालले प्रदान गरेको हो । जसमा उनले माछाकै आकृतिको जिउँदो माछा बिक्री गर्ने स्टल निर्माण गरेका छन् ।
भेटेरिनगरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रूपन्देहीका प्रमुख दिपक भुषालले किसानले गर्दै आएको मेहिनेत जिउँदो माछाको विक्र सहजताको लागि आफूहरूले अनुदान सहयोग गरिएको जानकारी दिए । जसबाट किसानले सिधै व्यवसायीलाई बिक्री गर्नु भन्दा फार्मबाट प्रत्यक्ष उपभोक्तालाई बिक्री गर्दा किसानलाई बढि नाफा हुने अपेक्षा समेत गरिएको प्रमुख भुषालको भनाई छ ।