© २०२३
पाल्पा, १७ पुस । माथागढी गाउँपालिकाको रुप्सेका जनक रिजालले स्थानीय उत्पादन हरियो मलका रूपमा प्रयोग हुने ढैचाको बिउ बिक्री गर्ने व्यवसायी हुन । विगत केही वर्ष यता स्थानीय उत्पादन हुन छाडेपछि उनी आफूले पनि बिक्री गर्न छाडेको बताउँछन । सयौं हेक्टर क्षेत्रफलमा फैलीएको माडी फाँटको माथिल्लो क्षेत्रमा यसको खेती संगै प्रयोगका कारण राम्रो उत्पादन भएकाले उनी स्थानीय कृषक बाट खरिद गर्दथे । रासायानिक तथा अन्य मलको बिकल्पमा हरियो मलका रूपमा यसको प्रयोग बढदो अवस्थामा थियो तर पछिल्लो समयमा रासायनिक मलको प्रयोग बढ्न लागेपछि ढैचा खेती गर्न कम हँुदै गएको पुराना कृषक मनबिर गाहा बताउँछन ।
यसको खेती गर्दा खेतको आली आलीमा लगाउने हो । यसलाई पानी धेरै चाहिँदैन त्यसैले गर्दा यसको खेती आली आलीमा हुन्थ्यो । पछिल्लो समयमा यसको खेतीयोग्य जमिनहरू आवासमा परिणत हुँदै जाँदा खेती पनि कम हुँदै गएको गाहाको बुझाई रहेको छ । खेतमा त चैत बैशाख छर्ने अनि रोपाइँ गर्ने बेलामा यसैमाथि खन जोत गरी धान रोप्ने हो । कृषकहरूले आफूले प्रयोग गरेर बाँकी रहेको बिउ बिक्री गर्ने गर्दथे तर आजभोलि यसको उत्पादन अत्यन्तै कम मात्रामा भएको स्थानीय कृषकहरू बताउँछन ।
एक दशक अगाडिसम्म धान खेतिका लागि कृषि प्राविधिकहरूले रासायनिक मलको विकल्पमा हरियो मलका रूपमा ढैचा खेती गर्न कृषकलाई प्रेरित गर्ने चलन थियो । गोवर मल र ढैचाको प्रयोग कम गरी यूरीया मलको प्रयोग गर्दा खेतवारीको उर्वराशक्ति कम हुँदै गएको कृषि विज्ञहरू बताउँछन् । कृषि प्राविधिकहरूले हरियो मलको बिकल्पमा युरीया, डि.ए .पी जस्ता रासायनिक मलको प्रयोगका लागि सिफारिस गर्ने चलन छ ।
जसले गर्दा पनि यसको खेती हराउँदै गएको रुप्सेका पुराना कृषक सिताराम रेग्मी बताउँछन । रासायनिक मलको रूपमा नाइट्रजोन, २५ के.जी प्रती हेक्टर मात्र रहेको अनुभव छ र बिरुवाको लागि आवश्यक हुने मात्रा अत्यन्तै न्यून छ । माटो तथा मल परिक्षण प्रयोगशालाले गरेको माटो परिक्षण गर्दा पाल्पा र रूपन्देहीको माटोमा पोष्टक तत्व कमी भएको पाइएको छ । रसायनीक मलको प्रयोग गर्दै गर्दा प्रंगारिक तत्वको कमी भएको पाइएको हो ।
यसमा पनि रासायानिक मलका लागि आजसम्म भारत संग भर पर्नु परेको छ । यो पनि समयमा पाउन कठिन छ । त्यसले गर्दा बोट बिरुवाका लागि आवश्यक पर्ने तत्व सन्तुलन मात्रामा प्रयोग हुन सकेको छैन । जसले गर्दा उत्पादन राम्रो हुन नसकेको पुराना कृषि विशेषज्ञ महेन्द्र कौडाल बताउँछन ।
माटोमा ढैचालाई हरियो मलको रूपमा प्रयोग गर्दा नाइट्रोजन ५० देखि ८० प्रतिशत हुन्छ । पहिले वालीलाई उपलब्ध हुन्छ । बाँकी दोस्रो वालीले पाउँछ । ढैचाको प्रयोग गर्दा धान वाली २१ देखि २५ प्रतिशत बढने कौडाल बताउँछन । माटोमा उर्वराशक्ती बढाउनका लागि कृषि प्राविधिकहरूले कृषकहरूलाई नै हरियो गोठे मलको प्रयोगलाई प्रोत्साहन गर्नु पर्दछ । पछिल्लो समयमा रासायनिक मलको प्रयोगका कारण माटोमा उर्वरा तत्वमा ह्रास आउने क्रम बढेको छ। प्रत्यक वर्ष रासायनीक मलको प्रयोग बढनु भनेको हरियो मलको प्रयोग घटनु हो उनले भने ।
एक दशक अगाडि सम्म माडी फाट, अर्गली, कचल, पुर्वखोला जस्ता फाटहरूमा ढैचाको राम्रो खेति हुन्थ्यो । पुर्वखोलाका पुराना कृषक इश्वरी खनाल भन्दछन । आफनो हात पाखुरामा बल हुदा सम्म बोरामा आउने रासायानिक मलको प्रयोग नगरेको हरियो मलको भरमा धान खेति गर्दा पनि राम्रो उत्पादन हुन्थ्यो । तर आफुले खे ितगर्न छाडे पछि हरियो मलको प्रयोग पनि हराएको र त्यस संग संगै उत्पादन पनि घटदै गएको छ । पुर्वखोलाको फाटमा हरियो मलका लागि ढैचा हुन्थ्यो तर आज भोलि सजिलोको लागि युरीया मल प्रयोग हुन्छ उनी बताउँछन ।